पोखरा, अनन्तश्री बिभुषित मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयन आचार्यको संकल्पमा केहि महिनाको अबधिमा मुलुकको विभिन्न स्थानमा चारवटा महायज्ञ संचालनमा आएका छन भने अर्को महायज्ञको पनि तयारी भैरहेको छ । गत चैत्र २४ अर्थात रामनवमीको दिन मुस्तांग जिल्लाको मुक्तिनाथ मन्दिर परिसरमा शुरु गरिएको मुक्तिनाथ महोत्सब पछि स्वामी कमलनयन आचार्यले पबित्र तपोभूमिको रुपमा चिनिने म्याग्दीको कालान्जर पर्बत र सिद्धभुमी गौशाराको साथै भक्तपुरको संखारापुर नगरपालिकाको साँगामा समेत महायज्ञ संचालन गरेका हुन।
विभिन्न चार स्थानमा संचालन भएका महायज्ञमध्ये भक्तपुरको साँगामा र म्याग्दीको सिद्धभुमी गौशारामा संचालित महायज्ञ समापन भैसकेको भएपनि मुक्तिनाथ मन्दिर परिसरमा र कालान्जरमा संचालित महायज्ञहरु भने हाल संचालन भैरहेका छन।मुक्तिनाथ मन्दिर परिसरमा चैत्र २४ गते रामनवमीको दिनदेखि २०८२ को बिजयादशमी अर्थात असोजको दोश्रो सातासम्म मुक्तिनाथ महोत्सबको नाममा महायज्ञ जारी छ ।
विश्वशान्ति, मानबकल्याण र सनातन धर्म र संस्कृतिको संरक्षन र प्रबर्दन सहित परापुर्बकाल देखिका देबभुमी र तपोभुमीलाई धार्मिक एबम पर्यटकीय दृष्टिकोणले उजागर गर्ने लक्षका साथ मुक्तिनाथ बाबाले विभिन्न स्थानमा यस किसिमका महायज्ञको आयोजना गर्दै आएका छन। यस अगाडी बाग्लुंगको पंचकोटमा आयोजना गरिएको महायज्ञले त्यस क्षेय्त्रको भौतिक र पर्यटकीय विकास संगै धार्मिक जागरण ल्याउन महत्वपूर्ण सहयोग पुगेको बताइन्छ।
म्याग्दीको कालान्जर पहाडमा गत बैशाख २४ गतेबाट शुरु भएको १०८ श्रीमदभागवत ज्ञानमहायज्ञमा १ सय ८ आहुती गर्ने संकल्प रहेको थियो । तर, जेष्ठ २७ सम्ममा ५८ आहुती मात्र पुरा भएकोले हाल पाठ पारायणलाई मात्र निरन्तरता दिने र आगामी फागुन चैत्रमा पुन महायज्ञ संचालन गरेर त्यसलाई पूर्णता दिईने भएको छ।
कालान्जर पर्बत क्षेत्रलाई भगवान शिवको बासस्थानको रुपमा मात्र नभएर पबित्र तपोभुमीको रुपमा समेत वर्णित छ। कालिगण्डकीको सिरान तर्फ पर्ने कालान्जर पहाडको क्षेत्र म्याग्दीको अन्नपुर्ण गाउँ पालिका र जलजला गाउँपालिकाको सिमानामा रहेको बिकट क्षेत्रको रुपमा रहेको छ ।
स्वामी कमलनयन आचार्य अर्थात मुक्तिनाथ बाबाको संकल्पमा यस अगाडी भक्तपुरको साँगामा यहि जेष्ठको १४ देखि २२ गतेसम्म सात दिने महायज्ञ संचालन भएको थियो। नेपाल माता महिमा राष्ट्रिय महायज्ञ -२०८२ नाम दिईएको उक्त महायज्ञकै सन्दर्भमा जेष्ठ २२ देखि २५ गतेसम्म ब्रम्होत्सब समेत आयोजना गरिएको जानकारी स्वामी कमलनयन आचार्यकी शिष्य समेत रहेकी पोखराकी उर्मिला बस्नेतले गुरुकुल खबरलाई जानकारी दिईन ।
मुक्तिनाथ मन्दिर परिसरमा संचालन भैरहेको मुक्तिनाथ महोत्सबमा बेद, उपनिषद्, रामायण, महाभारत, पुराण, गीता लगायतका शास्त्रहरुको पाठ पारायण सहित धार्मिक अनुष्ठान गरिने साथै जडिबुटी र सर्बरसयुक्त नरिवल समेत हवन गरिंदै आएको छ। गत चैत्र १८ गते नवलपरासीको गजेन्द्रमोक्ष दिब्यधामबाट मुक्तिनाथ मन्दिरसम्म श्रीगजेन्द्रमोक्ष -नारायण- मुक्तिनाथ रथयात्रा गरेर चैत्र २४ गते रथयात्राको समापन संगै मुक्तिनाथ महोत्सबको शुरुवात गरिएको थियो।
रथयात्रा नवलपुरको त्रिबेणीस्थित गजेन्द्रमोक्ष धामबाट देबघाट, पोखराको सन्तसेवा आश्रम, बाग्लुंगको पंचकोट हुँदै जोमसोम र मुक्तिनाथ मन्दिरको परिसरमा पुगेर अखण्ड भागवत नाम हरेराम संकिर्तन सहित महोत्संको पुर्बांग गरिएको थियो। रथयात्रा पोखरामा आउँदा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे र पोखराका मेयर धनराज आचार्यले सडकमै बसेर स्वागत गर्नुको साथै रथको पुजा समेत गरेका थिए ।
मुक्तिनाथ महोत्सबको शुरुवातमा पोखरा लगायत विभिन्न क्षेत्रबाट धार्मिक, राजनीतिक एबम सामाजिक र सरकारको विभिन्न जिम्मेवारीमा रहेका व्यक्तित्वहरुको मुक्तिनाथ मन्दिर परिसरमा सहभागिता रहेको थियो। अन्य स्थानमा आयोजित महायज्ञहरुमा पनि विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने गरेको छ।
मुक्तिनाथको महायज्ञ बिजया दशमीको अबसरमा सम्पन्न भएपछि दशमीको टिका समेत मुक्तिनाथ मन्दिरमा नै लगाउने र त्यसपछि मुक्तिनाथ बाबासहितको टोलि त्रिबेणीधाम प्रस्थान गर्ने बुझिएको छ वहाँकै संकल्पमा आगामी मङ्सिर महिनामा नवलपुरको त्रिबेणीस्थित गजेन्द्र मोक्षधाममा पनि अर्को महायज्ञ गर्ने तयारी भैरहेको समेत बस्नेत्ले जानकारी दिईन।
मुक्तिनाथ पिठाधिश्वर मुक्तिनाथ बाबाको नेतृत्व र संकल्पमा एबम अखण्डज्योतीबाबा स्वामीश्रीजी च्यारिटेबल ट्रष्ट र नेपाल तिर्थस्थल विकास राष्ट्रिय समितिको तत्वाबधानमा भक्तपुरको पंचमहालक्ष्मी मन्दिर, नवलपरासीको गजेन्द्रमोक्ष दिब्यधाम, बाग्लुंग पंचकोटको सर्बसिद्धिधाम र शालग्राम संग्रहालय लगायतका विभिन्न स्थानलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने तथा अन्य स्थानमा मठ ,मन्दिर, शिक्षन संस्था, गौशाला, स्वास्थ्यसेवा आश्रम जस्ता सेवामुखी संस्थाको स्थापना र संचालनम भैरहेको बताइएको छ।