Play

हेम्जा – नयाँपुल सुरुंगमार्ग निर्माण गरिने, ४० किमिको दुरी ७ किमी कायम हुने

गुरुकुल खबर


पोखरा,  सरकारले मध्यपहाडी राजमार्गको नयाँपुल–हेम्जा खण्डमा सुरुङमार्ग बनाउने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सार्वजनिक गरेकाे आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नयाँपुल–हेम्जा सरुङमार्गको काम अघि बढाइने उल्लेख गरेका हुन् । सम्भाव्यता अध्ययन सम्पन्न भइसकेका सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चित गर्ने र निर्माण कार्यलाई अघि बढाउने योजना अन्तर्गत नयाँपुल–हेम्जा पनि प्राथमिकतामा परेको हो ।

योसँगै अध्ययन सम्पन्न भएका सुरुङमार्गहरु दुम्कीबास–बर्दघाट, खुर्कोट–चियाबारी, बबई–छिन्चु, मझिमटार–शक्तिखोर, कुलेखानी–भीमफेदी र धरान–लेउतीको निर्माणका लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ ।

यसैगरी, टोखा–छहरे, शिवपुर–भालुवाङ, रानीघाट–भुरिगाउँ, दोलालघाट–चर्नावती र हात्तीसार–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने पनि बजेटमा उल्लेख गरिएको छ । उक्त सुरुङमार्गको आर्थिक वर्ष २०७९/८० को बजेटमै स्वीकृति प्रदान गरी सम्भाव्यता अध्ययन पूरा भएको थियो ।

साबिक धौलागिरि अञ्चलका चार जिल्लाको राष्ट्रिय राजमार्ग र प्रदेश राजधानीसँग प्रत्यक्ष जोड्ने एक मात्र सडकका रुपमा रहेको पोखरा–बागलुङ सडकमा सुरुङमार्ग बनाउन विगत एक दशकदेखि पर्वत उद्योग वाणिज्य सङ्घले पहल गर्दै आएको थियो ।

धौलागिरि क्षेत्र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण र छिमेकी मुलुक चीनको कोरल्ला नाकासँग समेत जोडिएको र पर्यटन प्रवद्र्धनका हिसाबले प्रशस्त सम्भावना बोकेको क्षेत्रलाई पोखरासँग प्रत्यक्ष जोड्नका लागि पर्वत उद्योग वािणज्य सङ्घको पहलमा यसअघि पनि छलफल र बहस हुँदै आएको थियो भने मन्त्रालयमा ध्यानाकर्षणपत्र समेत बुझाइएको थियो ।

प्रदेश तथा पर्यटनको राजधानी पोखरासँग पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई सिधा जोड्न सकियो भने राष्ट्रिय, अन्तरराष्ट्रिय व्यापार प्रवद्र्धन मात्र होइन, ढुवानी र समयको समेत बचत हुने र ओझेलमा परेको धौलागिरिमा नै आर्थिक क्रान्तिको ढोका खुल्न सक्ने भएकाले उक्त कार्य आवश्यक देखिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर वि पौडेलले बताए ।

पर्वतको कुश्मादेखि पोखरासम्म ५८ किलोमिटर रहेको छ । अब निर्माण हुने नयाँपुल–हेम्जाको दूरी झन्डै ४० किलोमिटर रहेको छ । तर सुरुङमार्ग निर्माणपछि सात किलोमिटरको दूरीमा जोडिने भएको छ ।

उक्त सुरुङमार्ग निर्माणपछि पोखरामा दिनहुँ भित्रिने हजारौँ पर्यटकलाई आकर्षण गर्न सकिने भएकाले, भारत र चीनको व्यापारिक मार्गका रुपमा रहेको कालीगण्डकी करिडोरसँग सिधा सम्पर्क राख्न सकिने र धार्मिक महत्व बोकेको मुक्तिनाथसँग पोखरालाई जोड्न तथा कालीगण्डकी जलयात्राका लागि पर्यटकहरुलाई भित्र्याउन सहज हुने भएकाले उक्त सुरुङमार्ग अत्यावश्यक भएको प्रतिनिधिसभा सदस्य पदम गिरीले बताए ।   रासस

१७ जेष्ठ २०८२, शनिबार ०७:२६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा