पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन भागवत् मञ्जरी राधिका दासी पोखरा आइपुगेकी छन् । उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्तिजी महाराज सहित आयोजकले स्वागत गरेका थिए ।
राधिका दासीले शनिबारदेखि जेठ २६ गतेसम्म श्रीमद्देवी भागवत कथा वाचन गर्ने कार्यक्रम तय भएको छ ।भागवत मञ्जरी दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होमहोमादी हुने ठाउँमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छन् ।
यस अघि अन्तराष्ट्रिय कथाबाचक देबी प्रतिभाले कोटीहोममा कथा बचन गरेकी थिइन् उनले यस अगाडी करिब १ महिना र हाल एक साता भन्दा बढी गरि दुई पटक सम्म पोखरा आएर गण्डकी कोटीहोममा बसेर कथा बाचन गरेकी थिइन् उनलाई शुक्रबार नै पोखराबाट बिदाई गरिएको छ ।
महायज्ञका सङ्कल्पकर्ता बाल योगेश्वर बिजयकृष्ण मुर्तीले आफुले आँटेका हरेक गतिविधिमा पूर्णरूपमा साथ दिँदै आएकी कथा वाचिका देवी प्रतिभा र राधिका दासीको कोटीहोम आगमनले आफूलाई उर्जा मिलेको बताए ।
राष्ट्रिय भजन प्रतियोगिता समापनतर्फ
कोटीहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगिताको समापन शनिबार हुनेछ । संयोजक प्रजापति पराजुलीका अनुसार प्रतियोगितामा तीन सय पाँच टिमले सहभागिता जनाएका छन् । शुक्रबारसम्ममा दुई सय ५२ टिमले आआफ्ना भजन प्रस्तुति राखिसकेको उनले बताए । विभिन्न कारणले केही सहभागी टिम आउन नसकेको उनले बताए ।
प्रतियोगितामा प्रथम हुनेले तीन लाख ५१ हजार पाँच सय पाँच, द्वितीय हुनेले दुई लाख ५१ हजार पाँच सय पाँच, तृतीय हुनेले एक लाख ५१ हजार पाँच सय पाँच र सान्त्वना स्थान हासिल गर्नेले ६५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
छ सय ५० युनिट रगत संकलन
कोटीहोममा आयोजित खुला रक्तदान कार्यक्रम जारी छ । हालसम्म ६ सय ५० युनिट रगत संकलन भएको आयोजकले जनाको छ । प्रचण्ड गर्मीको कुनै प्रवाह नगरि कोटीहोममा सहभागी हुन आएका भक्तजनहरुले रक्तदान गरेका हुन् । कोटीहोम समापन सम्ममा एक हजार बढी युनिट रगत संकलन हुने अपेक्षा गरिइएको छ ।
शिवको मूर्ति र शिवलिङ्ग र हवनकुण्डमा भक्तजनको आकर्षण
कोटीहोममा सहभागी हुने भक्तजनको आकर्षणको केन्द्रविन्दु विशाल शिव मूर्ति र शिव लिङ्ग हुने गरेको छ । यसमा भक्तजनको मात्र होइन धेरैको ध्यान खिचेको छ । शिव मूर्ति र शिव लिङ्गको अगाडि बसेर फोटो खिच्नेको भिड नै लाग्ने गरेको छ ।
सामाजिक सञ्जालमा पनि शिव मूर्ति र शिव लिङ्गको प्रचार भएको देहिएको छ। शिव लिङ्ग एक करोड थान रुद्राक्षबाट बनाइएको छ । यस प्रकारको शिव लिङ्ग अन्यत्र कहीँ पनि नबनेको आयोजकको दावी छ । यस्तै एक सय हवन कुण्डले पनि भक्तजनको ध्यान खिचेको छ । राधिका दासीले पनि हवन कुण्डको निकै प्रशंसा गरेकी छन् । एक सय हवन कुण्ड एकै स्थानमा कहीँ पनि नभएको उनको दावी छ ।
भक्तजनको संख्या १५ लाख बढी भएको दाबि
आयोजकका अनुसार कोटीहोममा हालसम्म १५ लाख बढी भक्तजन सहभागी भएका छन् । कोटीहोम समापनतर्फ उन्मूख भइरहँदा भक्तजनको सहभागिता बढ्दै गइरहेको छ । कोटीहोममा बिहीबार दुई लाख र शुक्रबार एक लाख २० हजार भक्तजन सहभागी भएको उनको दावी छ ।
शनिबार अझ धेरै भक्तजन सहभागी हुने अपेक्षा आयोजकको छ । शनिबार बिदाको दिन र राधिका दासीको प्रवचन शुरु हुने भएकाले भक्तजन बढ्ने अपेक्षा गरिएको छ । शुक्रबार जगत गुरु शंकराचार्य माता हेमानन्द गिरिजी महाराज, पूर्वमन्त्री मेटमणि चौधरी र शेरबहादुर कुँवरलगायत सहभागी थिए ।
अधिकारीले बजाए ८ मिनेट २५ सेकेन्डसम्म शंख
कोटीहोममा बिहीबार हिन्दूराष्ट्रको शंखघोष गरिएको थियो । पोखरा-१७ महतगौँडा, सीतापाइलास्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरका गुरु कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्डसम्म शंख बजाएर कोटीहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटीहोममा एक सय कुण्डमा एक करोड ५० लाख हवन भएको बताइएको छ ।
शंखघोषसँगै कोटीहोम सफलतापूर्वक सम्पन्न भएको दावी गरिएको छ । साथै कोटीहोम स्थलमा बिहीबार माता गायत्रीको मूर्ति स्थापना गरिएको छ । संकल्पकर्ता विजय कृष्णमूर्तिले गायत्रीको मूर्ति स्थापना गरेका हुन् । पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको बिरौटा स्थित जग्गासहित आसपासको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।