काठमाडौँ, यस बर्षको वसन्तकालीन सिजनमा सगरमाथा हिमाल आरोहणका लागि नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मालाई पर्यटन विभागले अनुमती दिएको छ । विभागका निर्देशक लिलाधर अवस्थीका अनुसार पर्यटन विभागले नेता शर्मासहित दुई जनालाई सगरमाथा आरोहणको अनुमति दिएको हो ।
‘यसपटकको वसन्तकालीन सगरमाथा आरोहण सिजनका लागि नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मासहित दुई जनालाई आरोहण अनुमति जारी भएको छ,’ विभागका सूचना अधिकारीसमेत रहेका अवस्थीले संचारकर्मीसंग भने,‘काठमाडौंमा रहेको सेभेन समिट ट्रेक्स कम्पनीले लिएको अनुमतिमा फुर्वा शेर्पा टोली नेता छन् ।’ दुवै जनाको तर्फबाट जनही ७५ हजार रुपैयाँका दरमा १ लाख ७५ हजार रुपैयाँ सलामी दस्तुर समेत बुझाइएको छ ।
नेता शर्मा भने यतिबेला सगरमाथा आधार शिविरमा छन् । उनी १० दिनअघि काठमाडौंबाट हिँडेका थिए । यी दुई सदस्यीय आरोहण दलका लागि सम्पर्क अधिकृतमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रशासकीय अधिकृत नवराज गौतमलाई लियाजन अफिसर (सर्म्पक अधिकृत) तोकिएको छ । नेता शर्मालाई सेभेन समिटले २७ लाख रुपैयाँ आरोहण शुल्क लिई सगरमाथा आरोहण गराउन लागेको जनाएको छ । ‘कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई सेभेन समिटले २७ लाख रुपैयाँमा सगरमाथा आरोहण गराउन लागेको हो’, सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले भने,‘उहाँले आधा भन्दा बढी पैसा बुझाइसक्नु भयो, केहि बाँकी छ ।’
यसैबीच बिहीबारसम्म सगरमाथामा ५५ जना आरोहीले सफलतापूर्वक आरोहण गरेको विभागले जनाएको छ । सगरमाथा आरोहणका क्रममा थप एक विदेशी आरोहीको निधन भएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार, फिलिपीनी नागरिक ४५ वर्षीय फिलिप सान्टियागोको बुधबार राति सगरमाथाको चौथो शिविरमा निधन भएको हो । उनी काठमाडौंको स्नोयी होराइजन ट्रेक्स प्रालिबाट सगरमाथा आरोहण गर्न गएका थिए ।
सगरमाथामा बुधबारसम्म ४६ वटा आरोहण दलका ४ महिला र ३ सय ७४ पुरुष गरी ४ सय ५ जना स्वदेशी एबम विदेशीलाई विभागले अनुमति दिएको छ । यसपटक सगरमाथासहित २७ वटा हिमाल आरोहणका लागि बुधबारसम्म २ सय ४४ महिला र ८ सय ९६ पुरुष गरी १ हजार १ सय ४० जनाले अनुमति पाएका छन् । यस्मा नेपालसहित ७३ वटा देशका नागरिक छन् । सगरमाथा आरोहणमा मात्रै नेपालसहित ५७ वटा देशका नागरिक यतिबेला आधार शिविरमा छन् ।
यसैबीच नेपाली काँग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आँफु सगरमाथा चढ्न लागेको भन्दै केहि मिडियामा समाचार आएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्
उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेको कुरा जस्ताको त्यस्तै ..
विश्वप्रकाश सगरमाथा चढ्दै´ भनी लेखिएका समाचारहरुबारे आदरणीय पत्रकार मित्रहरूलाई थोरै स्पष्ट गर्न चाहन्छु र आभारी हुनेछु यतिबेला केवल तपाईंको शुभकामनाप्रती
१) यसपालि सेमिफाइनल सम्म अर्थात सगरमाथा बेसक्याम्प सम्म, भनेरै हिँडेको थिएँ काठमाडौबाट त्यहाँ म पुगिसकें, सेमिफाइनल पूरा भएको छ
२) अहिले म `फाइनल´ अर्थात सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु l ६ हजार १ सय ४५ मिटरउचाइको लोबुचे हिमाल आरोहण गरिसकेको हुँदा, सगरमाथा चढ्न पाउने मापदण्डमा म पर्छु र त्यही मापदण्ड बमोजिमको अनुमति पत्र पनि म सँग छ l त्यसैले अहिल्यै / आजै चढ्न लागे कि भन्ने लागेर कसैले लेख्नु अन्यथा पनि होइन
३) तर सगरमाथा आरोहण गर्न सोही अनुरुपको जरुरी प्रशिक्षण र समय चाहिन्छ l सामान्यतया आरोहीलाई ४२ दिनको प्याकेज बनाउने गरिन्छ र प्राय मे महिनाको 29 तारिख ( जेठ १५/१६ तिर) अर्थात `सगरमाथा दिवस´ का दिन आरोहण प्राय क्लोज गरिन्छ l यद्यपि शिखर नजिक पुगेकाहरुले त्यसको केहिदिनसम्म पनि आरोहण गर्न पाउँछन् नै
४) म भर्खर केहिदिन यता मात्र बेसक्याम्प पुगेको हुँदा, न समय पर्याप्त पुगेको छ, न म सँग सगरमाथा आरोहणका लागि जरुरी प्रशिक्षण छ l तर प्रशिक्षण लिँदै चाहिँ छु l आखिर यो प्रशिक्षण फाइनल भिड्नै परेका बेला त काम लाग्छ नै l अथवा लोबुचे हिमाल भन्दा थोरै माथी पुग्न पनि त यो प्रशिक्षणले सघाउला l हो, त्यति चैं हुनसक्छ
अहिलेलाई यत्तिमात्र भनौं- सगरमाथा बेसक्याम्प पुग्दैमा सगरमाथा पुगिन्न l इच्छाएका कुरा हासिल गर्न सो बमोजिमको योग्यता पनि हुनुपर्छ, अहिलेनै म सँग त्यसका लागि पर्याप्त योग्यता छैन l आभारी हुनेछु यतिबेला तपाईंको केवल शुभकामना प्रती