जोमसोम, मुस्ताङका रहेर लामो समयदेखि पत्रकारितामा क्रियाशील व्यक्तित्व सुन्दरकुमार थकाली सम्मानित भएका छन्। मुस्ताङ जिल्लाको कठिन भूगोलमा निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार थकालीलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आइतबार नगद पुरस्कार सहित सम्मान गरेको हो।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र समग्र मुस्ताङ जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय, कृषि लगायतका सम्भाव्य क्षेत्रहरुको उजागर गर्दै नागरिकहरुमा सूचना सम्प्रेषण तथा मुस्ताङ जिल्लालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन उनले पुर्याएको योगदानको मूल्यांकन गर्दै गाउँसभाका अवसरमा नगद दश हजार सहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो।
गाउँसभामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा अध्यक्ष सुनदेवी रसाईलीले गाउँसभा अधिवेशनका क्रममा संयुक्त रुपमा नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरे ।
गत वर्ष पत्रकार थकालीलाई मुस्ताङको घरपझोङ गाउँपालिकाले पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको थियो । यसअघि पनि थकालीले मुस्ताङ जिल्लाको समृद्धि र विकासका लागि कलम चलाए वापत आधा दर्जन पुरस्कारबाट पुरस्कारसहित सम्मानित भईसकेका छन् । उनि पोखरा र काठमाडौँबाट संचालित विभिन्न संचार माध्यममा जोडिएका छन ।