पोखरा, गत सोमबार पोखराको सभागृहचोक–सिर्जनाचोक सडकखण्डमा एक स्कुटरको ठक्करबाट घाइते भएका एक यौनिक अल्पसंख्यक व्यक्तिको बुधबार उपचारको क्रममा निधन भएको छ ।
जेठ १२ गते राति करिब ११ बजेतिर कास्कीको मादी गाउँपालिका वडा नं. ५ सिक्लेस घर भएका ईच्छा क्षेत्री भनेर चिनाउने विष्णु बहादुर बुढाथोकी स्कुटरको ठक्करका कारण घाइते भएका थिए । उनलाई ठक्कर दिने स्कुटर चालक भने घटनापछि फरार भएका थिए।
दुर्घटनापश्चात घटनास्थल पुगेको वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई उपचारको लागि अस्पताल लागेको भएपनि दुई दिनपछि अर्थात जेठ १४ गते बुधबार उपचारकै क्रममा उनको निधन भएको थियो ।
त्यसपछि प्रहरीले फरार भएका स्कुटर चालकको खोजि गर्ने क्रममा पोखरा महानगरपालिका – ११ फूलबारीबाट प्र.३–०२–००७ प २०२९ नं. को स्कुटर सहित एक युवालाई पक्राउ गरेको छ। ‘हिट एण्ड रन’ केसमा बुधबार नै पक्राउ परेका स्कुटर चालक काठमाण्डौ महानगर – २६ बस्ने वर्ष ३३ को समिरराज महर्जन रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।
उनलाई कास्की जिल्ला अदालतबाट सवारी ज्यान सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।