पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक नियुक्ति नपाएका र आफ्नो गाउँमा बाटोको लागि बजेट माग्न आएर पनि नपाएपछि रिस गर्नेहरुको प्रभावमा परेर आफ्नो बिरोधमा समाचार लेखिएको भन्दै पत्रकारहरु प्रति आक्रोश पोखेका छन। पोखरामा मंगलवार आयोजित प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै मुख्यमन्त्री पाण्डेले आफ्नो सबै जसो समय पत्रकारहरुलाई गाली गर्नमा नै खर्च गरे।
उनले एकजना पत्रकार आँफुसंग एउटा बाटोको लागि बजेट माग्न आएको तर बजेट नपरेपछि आफ्नो बिरोधमा समाचार लेखेको बताए। पत्रकारहरुलाई तथ्यमा आधारित भएर समाचार लेख्न जोड दिएका मुख्यमन्त्री पाण्डेले न त बाटोको योजना माग्न आएको पत्रकारको नाम लिए न त आफ्नो बिरुद्द समाचार प्रकाशन गर्ने संचारमाध्यमको बारेमा बताए। तर पनि उनले भने, ‘एउटा बाटोको योजना माग्न आउनुभयो एकजना पत्रकार साथी, योजना पाउनुभएन । पाइएन एउटा योजना भन्दैमा सारा बजेट खत्तम छ । सबै मुख्यमन्त्रीले खायो भनेर मैले घर बनाउन लगे जसरी न्यूज आइरहेको छ”
अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहभागी भएपनि उनले त्यहाँ कुनै बक्ताको कुरा सुन्न चाहेनन। अन्य बक्ताहरु भन्दा पहिले नै बोल्ने समय मागेका मुख्यमन्त्री पाण्डेले आँफुलाई समयको अभाव भएको कारण देखाए र आयोजकलाई भने, म प्रदेश सभाको बैठकमा जानुछ, त्यसैले मेरा कुरा तपाइहरुलाई सुनाएर जान्छु।”
गण्डकी प्रदेश सरकारले हालै प्रस्तुत गरेको आगामी आबको बजेटको बारेमा सत्तारुढ दलका सांसदहरुको साथै अन्य बिभिन्न क्षेत्रबाट समेत आलोचना भैरहेको छ। तर, मुख्यमन्त्री पाण्डेले अन्यत्र कतैबाट प्रश्न नउठेको जस्तोगरि एकोहोरो पत्रकारहरुमाथि शब्दको प्रहार गरिरहे। प्रदेश सभामा बजेटमाथिको छलफल हुँदा कुनै सांसदले बजेट पुस्तिका च्यातेको छन भने पाण्डेको दल नेपाली काँग्रेसका कतिपय सांसदले बैठक छोडेर समेत बसे।
यसबाहेक कतिपय सांसदले मुख्यमन्त्रीको निर्बाचन क्षेत्र सहित सत्तारुढ दलका सिमित नेता र मन्त्री अनि बजेट बनाउने काममा खटिएका कर्मचारीहरुको कार्यशैलीको बिरोध गर्दै असन्तुष्टि पोखेका छन्। तर मुख्यमन्त्री पाण्डेले भने २/४ जना पत्रकारहरुले मात्र आंफ्नो बिरोध गरेको भन्दै आफ्नो मन्तब्यको क्रममा पत्रकार र पत्रकारिताको मात्र आलोचना गरिरहे। “साथीभाइहरुको योजनाका कुरा, राजनीतिक अपोइन्ट्मेन्टका कुरा हुन्छन् । सबै कुरा पुर्ति गर्न सक्ने अवस्था त रहँदैन । त्यस्तै को को कहाँ कहाँ के अवस्थामा म सँग रिसाइरहेका हुन्छन् । मलाई थाहा पनि हुँदैन । बुझ्दा पनि बुझिँदैन । अनि एउटा कुरा सामाजिक सञ्जालमा लेखिदिन्छ अनि भोलिपल्ट मिडियामा समाचार आउँछ ।’
उनले आफुलाई एकजना प्रदेश सांसदले बिहानै फोन गरेर आजको सदनमा त मैले तपाइंको बिरोधमा बोल्नुपर्ने भयो भनेर भनेको प्रसङ्ग उल्लेख गर्दै भने, हुन्छ बिरोधमा बोल्ने अधिकार तपाईंलाई छ, बोल्नसक्नुहुन्छ, तर मेरो बिरोधमा किन बोल्नुपर्यो त ? भनेर सोधेपछि ति प्रदेश सभा सदस्यले दिएको उत्तर भन्दै उनले सुनाए। ‘तपाइंको बिरोधमा बोल्ने सांसदहरुको मात्र मिडियामा समाचार आउँछ नत्र आउँदैन, तसर्थ समाचार आउनको लागि पनि तपाइंको बिरोध गर्नुपर्नेभयो।’ तर यसकिसिमको कुरा पनि कुन प्रदेश सभा सदस्यले भनेको हुन् भन्ने उनले केहि खुलाएनन।
मुख्यमन्त्री पाण्डेको त्यो भनाईलाई कतिपयले स्टन्ट गर्न खोजेको हुन् कि भनेर चर्चा गरिरहँदा उनैले भने, अहिले पत्रकारहरुले पनि स्टन्ट गर्न खोजेको छन, राजनीतिक दलका नेताले त स्टन्ट गर्ने गरेको थिए तर अब पत्रकारहरुले पनि स्टन्ट गर्ने ? पत्रकारहरुले आँफुलगायत राजनीतिक दलका नेता र सरकारको बिरोध गरेर समाचार लेखेमा ब्यबस्था विरोधीहरुले टाउको उठाउन पाउने र त्यसको पहिलो सिकार पत्रकार नै बन्ने चेतावनी दिंदै उनले पत्रकारले स्टन्ट नहुने उल्लेख गरे।
“प्रेस स्वतन्त्रताको नाममा पत्रकारितामा छाडापन देखिन थालेको छ । म मुख्यमन्त्री भएको व्यक्तिगत रुपमा मन नपराउने मान्छे पनि हुनुहोला । गाडी चढेको, सरकारी क्वार्टरमा बसेको, अगाडि–पछाडि २/४ जना पुलिस लिएर हिँडेको कुराको रिस, डाह, ईष्या गर्ने, मेरै परिवार भित्रका मानिसहरु पनि हुनुहोला,’ उनले भने, उहाँहरुले पनि सामाजिक सञ्जालमा केही लेखिदिनुहोला । अनि त्यसैलाई आधार मानेर समाचार लेखियो भने त्यो तथ्यमा आधारित हुन्छ ?’
