काठमाडौँ, कारागारमा रहेका नेपाली कांग्रेसका नेता एबम पुर्ब सांसद मोहम्मद अफताव आलमले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले दिएको आदेश अनुसार सफाई पाएका छन सर्बसाधारणलाई जिउँदै इट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा यसअघि जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएपछि कारागारमा रहेका आलमलाई बुधबार उच्च अदालतले सफाइ दिने निर्णय गरेको छ ।
न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्लाको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो । फैसलाको संक्षिप्त पाठअनुसार आलमलाई सफाइ दिन उच्चले मुख्य चारवटा आधार लिएको देखिन्छ ।
सफाइ दिन अदालतले आलमलाई महान्यायाधीवक्ताको कार्यालयलयले यसअघि मुद्दा चलाउन नपर्ने निर्णय गरेको तथा सर्वोच्च अदालतले गरेको परमादेश, विष्फोटमा घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह र ओशी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा ल्याइ पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको आधार देखाएको छ । यसैगरी उच्चले विधिविज्ञान परीक्षण प्रतिवेदनबाट समेत मृतकहरूको इट्टाभट्टामा पोलिएर मृत्यु भएको दाबी पुष्टि हुन नसकेको आधार देखाएको छ ।
२०६४ चैत २७ मा बम विष्फोट भएको भनिएकोमा त्यो आधार अनुसन्धानबाट पुष्टि हुन नसकेको उच्चको ठहर छ । संक्षिप्त पाठमा भनिएको छ, ‘बम विष्फोटको विषयमा जाहेरी परी अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरूको मृत्यु एकिन साथ पुष्टि हुन नसकेको भनी महान्यायाधीवक्ताको कार्यालयबाट मुद्दा नचलाउने निर्णय गरेको देखियो ।’
यसैगरी यस सम्बन्धमा सर्वोच्च अदालतबाट २०६५ असार २० मा भएको निर्णय बदर गरी पुनःप्रमाणित गरी प्रचलित कानुन बमोजिम गर्न गराउन २०६९ जेठ १६ गते परमादेश जारी भई २०७५ चैत ११ मा पुनः अनुसन्धान भएको देखिने पनि संक्षिप्त पाठमा उल्लेख गरिएको छ ।
यी आधार र कारण देखाउँदै उच्चले जिल्लाले गरेको सजाय नमिलेको देखिइ उल्टी भइ सफाइ पाउने फैसला गरेको हो ।