Play

लायन्स मल्टिपल काउन्सिलको कन्भेन्सन शनिबार, इन्टरनेसनल डाइरेक्टरमा सिटौला र लम्सालको भिडन्त हुने

काउन्सिल चेयरमेनमा पहिलो पटक महिला, पोखराकी मिलन थापा बनिन काउन्सिल चेयरमेन


गुरुकुल खबर


पोखरा, ‘हामी सेवा गर्छौं’ भन्ने मुख्य लक्षका साथ स्थापित लायन्स क्लबको बिकास र बिस्तार संगै नेपालबाट अन्तराष्ट्रिय डाइरेक्टर बन्न चाहने आकान्क्षीहरुको संख्या धेरै भएपनि अन्तिम प्रतिष्पर्धा भने दुईजनाको बिचमा हुने सम्भावना बढेको छ । नेपालमा लायन्स क्लबहरुको संख्या र लायन्स क्लबको सदस्यतामा भएको उल्लेखनीय वृद्धिसंगै नेपालबाट अन्तराष्ट्रिय डाइरेक्टर बन्न चाहनेहरुको संख्या बढेको हो ।

यस अगाडी नेपालबाट संजय खेतान र बालकृष्ण बुर्लाकोटीले लायन्स इन्टरनेसनलको डाइरेक्टर बन्ने अबसर प्राप्त गरिसकेका छन भने यसपटक त्यो अवसर कसले प्राप्त गर्ला भन्ने एकिन गर्न नसकिएपनि खगेन्द्र सिटौला र राजन लम्साल मध्ये एक जनालाई उक्त जिम्मेवारी मिल्नसक्ने अनुमान गरिएको छ ।

नेपालमा लायन्सको इतिहास त्यति लामो नभएपनि लायन्स क्लबको संख्यामा आएको वृद्धिसंगै नेपालमा डिष्ट्रिकको संख्या बढ्दै गएको हो । जस अनुसार लायन्स डिष्ट्रिक ३२५ को स्थापना भएको केहि बर्षमा लायन्स डिष्ट्रिक ३२५ ए र बि अनि त्यसको केहि बर्षमा डिष्ट्रिक ए वान, बि वान, ए टू र बि टू गरि चारवटा डिष्ट्रिक बनेका थिए चारवटा डिष्ट्रिक बनेको केहि बर्षपछि नेपालमा डिष्ट्रिक ३२५ अन्तर्गत १५ वटा डिष्ट्रिक बनिसकेको छन ।

बिगतमा दुइवटा वा चारवटा मात्र डिष्ट्रिक रहंदा अन्तराष्ट्रिय डाइरेक्टर बन्नको लागि अत्यन्त सिमित संख्यामा मात्र आकान्क्षीहरु रहने गरेकोमा हाल डिष्ट्रिकको संख्या नै १५ पुगिसकेकोले विभिन्न डिष्ट्रिकबाट अन्तराष्ट्रिय डाइरेक्टर बन्न चाहनेहरुको संख्या पनि उल्लेखनीय रुपमा बढेको छ। यस अगाडी नेपालबाट संजय खेतान र बालकृष्ण बुर्लाकोटीले अन्तराष्ट्रिय निर्देशक बन्ने अबसर प्राप्त गरेको थिए खेतान र बुर्लाकोटीको पालामा पनि इन्टरनेसनल डाइरेक्टर बन्ने तयारी गरेको भएपनि सफलता आउन नसकेका सिटौलाले यसपटक भने इन्टरनेसनल डाइरेक्टर पदमा चुनाब जित्ने गरि तयारीमा लागेको बताइन्छ ।

