Play

अख्तियारले नियन्त्रणमा लिएका भट्टराई बिहिबार उपस्थित हुने गरि छाडिए

गुरुकुल खबर


काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई बिहीबार बिहान उपस्थित हुनेगरी छाडिएको छ । मंगलबारमात्रै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका उनलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको थियो ।

बिहीबार बिहान कार्यालय समयमा उपस्थित हुनेगरी उहाँलाई छाडिएको अख्तियारका एक अनुसन्धान अधिकृतले बताएका छन  । अख्तियार स्रोतका अनुसार उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका आधारमा बुधबार छापा मारिएको थियो । छापा मारिएसँगै उनलाई अनुसन्धानका लागि अख्तियारले नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार उनले भिजिट भिसामा गडबडी गरेको गुनासो गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडीसम्म पटक पटक पुगेको थियो यसैगरी यसकिसिमको उजुरी अख्तियारमा समेत परेपछि भट्टराई सहित ९ जनालाई अख्तियारले नियन्त्रणमा लिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा व्यापक अनियमितता भएको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले बुधबार छापा मारी उनीहरूलाई पक्राउ गरेको बुझिएको छ।

भट्टराई विमानस्थलमा कार्यरत रहँदा भिजिट भिसामा दुबईलगायतका देश जान चाहने यात्रुहरूसँग अवैध रूपमा करोडौँ रुपैयाँ असुल गरेको आरोप लागेको छ। अख्तियारका अनुसार भट्टराईको कार्यकालमा अध्यागमन कार्यालय मार्फत हुने अनधिकृत रकम संकलनबारे ठोस सूचना प्राप्त भएपछि कारबाही अघि बढाइएको हो। छापाको क्रममा अख्तियारको टोलीले कागजात तथा कम्प्युटर उपकरण समेत जफत गरेको छ।

भट्टराईसँगै विमानस्थल अध्यागमनका अन्य ८ जना कर्मचारीलाई समेत हिरासतमा लिइएको छ। पक्राउ परेका मध्ये केहीलाई विमानस्थलमै, केहीलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूविरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरिएको अख्तियार स्रोतले जनाएको छ।

९ महिनाअघि अध्यागमन प्रमुखमा नियुक्त भएका भट्टराई यसअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक थिए। विमानस्थल जस्तो संवेदनशील तथा ‘मालदार’ अड्डामा नियुक्त भएपछि उनले अवैध रकम संकलनका गतिविधि तीव्र बनाएको गुनासोहरू बढ्दै गएका थिए। विमानस्थल अध्यागमन कार्यालयमा अनधिकृत रकम संकलनको पुरानो प्रवृत्ति रहँदै आएको छ। यसअघि पनि नायब सुब्बा र कम्प्युटर अपरेटरबीच पैसाको बाँडफाँटमा विवाद हुँदा सरुवा गरिएको घटना सार्वजनिक भइसकेको छ।

भट्टराईलाई हटाएर हाल पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका विष्णुप्रसाद कोइरालालाई अध्यागमन प्रमुखको रूपमा नियुक्त गरिएको छ। अख्तियारले पक्राउ परेकाहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक रूपमा उनीहरूमाथि भ्रष्टाचार, सार्वजनिक पदको दुरुपयोग र अवैध लाभ आर्जनजस्ता अभियोगहरू लाग्ने अनुमान गरिएको छ।

७ जेष्ठ २०८२, बुधबार २१:४६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : gurukulkhabar@gmail.com
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा