पोखरा, नेपाली काँग्रेसका नेता एबम नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसको महाधिबेशन २०८३ मङ्सिर अगाडी नै हुनुपर्नेमा जोड दिंदै पार्टीको सभापति जोसुकै बने पनि प्रतिष्पर्धीको सहयोग लिएर काम गर्नुपर्ने कुरामा जोड दिएका छन। शनिबार पोखरामा नेपाली काँग्रेस गण्डकी प्रदेशले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै नेता सिटौलाले आसन्न महाधिबेशनबाट आफ्नै साथीभाई सभापति बन्ने र सभापति बन्नेले प्रतिष्पर्धीलाई पार्टी संगठनको काममा संगसंगै लिएर हिंड्न सक्नुपर्नेमा जोड दिए।
नेता सिटौलाले आसन्न महाधिबेशनमा को को सभापतिको उमेदवार बन्लान वा कसकसको बिचमा प्रतिष्पर्धा होला भन्ने बिषयमा भने केहि बताएनन। उनले घुमाउरो पारामा आँफुपनि सभापति पदमा उमेदवार बन्न सक्ने संकेत गरे। यसै सन्दर्भमा उनले भने, “पार्टीको महाधिबेशन २०८३ मङ्सिर अगाडी नै हुन्छ, महाधिबेशनबाट जो सुकै सभापति बनेपनि अन्य प्रतिष्पर्धीलाई पनि संगै लिएर हिंड्न सक्नुपर्छ, म सभापति बने पनि मेरो प्रतिष्पर्धीलाई पार्टी संगठनको काममा सगै लिएर हिंड्छु।”
उनले पार्टीको अनुशासन समितिले पछिल्लो पटक पार्टीका केहि नेता र कार्यकर्ताहरुलाई कारबाही गरेको बिषयमा पनि स्पष्ट रुपमा समर्थन वा बिरोधको अभिव्यक्ति दिएनन। यस अगाडी तत्कालिन सभापति शुशील कोइरालाको पालामा पनि केहि नेताहरुमाथि गरिएको कारबाहीको बिषयलाई ब्यबहारिक ढंगबाट नै निकास दिईएको उनले स्मरण गरे। उनले यति मात्र भने, “पार्टीमा अनुशासन कायम गर्नुपर्छ तर यसपटक गरिएको कारबाहीको विषयलाई भने ब्यबहारिक ढंगले सोचेर उपयुक्त निर्णय गर्नुपर्छ।”
पार्टीका पुर्ब पदाधिकारीहरु संगठित बन्न लागेको चर्चा चलेको सम्बन्धमा पनि उनले सन्क्षिप्त प्रतिक्रिया दिए। “हामी पुर्ब पदाधिकारीहरुको अरु खासै काम छैन, तसर्थ पार्टीको केन्द्रीय समितिको बैठक नहुने समयमा हामि बसेर छलफल गर्छौं, पार्टीलाई कसरी एकताबद्द र संगठित बनाउन सकिन्छ भन्ने बारेमा विचार विमर्श गर्छौं तसर्थ हामि बस्यौं भनेर अरुले चिन्ता नगर्दा नै हुन्छ।”
अन्तरक्रियाको क्रममा बोल्ने नेता र कार्यकर्ताहरुले काँग्रेसका कार्यकर्ताहरुको मनोबल कमजोर भएको र पार्टीभित्र अनुशासन र अराजकता बढेको साथै पार्टी कमजोर बन्दै गएको जस्ता अभिव्यक्ति दिएकोमा नेता सिटौलाले भने कांग्रेसका नेता कार्यकर्ताहरुले मनोबल कमजोर बनाउनुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे।
उनले कांग्रेसले नै नेपालको समग्र बिकासमा रचनात्मक योगदान दिएको बताउंदै शिक्षा, स्वास्थ्य, टेलिफोन, बिजुली लगायत सडक यातायात र पुर्वाधारको बिकासमा महत्वपुर्ण योगदान कांग्रेसले नै गरेको उल्लेख गरे। “कांग्रेसले भनेको काम पुरा गर्छ तर आफुले नगरेको कामलाई कांग्रेसले गरेको भनेर भ्रम पनि छर्दैन । चाहे कांग्रेसको सरकार वा प्रधानमन्त्री होस वा नहोस, जे जस्तो अबस्थामा पनि कांग्रेसले गर्न सक्ने काम अरु पार्टीले गर्न सक्दैनन।”
राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलका नेता समेत रहेका सिटौलाले कांग्रेससंग मात्र देश बनाउने भिजन, आँट र क्षमता रहेको भन्दै संघियता र लोकतन्त्र सहितका मूल मान्यतालाई यथाबत राखेर निर्बाचन प्रणाली र संसदलाई मितव्ययी बनाउने सहित अन्य विभिन्न बिषयमा संबिधान संसोधन हुन सक्ने स्पष्ट पारे। तसर्थ नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले मनोबल उच्च बनाउंदै जनताको माझमा जानुपर्ने कुरामा उनले जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम संघिय सांसद रामहरी खतिवडाले पार्टीका नेताहरुलाई खुइल्याएर पार्टी संगठन बलियो हुन नसक्ने भन्दै एकले अर्कोलाई खुईल्याउने र एकले अर्कोलाई स्विकार गर्न नसक्ने प्रवृतिले नै पार्टी कमजोर बन्दै गएको बताए।