सबैजसो डिष्ट्रिकले आंफ्नो डिष्ट्रिकबाट एकजनालाई अन्तराष्ट्रिय निर्देशक वा इन्टरनेसनल डाइरेक्टरको लागि प्रस्ताब गर्ने क्रम पनि बढेर गएको छ । आगामी शनिबार अर्थात जेठ २४ गतेका दिन काठमाडौँमा हुने लायन्सको मल्टिपल काउन्सिल कन्भेन्सनमा इन्टरनेसनल डाइरेक्टर सहित मल्टिपल काउन्सिलको चेयरमेन, भाइस चेयरमेन र कोषाध्यक्ष लगायतको पदमा निर्बाचन हुने कार्यक्रम रहेको छ ।

यसपटक नेपालका १५ वटा डिष्ट्रिकबाट ११ जनाले इन्टरनेसनल डाइरेक्टर पदको लागि चाहना ब्यक्त गरेको र त्यसका लागि प्रस्ताब समेत गरेको बुझिएको छ । जसअनुसार लायन्स डिष्ट्रिक ३२५ सी बाट लिला ढुंगेल, डी बाट खगेन्द्र सिटौला, ई बाट दिनेश पौडेल, एफ बाट शम्भु घिमिरे, जी बाट काया मुद्दीन, एच बाट दिनेश श्रेष्ठ, आई बाट राजन लम्साल र जे डिष्ट्रिकबाट ध्रुब थापाले उमेद्वारी प्रस्तुत गरेको छन ।

यसैगरी डिष्ट्रिक पी बाट अरुणप्रताप राणा, आर बाट डीके ढुंगाना, एस बाट रमेश अग्रवालले पनि इन्टरनेसनल डाइरेक्टर बन्ने चाहना राखेको छन । तर, डिष्ट्रिक के, एम, एल र एन बाट यस पटक इन्टरनेसनल डाइरेक्टर बन्ने चाहना कसैले पनि नराखेको बुझिएको छ । उल्लिखित ११ जनाले डाइरेक्टरको चाहना गरेको भएपनि अन्तिम प्रतिष्पर्धामा भने राजन लम्साल र खगेन्द्र सिटौला गरि दुई जनामात्र रहने सम्भावना छ। लायन्स इन्टरनेसनल डाइरेक्टर सहि मल्टिपल काउन्सिलको पदाधिकारीको निर्बाचनमा करिब दुई हजार मतदाता रहने अनुमान गरिएको छ ।

शनिबार हुने कन्भेन्सनमा अन्तिम दुईजना बीच प्रतिष्पर्धा हुने र नेपालबाट छानिएपछि इन्टरनेसनल कन्भेन्सनमा पुन प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ तर नेपालबाट छानिएको व्यक्तित्वले इन्टरनेसनल डाइरेक्टर बन्न पाउने अबस्था करिब सुनिश्चित जस्तै छ  ।

इन्टरनेसनल डाइरेक्टरको प्रतिष्पर्धामा रहेका हरुमध्ये सिटौला लायन्सको अगुवाको रुपमा चिनिन्छन । उनि यस अगाडी डिष्ट्रिक ३२५ ए को गभर्नर बनिसकेको छन । उनि संगै ३२५ बि को गभर्नर बनेका संजय खेतान इन्टरनेसनल डाइरेक्टर पदमा चुनाब लड्ने समयमा सिटौलासमेत आकान्क्षी थिए  । तर, सहमतिमा सिटौलाले खेतानलाई निर्बिरोध बन्ने अवसर दिए ।

तर, त्यसपछि पनि सिटौलालाई इन्टरनेसनल डाइरेक्टर बन्न बालकृष्ण बुर्लाकोटी समेतको समुहबाट अबरोध पुग्यो तर यसपटक भने सिटौलाले आफुलाई उक्त पदमा निर्बाचित गराउन सबैजसो लायन्स सदस्यहरुसंग आग्रह गर्दै आएका छन । लामो समय लायन्समा लागेको र लायन्स इन्टरनेसनलमा २२ हजार डलर भन्दा बढी सहयोग गरिसकेको कारण पनि सिटौलाको योगदान महत्वपूर्ण रहेको बुझेका लायन्सहरुले सिटौलालाई डाइरेक्टर बनाउने अभियानमा साथ् दिएको बताइन्छ । हाल नेपालमा रहेका १५ वटा डिष्ट्रिक मध्ये ९ वटा डिष्ट्रिकको सहयोग सिटौलालाई मिल्ने करिब पक्का जस्तै रहेको बताइन्छ ।

