पोखरा, प्रजातान्त्रिक विचार समाज कास्कीले शनिबार विद्यार्थीहरूका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ। साहित्यकार तथा जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा “वर्तमान सन्दर्भमा बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद” शीर्षकमा यो प्रतियोगिता गरिएको हो।
प्रतियोगितामा कास्कीका कक्षा ११ र १२ बाट २६ जना तथा विभिन्न विश्वविद्यालयका २१ जना गरी जम्मा ४७ जना विद्यार्थीको सहभागिता थियो।
कक्षा ११ र १२ तर्फ जस्मिन रानाभाटले प्रथम, अदिति पराजुलीले द्वितीय, गीता किसानले तृतीय र स्मृति लम्सालले सान्त्वना स्थान प्राप्त गरे।
त्यसैगरी, विश्वविद्यालयतर्फ सुस्मिता चौधरीले प्रथम, स्वस्तिका क्षेत्रीले द्वितीय, वृन्दा सुवेदीले तृतीय र विप्लवी न्यौपानेले सान्त्वना पुरस्कार हात पारे। प्रतियोगितामा प्रथम हुनेले सात हजार, द्वितीयले पाँच हजार, तृतीयले तीन हजार र सान्त्वना पुरस्कार प्राप्त गर्नेले पन्ध्र सय रुपैयाँ पाए।
प्रतियोगितामा बोल्ने क्रममा विद्यार्थी वक्ताहरूले बीपी कोइरालाले परिकल्पना गरेको प्रजातन्त्र, राष्ट्रियता र समाजवाद अहिलेका नेताहरूले पालना गरेमा देशमा सुशासन र समृद्धि आउने बताए। उनीहरूले बीपीको देश सुहाउँदो शासन व्यवस्था, भ्रष्टाचारमुक्त प्रणाली, समतामूलक समाजको निर्माण र उत्पादन तथा वितरणमा समान सहभागिताको अवधारणा वर्तमान सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको विचार व्यक्त गरे। सहमति, मेलमिलाप र सहकार्यको अभावले धेरै समस्या आएको कुरामा पनि उनीहरूले जोड दिए।
कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व तथा विश्लेषक विश्व सिग्देलले आलोचनात्मक सोच र निरपेक्ष भएर बुझ्ने सामर्थ्यले नै असल व्यक्ति बन्न सकिने बताए।
जनप्रिय क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, प्रा.डा. कुसुमाकर न्यौपाने, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल, विचार समाजका पूर्व अध्यक्ष धर्म अधिकारी, प्रा. पदमशरण रेग्मी, पूर्व केन्द्रीय सदस्य हेरम्ब प्रसाद कोइराला, सूर्यभक्त सिग्देल लगायतले प्रजातान्त्रिक विचार नै विश्वको सर्वोत्तम दर्शन भएकोमा जोड दिए।
उनीहरूले विद्यार्थी तथा युवा वर्गमा राष्ट्र र समाजप्रति सकारात्मक भावना जगाउन यस्ता कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्दै निरन्तरताको कामनाका साथ आयोजकलाई धन्यवाद दिए।
प्रतियोगितामा प्रा.डा. जगन्नाथ रेग्मी, उपप्राध्यापक वेदहरि तिमिल्सिना, उपप्राध्यापक बिन्दु पौड्याल र उपप्राध्यापक कृष्णप्रसाद त्रिपाठीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको सहजीकरण कार्यसमितिका सचिव डा. विष्णुप्रसाद शर्माले गरेका थिए भने उपाध्यक्ष नारायणसिंह गुरुङले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रमको अध्यक्षता प्रजातान्त्रिक बिचार समाज कास्कीका अध्यक्ष शिसुकला पराजुलीले गरेकी थिइन्।