पोखरा, पोखराका शिक्षासेवी एबम जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको हत्या गरिएको २० बर्ष पुगेको छ। तत्कालीन विद्रोही माओबादीका कार्यकर्ताहरुले २०६२ जेठ २९ गतेको दिन पोखराको नागढुङ्मास्थित पालिखेको आफ्नो निवास अगाडी गोली हानेर हत्या गरेका थिए । शिक्षा क्षेत्रमा सक्रिय रहेकै अबस्थामा उनको हत्या गरिएको कारण सरकारले उनलाई शैक्षिक शहिद घोषणा गरेको छ ।
कास्की जिल्लाबाट कमर्समा स्नातकोत्तर गर्ने पालिखे पहिलो भएको र उनले २०२२ सालमा स्नातकोत्तर गरेको बताईंन्छ । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गरेका थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर जनप्रिय क्याम्पसको प्रमुख रहेर काम गरेका थिए ।
जनस्तरबाट स्थापना गरिएको जनप्रिय बहुमुखी क्याम्पसको प्रमुखको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे । निडर र हकी स्वभावका पालिखेकै कार्यकालमा उक्त क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट दुई पटक मुलुकभरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल भएको थियो। उनलाई कतिपयले क्याम्पसको मेरुदण्डका रूपमा समेत ब्याख्या गर्ने गरेका छन।
स्वर्गीय पालिखेको संझनामा बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण गरिएको छ । पालिखेकी धर्मपत्नी गंगादेवी पालिखेले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापना गरेकी छन् । स्मृति दिवसका सन्दर्भमा क्याम्पस परिसरमा वृक्षारोपण समेत गरिएको छ।
यसैबीच तत्कालिन क्याम्पस प्रमुख पालिखेको हत्या गरिएको दिन जेष्ठ २९ को सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पसले पलिखेको बीसौं स्मृति दिवस मनाएको छ। कार्यक्रममा बोल्दै क्याम्पस संचालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले गणेशमान पालिखेको शैक्षिक योगदानलाई सदैब संझिरहने बताएका छन् ।
पालिखे सरको शैक्षिक, राजनीतिक, व्यावसायिक जीवन कडा परिश्रम र संघर्षले नै सफल भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेले भने, “स्व. गणेशमान पालिखेले क्याम्पसको स्थापना र बिकासमा नेतृत्वदायी भुमिका खेलेको र क्याम्पसकै लागि ज्यानको आहुति दिई शिक्षामै सहादत प्राप्त गरेकोले वहाँ क्रान्तिकारी व्यक्तित्व रुपमा क्याम्पसले स्मरण गर्नु आबश्यक छ।”
जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख कृष्णबाबु बरालले आँफु जनप्रिय क्याम्पसमा पढ्दा पालिखेसरबाट प्रभावित भएको बताउँदै उनको पदचाप पछ्याई जनप्रियलाई पूर्ण डिजिटलाइज्ड गराउने, प्रविधिमैत्री पठनपाठनको वातारण बनाउने र क्याम्पसको शैक्षिक गुणस्तर बढाउन सदैब क्रियाशील रहने प्रतिबद्दता ब्यक्त गरे ।
सोहि क्याम्पसका पूर्व प्रमुख भरतराज गौतमले गणेशमान पालिखेको व्यक्तित्वमाथि प्रकाश पार्दै पालिखेले नेपालभरिकै शिक्षा क्षेत्रमा व्यवस्थापन सङ्कायको महत्व बढाउन सकेकोले काठमाडौं बाहिर पहिलो पटक पोखरामा बिबिए कार्यक्रम ल्याएको स्मरण गरे । पब्लिक क्याम्पस सङ्घको संस्थापक अध्यक्ष भएर मुलुकभरिका सामुदायिक क्याम्पसको स्थापना र सञ्चालनमा पालिखेले गरेको योगदान संझन लायक रहेको उनले बताए ।
क्याम्पसका पूर्व कार्यबाहक अध्यक्ष परशुराम बरालले जनप्रिय क्याम्पसमा आवद्ध शिक्षक कर्मचारीले पालिखेलाई बिर्सन नहुने बताउँदै क्याम्पस स्थापना गर्ने भेलामा पालिखेको उपस्थिति नभए पनि समुदायले अनुरोध गरेपछि उनलाई संस्थापक क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको उल्लेख गरे । स्थानीय समुदाय, संघसंस्था र शिक्षाप्रेमीसंग सहकार्य गर्न पालिखे सफल भएको र सबैतिरबाट सहयोग प्राप्त भएकै कारण पालिखे सफल भएको उनको भनाई थियो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख नवीनराज खनाल, संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, सिर्जना विकास केन्द्रक अध्यक्ष विष्णुप्रसाद बराल, पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय एकाइका अध्यक्ष विकास थापामगर, कर्मचारी संघ जनप्रिय एकाइका अध्यक्ष देवी पनेरु, पालिखेकी धर्मपत्नी गंगादेवी पालिखे लगायतका वक्ताले क्याम्पसलाई गतिशील र क्रियाशील शैक्षिक संस्थाका रूपमा स्थापित गर्न संस्थापक क्याम्पस प्रमुख गणेशमानले जस्तै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, क्याम्पसलाई केन्द्रमा राखी कार्यसम्पादन गर्न क्याम्पस प्रशासनलाई सुझाब दिएका थिए ।
सम्बन्धित समाचार .
जनप्रिय बहुमुखी क्याम्पसका पूर्व बिद्यार्थी बराललाई सोहि संस्थामा ‘क्याम्पस प्रमुख’को जिम्मेवारी
जनप्रियले संझियो गणेशमान पालिखेलाई, गंगादेवीद्वारा ४ लाखको अक्षयकोष स्थापना
जनप्रिय बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा विजुक्छे निर्वाचित
बिचारले प्रजातन्त्रबादी, कामले क्रान्तिकारी व्यक्तित्व ‘गणेशमान पलिखे’