यस्तो गर्दा ब्यबस्था बिरोधिहरुले मौका पाउछन। यस अगाडी तत्कालिन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिंदा टेलिभिजन र पत्रिकामा आर्मीका मान्छे आएर पहरा दिएको सम्झना होला नि ? अब पनि यस्तै गर्ने हो भने लोकतन्त्र सजिलैसंग गुम्नसक्छ र पत्रकारहरु नै पहिलो सिकार बन्नुहुन्छ। अनि, पहिले तपाईंहरुले भोग्नुपरेको दिन आउनसक्छ, तपाईंहरुको कलम भाँचिन सक्छ मुख्यमन्त्री पाण्डेले पत्रकारहरुलाई चेतावनी दिंदै भने, “मेरो ४७ बर्षे राजनीतिक जिबनमा मैलोए धेरै आरोह अबरोह भोगिसके तसर्थ मलाई केहि फरक पर्दैन हाम्रो मुख थुन्न पनि तपाईंहरुको कलम भाँच्ने काम हुन्छ ।’
पत्रकारितामा छाडापन देखिन थालेको भन्दै तथ्यमा आधारित, प्रमाणसहितको पत्रकारिता हुनुपर्नेमा जोड दिएका मुख्यमन्त्री पाण्डेले आंफुले बोल्ने क्रममा भने कुनै कुराको स्पष्ट जानकारी दिएनन। कुन पत्रकारले कुन कुन संचारमाध्यममा के के बिषयमा लेखेको कारण लोकतन्त्रमाथि खतरा पुगेको होला भन्ने प्रश्नको जवाफ भने त्यहाँ उपस्थित सहभागीले पाउन सकेनन। तर, उनले भने बारम्बार त्यस्तै कुरा दोहोर्याए। ‘स्वतन्त्रता भनेको छाडातन्त्र होइन । पत्रकारले लेख्ने हक छ, तर त्यो तथ्यमा आधारित हुनुपर्छ । मन लाग्यो भनेर लेखिने समाचारले व्यवस्थामाथि नै खतरा ल्याउन सक्छ ।’
उनले गण्डकी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती गर्न बनाइएको सुझाव समितिको सन्दर्भ उठाउँदै भने, ‘एउटा मिडियाले २० लाख खर्च भयो भनेर लेख्यो । तर २० लाख होइन, त्यो भन्दा आधा पनि खर्च भएको छैन । तर कति खर्च भयो भनेर म भन्दिन, तपाइँहरु सुचनाको हक प्रयोग गरेर कति खर्च भय्पो भन्ने पत्ता लगाउनुस” उनले पत्रकारिता गर्न सूचनाको हक प्रयोग गरेर प्रमाण खोज्न सक्नुहुन्छ नि। तपाईंहरू आउनुहोस्, कार्यालयमै आउनुहोस्, सूचनाको हक लिनुहोस् । त्यसपछि लेख्नुहोस् ’ उनले भने । मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा व्यक्त हुने रिसइबी र अफवाहहरूले मेनस्ट्रिम मिडिया प्रभावित भइरहेको समेत उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले आफ्नो भनाई राखेर निस्केपछि मात्र अन्य बक्तालाई बोल्न दिईएको कार्यक्रमको अध्यक्षता सुचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमीद बागचन्दले गरेका थिए ।
गण्डकी प्रदेश समितिको अध्यक्षमा गुरुङ
यसैबीच उक्त कार्यक्रमका सहभागीहरुको भेलाले सुचनाको हकका लागि राष्ट्रिय महासंघको गण्डकी प्रदेशको तदर्थ समिति गठन गरेको छ समितिको अध्यक्षमा राजबहादुर गुरुङ, उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता आचार्य, महासचिबमा भारत कोइराला, सचिबमा कृष्ण क्षेत्री, महिला सचिबमा माया अधिकारी र कोषाध्यक्षमा टिका आचार्य रहेका छन् भने सदस्यहरुमा गीता लामिछाने बिष्ट, रोशन लामिछाने, शंकर राज नहर्की, बिराज त्रिपाठी, सुभाष पौडेल, सुशिला रोका, शिबप्रसाद गौतम र मिला दराईलाई चयन गरिएको छ ।
यसैबीच नबनिर्बाचित समितिको पहिलो बैठकले गंगाधर पराजुली, पुण्य पौडेल र ओमप्रकाश शर्मालाई महासंघको गण्डकी प्रदेश समितिको सल्लाहकार मनोनित गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष राजबहादुर गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए।
पोखराका अग्रज पत्रकारहरु गंगाधर पराजुली, नारायण कार्की, पुण्य पौडेल, ओमप्रकाश शर्मा र शिबप्रसाद बस्ताकोटी रहेको निर्बाचन सहजीकरण समितिले कार्यसमिति चयनको प्रक्रिया टुंग्याएको थियो ।