Play

अन्नपुर्ण म्याराथन प्रतियोगिताको तयारीमा तिब्रता, एक सय बढी स्वदेशी र बिदेशी धावकहरु सहभागी बन्ने

गुरुकुल खबर


पोखरा, अन्नपूर्ण आरोहण दिवसको सन्दर्भ पारेर अन्नपूर्ण हिमालको आधार शिबिरबाट शुरु भएर अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा आएर टुंगिने अन्नपूर्ण म्याराथन -२०८२ को तयारीलाई तिब्रता दिईएको छ । सात बर्ष अगाडी पर्यटनका लागि सबै मौसम भन्ने नाराका साथ  यस क्षेत्रको पर्यटन प्रबर्द्दनमा योगदान दिने र अन्नपूर्ण आधार शिबिर पदयात्रामार्ग पुर्वाधार बिकास निम्ति पहल गर्ने उद्धेश्यका साथ अन्नपुर्ण म्याराथन शुरु गरिएको हो ।

१९५० को जुन ३ का दिन फ्रान्सेली पर्बतारोही मौरिस हर्जोग सहितको टोलीले ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको दिन अर्थात आरोहण दिवसको सम्झनामा गरिन लागेकोले पनि अन्नपूर्ण म्याराथनलाई अन्तराष्ट्रिय इभेन्ट्सको रुपमा लिन थालिएको छ । म्याराथनमा बिदेशी धवाखारुको संख्या र आकर्षण समेत बढ्दै गएकोले पनि यसको महत्व अन्तराष्ट्रियस्तरमा बढ्दै गएको मान्न सकिन्छ।

म्याराथनको प्राबिधिक पक्षको जिम्मेवारी लिएका रिक्की योन्जनका अनुसार यस बर्ष २० जनाको हाराहारीमा बिदेशी धावकहरुको सहभागिता रहने अपेक्षा गरिएको छ। गत बर्ष स्वदेशी र बिदेशी गरि कुल ६० जनजाती धावक रहेकोमा यस बर्ष एक सयजतिको संख्यामा धावकहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । यस बर्षको लागि हालसम्म १० बिदेशी सहित ६० धावकले नाम दर्ता गराइसकेको र नाम दर्ता गर्ने क्रम जारी रहेकोले यस बर्ष १ सयको हाराहारीमा स्वदेशी र बिदेशी धावक सहभागी हुने अनुमान गरिएको छ। धावकहरुलाई जीपीएस सिस्टमबाट उनीहरुको लोकेसन ट्रयाक गर्ने ब्यबस्था गरिएको छ ।

बिदेशी धावकको आगमनसंगै विभिन्न अन्तराष्ट्रिय संचार माध्यमले समेत म्याराथन र अन्नपुर्ण हिमालको बारेमा विभिन्न स्टोरीहरु प्रकाशन प्रशारण गर्ने गरेको कारण पनि यस क्षेत्रको पर्यटन प्रबर्द्दनमा सहयोग पुगेको आयोजक संस्थाका अध्यक्ष ललित गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए।

यस बर्ष जेष्ठ २० गते अर्थात जुन ३ को दिन हुन लागेको अन्नपूर्ण म्याराथनको पाँचौ संस्करण पनि बिगतमा जस्तै ४ हजार १ सय ३० मिटर उचाईमा पर्ने अन्नपुर्ण आधार शिबिरबाट शुरु भएर माछापुच्छ्रे आधार शिबिर, बगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भानुवा, छोम्रोंग, तउलू, घुर्जुंग, चुईले, मेलांचे, किम्रोंग खोला र उरी हुँदै घान्द्रुकस्थित मेश्रम बराह माविको खेलमैदानमा पुगेर टुंगिने गरि म्याराथन रुट तय गरिएको छ।  म्याराथनको दुरी अन्तराष्ट्रिय मान्यता अनुसार ४२.१९५ किलोमिटर रहेको छ।

करिब चालिस लाख खर्च हुने अनुमान गरिएको म्याराथनको संचालनको लागि अन्नपूर्ण गाउँपालिका, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, अन्नपुर्ण संरक्षन क्षेत्र आयोजना, राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद लगायतका व्यक्ति र संस्थाबाट सहयोग प्राप्त हुने जानकारी अन्नपुर्ण म्याराथनका संयोजक ललित गुरुङले गुरुकुल खबरलाई दिएका छन ।