उनले पार्टीमा दुई किसिमका कार्यकर्ताहरु परिश्रम गर्नेहरु र नेताहरुको परिक्रमा गर्नेहरु देखिएको भन्दै केन्द्रीय सदस्य खतिवडाले संबिधानमा देखिएका कमजोरीहरुलाई ब्यबस्थित गर्न र कांग्रेसले स्थापित गरेको लोकतान्त्रिक एबम संसदीय पद्दतिलाई बलियो बनाउनु अहिलेको आबश्यकता रहेकोमा जोड दिए ।
अर्का केन्द्रीय सदस्य गुरुप्रसाद बरालले पार्टीको तल्लो तहका कार्यकर्ताहरुमा आशा र बिश्वास जगाउन सक्नुपर्नेमा जोड दिंदै भावनामा बग्ने व्यक्ति भन्दा ब्यबहारिक रुपमा निर्णय गर्न सक्ने व्यक्तिलाई नेतृत्वमा लैजानुपर्ने आबश्यकतामा जोड दिए । उनले संबिधानमा देखिएका केहि कमि कमजोरीलाई संशोधन गर्नुपर्नेमा जोड दिंदै पार्टीको तल्लो तह देखि माथिल्लो तहका नेता कार्यकर्ताहरुलाई आवेश र उत्तेजना छोडेर जिम्मेवार बन्न आग्रह गरे ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु गोबिन्द भट्टराई, पुष्पराज पराजुली र शारदा पौडेलले आसन्न निर्बाचनमा नेपाली काँग्रेसको पक्षमा मत संख्या बढाउनुपर्नेमा जोड दिंदै नेपाली काँग्रेसको नीतिकै कारण मुलुकको बिकासले गति लिएको कारण कांग्रेस कार्यकर्ताहरुले मनोबल कमजोर बनाउनुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे।
नेपाली काँग्रेसका नेता देबराज चालिसेले चुनाबमा भोट दिने कुरामा मात्र अनुशासनको कारबाही गरिने तर चुनाबमा उमेदवार बनाउने बेला पैसा लिएर, नाता हेरेर, निष्ठावान कार्यकर्ताहरुलाई रुवाएर उमेद्वारको टुंगो लगाउनेलाई कारबाही किन नगर्ने ? भनि प्रश्न गरे।
नेपाली काँग्रेस बाग्लुंगका सभापति एबम प्रदेश सांसद जीत शेरचनले पार्टीभित्र प्रतिष्पर्धा सहितको बृहत एकता आबश्यक रहेको भन्दै आर्थिक समृद्धिको पक्षमा पार्टीले सरकारलाई समेत खबरदारी गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले पार्टीको आसन्न महाधिबेशन, पार्टीले गरेको अनुशासनको कारबाही र कांग्रेसका नेताहरुबीच आरोप प्रत्यारोपको अबस्थाका बारेमा कांग्रेसका केन्द्रीय नेताहरुसंग अन्तरक्रिया गर्न कार्यक्रम आयोजना गरिएको बताए।
अन्तरक्रियाको क्रममा बाग्लुंग कांग्रेसकी सचिब गण्डकी थापा अधिकारी, कास्की क्षेत्र न. २ का सभापति केशर प्रसाद निर्दोषी, कास्की कांग्रेसका नेता आईबहादुर गुरुङ, प्रदेश सांसद सुनिता थापा, गणेश बहादुर भट्टराई, नारायण प्रसाद अधिकारी, रुमबहादुर खवास, लालिमाया रेग्मी, गोपाल पौडेल, राधाकृष्ण गुरुङ, कृष्णबहादुर खत्री लगायतले कास्कीका तीनजना कांग्रेस नेतालाई कारबाही गरिएको भन्दै आपत्ति प्रकट गरेको थिए। उनीहरुमध्ये केहिले संघिय एबम प्रदेश सरकारका मन्त्री र कर्मचारीले आफ्नो ठाउँमा मात्र बजेट राख्ने भए राष्ट्रिय योजना आयोग र गण्डकी प्रदेशको नीति योजना आयोग समेत खारेज गर्नुपर्ने जस्ता आवाज उठाएको नेपाली काँग्रेस कास्कीका महाधिबेशन प्रतिनिधि बिष्णुबहादुर क्षेत्रीले गुरुकुल खबरलाई जानकारी दिए।
कार्यक्रममा नेका गण्डकी प्रदेशका महामन्त्री बिष्णुप्रसाद लामिछाने, सहमहामन्त्री कोपिला रानाभाट र प्रबक्ता माधव बास्तोला मधु र नेपाली काँग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छे लगायतले आआफ्नो भनाई राखेका थिए ।