पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञानमहायज्ञको पूर्णाहुति आज सोमबार हुँदै छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेको हवानात्मक कार्य सहित अन्य धार्मिक अनुष्ठानहरु समेत सोमबार समापन हुँदैछन ।
पुर्णाहुति र धार्मिक अनुष्ठानको समाप्तिसंगै कोटीहोममा सहभागी भएका चारसय जना ब्राम्हणलाई पनि सोमबार नै बिदाई गरिनेछ ।
कोटीहोममा आइतबार पनि ठुलो संख्यामा भक्तजनहरु सहभागी भएको आयोजकले जनाएको छ । हालसम्ममा कोटीहोममा सहभागी हुने भक्तजनको संख्या करिब ३० लाख पुगेको दाबि आयोजकको रहेको छ । आइतबार चलचित्र नायक आर्यन सिग्देल, नायिक अञ्जना बराइली, निर्देशक दिवाकर भट्टराईलगायत सहभागी भए ।
शनिबार २१ करोड दीप प्रज्ज्वलन भएको थियो उक्त दिन लाखौँ भक्तजन सहभागी भएका थिए । हालसम्म करिब सात करोड ५० लाख रुपैया रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।
कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । कोटीहोममा धार्मिक अनुष्ठान सकिए पनि प्रवचानात्मक कार्यक्रममा उनले जेठ ३१ सम्म कथा वाचन गर्नेछिन् ।
कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो ।
कोटीहोमका संकल्पकर्ता बाल योगेश्वर बिजयक्कृष्ण मुर्तीले पोखरा लगायत गण्डकी प्रदेश र बाहिरबाट पनि भक्तजनहरुको अबुतपुर्ब सहभागिता रहेको बताउंदै कोटीहोम अपेक्षा गरिएभन्दा पनि सफल भएको प्रतिक्रिया दिए।