इन्टरनेसनल डाइरेक्टर बन्ने अभियानमा लागेका राजन लम्साल पनि यतिबेला चुनाबी अभियानमा सक्रिय छन । उनि पनि पुर्ब डिष्ट्रिक गभर्नर रहेको र उनको डिष्ट्रिकमा अन्य डिष्ट्रिकको तुलनामा बढी मतदाता रहेको कारण चुनाब आफ्नो पक्षमा आउने कुरामा विश्वस्त छन । लम्सालको प्रभाव पोखरा काठमाडौँ लगायतका क्षेत्रमा राम्रो मानिएपनि पुर्बी नेपाल र काठमाडौँमा सिटौलाको प्रभाव पनि त्यत्तिकै रहेको बुझिएको छ । तर यसपटक पोखरा क्षेत्रबाट पनि अनपेक्षित मत प्राप्त गर्ने बिश्वासमा सिटौला रहेको छन । हालसम्म डीके ढुंगानाले लम्साललाई समर्थन गर्ने औपचारिक घोषणा गरेको भएपनि अन्यले भने कसैको पक्षमा खुलेर प्रतिक्रिया दिएको छैनन ।

यसैबीच पोखराकै लायन्स मिलन थापा मल्टिपल काउन्सिल चेयरमेनमा निर्बिरोध निर्बाचित हुने बाताबरण तयार गर्न सिटौला समूहको योगदान रहेको कारण मिलन थापा र पुर्ब गभर्नर ध्रुब थापा सहितको समुहले सिटौलालाई समर्थन गर्ने बताइएको छ । तर, हालसम्म उनीहरु मौन रहेको बुझिएको छ ।

नेपालको ५४ बर्षे लायन्स इतिहासमा पहिलो पटक महिलालाई डिष्ट्रिक काउन्सिल चेयरमेन बन्ने अवसर प्राप्त भएको छ । पोखराबाट लायन्समा क्रियाशील डिष्ट्रिक ३२५ जे नेपालकी गभर्नर मिलन थापाले निर्बिरोध रुपमा मल्टिपल काउन्सिल चेयरमेन बन्ने मौका पाएकी छन । लायन बर्ष २०२५/२६ को लागि मल्टिपल चेयरपर्सनमा उनको मात्र मनोनयन दर्ता भएको र आगामी शनिबार उनि निर्बाचित भएको औपचारिक घोषणा हुनेछ । थापाले पोखराको सेती गण्डकी लायन्स क्लबबाट लायन यात्रा शुरु गरेकी हुन् ।

काउन्सिलको भाइस चियरपर्सनमा भने तिन जनाको उम्मेदवारी परेको छ । जसमा डिष्ट्रिक्ट एचका इलेक्ट डिष्ट्रिक गभर्नर रबिन्द्र बहादुर प्रधान, डिष्ट्रिक्ट जीबाट इलेक्ट डिष्ट्रिक्ट गभर्नर विधान जोशी र डिष्ट्रिक्ट एफका इलेक्ट डिष्ट्रिक गभर्नर केशर बहादुर भण्डारीले मनोनयन गरेकोले सर्बसम्मत हुन सकेन । यसैगरी मल्टिपल काउन्सिल सेक्रेटरीमा डिष्ट्रिक्ट सि इलेक्ट डिष्ट्रिक्ट गभर्नर बबरजंग थापा र ट्रेजररमा डिष्ट्रिक्ट आर का इलेक्ट गभर्नर नवराज सापकोटा निर्विरोध भएका छन भने काउन्सिल जोईन्ट सेक्रेटरी र ट्रेजररमा कसैको पनि उम्मेदवारी परेको छैन ।

२२ जेष्ठ २०८२, बिहीबार ०९:२० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा