काठमाडौँ, नेपाली कांग्रेसले आसन्न १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरणको अन्तिम म्याद असार मसान्तसम्मलाई तोकेको छ । महामन्त्री गगनकुमार थापा संयोजकत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’को बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले असारभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको हो। यस अगाडी महामन्त्री थापाले गत चैत्र मसान्त सम्ममा क्रियाशील सदस्यता नबिकरण नभए पार्टी सदस्यता स्वत हट्ने बताउंदै आएको भएपनि अहिले आएर असार मसान्तसम्ममा सदस्यता नबिकरणको म्याद तोकेको छ।
नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको मिति अझै सम्म तोक्न सकेको छैन । तर, पार्टीका सबैजसो नेताहरूले भने महाधिवेशनको तयारी थालिसकेका छन् । ०७८ मा १४औँ महाधिवेशन गरेको कांग्रेसको नियमित ४ वर्षे कार्यकाल ०८३ मंसिर मसान्तमा सकिन्छ । उक्त अवधिमा महाधिवेशनको टुंगो नभए असाधारण अवस्था रहेको खण्डमा मात्रै थप १ वर्ष म्याद थप गर्न सकिने व्यवस्था विधानमा रहेको छ।
कांग्रेसको सांगठानिक अबस्थालाइ हेर्दा अहिलेकै अवस्थामा कांग्रेसले २०८३ मंसिरभित्र १५ औं महाधिवेशन गर्ने सम्भावना देखिन्दैना। तर त्यसपछि पाँचौँ वर्षमा समेत महाधिवेशन गर्ने वा नगर्ने भन्ने तय गर्न क्रियाशील सदस्यताको काम मुख्य रहन्छ । महाधिवेशनको मुखमा क्रियाशील सदस्यता विवादले महाधिवेशन प्रभावित हुनु कांग्रेसको पुरानै रोग हो। यसका साथै २०८४ को शुरुवातमा संसदीय निर्बाचन गर्नुपर्ने हुँदा त्यसले पनि काँग्रेसको महाधिबेशन प्रभावित हुने सम्भावना बढेको छ।
यसवर्ष १५औँ महाधिवेशनका लागि असारभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने गरी अन्तिम म्याद तोकिएको सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए । ‘हामीले साउन मसान्तका लागि अन्तिम म्याद तोकेका छौँ । धेरै जिल्लाको काम सम्पन्न हुने क्रममा छ,’ उनले भने, ‘असारसम्ममा विवाद भएका जिल्लाहरूसहित ७७ वटै जिल्लाको क्रियाशील सदस्यता नवीकरण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’ उनका अनुसार हाल करिब १० जिल्लामा सदस्यताको विवाद छ। त्यस्तो विवाद देखिएका जिल्लाहरूमा सिरहा, बारा, सर्लाही, खोटाङ, रुपन्देही, कपिलवस्तु लगायत जिल्ला छन् ।
त्यस्तै, समितिले पार्टीको अनुशासन समितिमा उजुरी परेर हालसम्म निर्णय भइनसकेका २१ सय उजुरीका सम्बन्धमा समेत अनुशासन समितिसँग छलफल गरी टुंगोमा पुग्ने निर्णय गरेको छ । ‘पार्टीको अनुशासन उल्लंघन गरेको भनेर २१ सय उजुरीहरू परेका छन् । तीमध्ये कसको सदस्यता नवीकरण गर्ने वा नगर्ने ? को कारबाहीमा परेका हुन् ? कसलाई आममाफी दिइएको हो? त्यसको समेत विवरण आएपछि मात्रै नवीकरणको टुंगो लगाउन सकिने अवस्था छ,’ उनले भने। उनले भने, ‘७७ जिल्ला र केन्द्रबाट पनि काम भइरहेको छ। कुन जिल्लामा अहिलेसम्म कति प्रतिशत भयो केन्द्रमा आएर टुंगो नलागिकन हुँदैन । हामीले प्राविधिक समस्यालाई मध्यनगर गरेर असार मसान्तलाई अन्तिम मिति तय गरेको छौं । असार मसान्तभित्र नभए अटो लक हुन्छ । जोसुकै केन्द्रीय नेताको छुटेपनि हुँदैन ।’
समितिले साउनदेखि भने महिला, दलित, मधेशी, आदिवासी जनजाति र थारूलगायत सीमान्तकृत समुदायको मतभारलाई आधार बनाएर नयाँ सदस्यता आह्वान गर्ने भएको छ । ‘असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरण सुरु गर्ने निर्णय बुधबार बसेको बैठकले गरेको छ,’ केन्द्रीय सदस्यसमेत रहेका स्नेहीले भने । महामन्त्री थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू प्रकाश स्नेही रसाइली, सीता गुरुङ र योगेन्द्र चौधरी सदस्य छन्।