अन्नपूर्ण म्याराथन संचालन गर्ने लगायत त्यस क्षेत्रको समग्र विकास गर्ने लक्षका साथ अन्नपुर्ण सेन्चुरी पर्यटन विकास समिति पनि बनाइएको छ । २०७४ मा बनाइएको उक्त समितिले मुख्य गरि अन्नपुर्ण म्याराथन संचालनमा जोड दिंदै आएको छ। बिस. २०७५ र २०७६ मा म्याराथन गरेपछि कोभिड -१९ को विश्वब्यापी महामारी एबम अन्य कारणले २०७७, २०७८ र २०७९ मा भने उक्त म्याराथन हुन सकेन। तर, २०८० बाट पुन निरन्तरता दिन थालिएको म्याराथन यस वर्ष २०८२ मा पाँचौ संस्करणको रुपमा संचालन गरिन लागेको समितिका अध्यक्ष समेत रहेका गुरुंगले बताए।

यसै सन्दर्भमा जानकारी गराउने उद्धेश्यले शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा पाँचौं संस्करणको अन्नपूर्ण म्याराथन प्रतियोगिताको तयारी तिव्र पारिएको समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङले बताए । म्याराथन प्रतियोगिता जेष्ठ २० गते अर्थात जुन ३ को दिन हुने भएपनि जेष्ठ १५ गतेसम्म नाम दर्ता गरि जेष्ठ १८ मा म्याराथन शुरु हुने स्थान अन्नपुर्ण आधार शिविरमा सहभागीहरु पुगिसक्नुपर्ने उनले बताए ।

विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटर भन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण दिवस” का रूपमा मनाउन लागिएकोले यसको छुट्टै ऐतिहासिक महत्व रहेको संयोजक गुरुङले बताए । पत्रकार भेटघाटमा संयोजक गुरुङ सहित प्रचार संयोजक टंकराज अधिकारी, आयोजक समितिका सचिब मिकास गुरुङ र प्राबिधिक पक्ष हेर्ने रिक्की योन्जनले बिबिध बिषयमा जानकारी दिएका थिए ।

म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले दोस्रोको उपाधी डोटीका खगेन्द्रबहादुर भाटले, तेस्रो संस्करणको उपाधि जुम्लाका धीरबहादुर बुढा र महिला तर्फ गणना भण्डारीले जितेका थिए भने चौथो संस्करणको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठ र महिलातर्फ खोटांगकी निर्मला राईले प्राप्त गरेकी थिइन।

महिला तथा पुरुष दुबै तर्फका लागि हुने म्याराथनमा पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमश नगद १ लाख ५० हजार, १ लाख र ७५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन । विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरुप विशेष पुरस्काको ब्यवस्था गरिएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ७ हजार तोकिएको छ । अन्नपूर्ण गाउँपालिका बाट सहभागि हुनेहरु मध्ये प्रथमहुनेलाई विशेष पुरस्कार, गण्डकी प्रदेश भित्रबाट सहभागी भएर प्रथम हुनेलाई पनि बिशेष पुरस्कार, महिलातर्फ निरन्तर ३ पटकसम्म सहभागी हुने धावकलाई विशेष पुरस्कार, विदेशी धावक (महिला तथा पुरुष) प्रथमलाई विशेष पुरस्कार र ७५ औं स्थान प्राप्त गर्ने धावकलाई डायमण्ड जुब्ली अवार्ड दिईने भएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईयो ।

प्रतियोगिता सम्पन्न गर्न ललित गुरुङ संयोजक, भुवनेश्वर गुरुङ र क्षेत्रबहादुर गुरुङ सहसंयोजक,  दिलिप गुरुङ महासचिब, मिकास गुरुङ सचिब र दिपक गुरुङ कोषाध्यक्ष रहेको ५ सय १ सदस्यीय मूल समिति र विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ। जस अनुसार प्रचार प्रसारमा टंकराज अधिकारी, अर्थसंकलनमा दिपक गुरुङ, चित्रकला संयोजनमा लक्षिन गुरुङ, सामाजिक संघसंस्था संयोजनमा अमरप्रसाद गुरुङ, ब्यानर ब्यबस्थापनमा श्याम गुरुङ, युवा परिचालनमा कृष्ण गुरुंगलाई संयोजक राखिएको छ ।

यसैगरी आमा समूह परिचालनमा कमला गुरुङ, मंच ब्यबस्थापनमा सन्तोष क्षेत्री, भोजन ब्यबस्थापनमा शिब प्रसाद, आवाश ब्यबस्थापनमा माया पुन थापा, यातायात ब्यबस्थापनमा बिक्रम गुरुङ, सुरक्षा ब्यबस्थापनमा प्रेम गुरुंग, अनुगमन / मूल्यांकनमा अन्नपुर्ण गाउँपालिका वडा न. १० र ११ का वडाध्यक्षहरु हिमबहादुर गुरुङ र गौतम गुरुङ एबम स्वास्थ्य उपसमितिमा घान्द्रुक स्वास्थ्यचौकीलाई जिम्मेवारी दिईएको छ।

३ जेष्ठ २०८२, शनिबार ०७:४६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा