पोखरा, पोखरामा जारी गण्डकी कोटीहोम महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्ती महाराजले सनातन धर्मको चिरकालीन चेतनाको तेजस्वी छायाँलाई विश्वभरि फैलाउने, हाम्रो गौरवशाली पुरातात्विक सम्पदा, अनादिकालदेखिका संस्कार र संस्कृतिलाई यथावत् जीवन्त राख्ने र सम्पूर्ण सृष्टिमा शान्ति, समन्वय र सद्भावको दिव्य ज्योति छर्न सकूँ भन्ने गहिरो संकल्प लिएर सातवटै प्रदेशमा कोटिहोम आयोजना गर्ने दृढ संकल्पका साथ आँफु अगाडी बढेको बताएका छन । शुद्ध मन, पवित्र उद्देश्य र अटल श्रद्धाका साथ कोटिहोममार्फत सातै प्रदेशमा सत्य, सेवा र सनातन संस्कारको अमर दीप जलाउने दृढ संकल्प सहित आँफु अग्रसर रहेको उनले उल्लेख गरेका छन।
पोखरामा आयोजित गण्डकी कोटीहोमको अबधी एक साता मात्र बाँकी रहंदा उनले जारी गरेको प्रेस नोटमा गण्डकी कोटिहोम महायज्ञको पूर्वतयारीको पहिलो पाइला देखि वर्तमान क्षणसम्म सबैभन्दा ठूलो, समर्पित र निरन्तर योगदान यदि कसैको रह्यो भने त्यो मूल आयोजक समारोह समितिका समस्त पदाधिकारीज्यूहरूको नै भएको उनले उल्लेख गरेका छन ।
यस दिव्य यज्ञको कल्पनाबाट कार्यान्वयनसम्मको प्रत्येक चरणमा दिनरात नभनी तन, मन, धन, वचन र कर्मले जुट्ने अनि हरेक निर्णयमा दूरदृष्टि, हरेक काममा विवेक र हरेक कठिनाइमा धैर्य प्रदर्शन गर्दै सफलताको शिखरसम्म पुर्याउन आफ्नो सम्पूर्ण सामर्थ्य अर्पण गर्ने सबैमा महायज्ञका संकल्पकर्ता बिजयकृष्ण मुर्तीले आभार प्रकट गरेका छन ।
उनले कोटिहोमको यस यात्रामा साथ दिने र सहयोग गर्ने कोटिहोम मूल आयोजक समारोह समिति सहित सम्पूर्ण भक्तजनहरु, प्रहरी प्रशासन, विभिन्न तहका सरकारप्रति गहिरो सम्मान र कृतज्ञता समेत अर्पण गरेका छन।
हाम्रो जरा, हाम्रो संस्कृति, हाम्रो सनातन चिन्तनलाई जनजनसम्म पुर्याउने पवित्र उद्देश्यले गत वर्षको साउन महिनामा ऐतिहासिक पशुपति कोटिहोम ज्ञानमहायज्ञ काठमाडौँको पशुपती क्षेत्रमा सम्पन्न गरिएको र भक्तजनहरुको आशीर्वादले भब्यतापुर्बक सम्पन्न भएको स्मरण गर्दै कोटीहोमका संकल्पकर्ता बिजयकृष्ण मुर्तीले भगवान् श्री पशुपतिनाथको असीम कृपाले सञ्चालित दिव्य लीलाको साक्षात्कार गर्ने अवसर सबै भक्तजनलाई मिलेको उल्लेख गरेको छन ।