पोखरा, पोखराको आकाशमा उडेर ताल र हिमाल सहितको प्राकृतिक सुन्दरता अबलोकन गर्ने प्रमुख माध्यमको रुपमा रहेको प्याराग्लाइडिङ दुर्घटनामा पर्नेहरुको सकुशल उद्वार भएको छ। कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. १८ खपौँदी नजिकको आकासबाट खसेर फेवातालमा परेका चार जनालाई सशस्त्र प्रहरी बल कालिका गण पोखराबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उद्वार गर्न सफल भएको छ।
दुर्घटनामा परेर फेवातालमा खस्नेहरुमा दुई जना चालक र दुई जना भारतीय पर्यटक रहेको प्रहरीले जनाएको छ उनीहरु चारैजनाको सकुशल उद्वार गरिएको हो ।पोखरा महानगरपालिका–१८ तोरीपानी, सरांगकोटबाट उडेर फेवाताल किनारमा ल्यान्डिङ गर्ने क्रममा बुधबार दुई वटा प्याराग्लाइडिङ दुर्घटनामा परेका हुन । प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई दुई वटै प्याराग्लाइडिङ फेवातालको बीच भागमा खसेका थिए।
उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी रहेको प्रहरीले जनाएको छ। मोटरबोट सहित खटिएका गोतखोरको टोलिले उनीहरुको उद्धार गर्न सफल भएको बताइएको छ ।