पोखरा, पृथ्वीनारायण क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियनमा रहेका जिम्मेवार बिद्यार्थीहरुले राजनीतिक प्रतिशोध साध्ने काम गर्न थालेको आरोप लागेको छ । स्ववियुका केही नेताहरुको पछिल्ला गतिविधिहरुका कारण उनीहरुसंग फरक बिचार वा मत राख्ने क्याम्पसको विभिन्न जिम्मेवारीमा रहेका प्राध्यापक तथा कर्मचारीहरु समेत बोल्न नसक्ने अबस्थामा पुगेको बताईन्छ ।
पृथ्वीनारायण क्याम्पसमा अध्यापनरत उपप्राध्यापक देविलाल शर्मा तिमिल्सिना माथि स्वतन्त्र विद्यार्थी युनियनमा केहि महिना अगाडी निर्बाचित बिद्यार्थीहरुले गुन्डागर्दी शैली प्रदर्शन गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा नै कुटपिट गरेको एक प्राध्यापकले गुरुकुल खबरलाई जानकारी दिए। उक्त घटनाको सिसिटिभी फुटेज समेत बाहिरिएको बताइएको छ । व्यवस्थापन अनुसन्धान विभागका प्रमुख समेत रहेका उपप्राध्यापक शर्मामाथि वैशाख ३० गते मंगलबारका दिन दिउँसो स्ववियुका सचिव विराट दुवाडीको नेतृत्वमा गएको टोलीले हातपात गर्नुको साथै विभिन्न किसिमको धम्कि दिएको बुझिएको छ ।
क्याम्पसका बिद्यार्थीहरु लिएर शैक्षिक भ्रमणमा गएका बेला सिन्धुलीमा बस बिग्रिएर रोकिनुपरेको र सोहि समयमा उपप्राध्यापक शर्माले मादक पदार्थ सेवन गरी एकजना बिद्यार्थी अमन परियारलाई जातीय विभेद हुने किसिमले अपशब्द प्रयोग गरेको आरोप लागेको थियो उक्त आरोप लागेपछि शर्मालाई क्याम्पस प्रशासनले कारबाही समेत गरिसकेको छ । सोहि बिषयमा उत्पन्न बिबादलाई टुंगो लगाउन क्याम्पस प्रमुखको कार्यकक्षमा भएको छलफलमा शर्मामाथि स्ववियुको नेतासमेत रहेका बिद्यार्थीहरुले कुटपिट गरेको घटना पछि यो बिषयले अझ चर्चा पाएको छ। सोहि कारण यो विषय क्याम्पस भित्रमात्र सिमित नरही प्रहरी प्रशासन समक्ष समेत पुग्ने प्रक्रियामा रहेको छ ।
उपप्राध्यापक शर्माले जातीय विभेद हुनेगरी बोलेको आरोप लागेपछि उनीमाथि क्याम्पस प्रशासनले समेत कारबाही गरेर व्यवस्थापन अनुसन्धान विभागको प्रमुख पदबाट हटाइसकेको छ। यसबाहेक कानुनी हिसाबले कारबाही गर्ने बिकल्पलाई छोडेर क्याम्पस प्रमुखकै कार्यकक्षमा छलफलमा बसेको बेला प्राध्यापकमाथि कुटपिट गरिएको घटनाले क्याम्पसका अन्य प्राध्यापक एबम कर्मचारीले समेत असुरक्षित महशुस गर्न लागेको प्रजातन्त्रबादी प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका पूर्व अध्यक्ष दिपेन्द्र पराजुलीले गुरुकुल खबरलाई बताए।
जातीय विभेदजन्य शब्दहरू र अश्लिल शब्द प्रयोग गरेर गालीगलौज गरेको भए सोहि अनुसारको कारबाही गरे हुनेमा नेकपा एमाले सम्बद्ध बिद्यार्थीहरु हातपातमा उत्रिएको घटनापछी बिहिबार क्याम्पसका प्रजातन्त्रबादी प्राध्यापकहरु छलफलमा समेत जुटेका छन। कसैले कुनै गल्ति वा अपराध गरेको छ भने कानुन अनुसार कारबाही गर्नुपर्नेमा मुड्कीको भरमा राजनीतिक प्रतिशोध लिन खोज्नुलाई राम्रो मान्न नसकिने भन्दै पराजुलीले उपप्राध्यापक शर्मामाथि पनि राजनीतिक रुपमा प्रतिशोध साध्ने प्रयास भएको बताए ।
उपप्राध्यापक शर्मामाथि हातपात गर्ने स्ववियुका सचिव दुवाडी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु पृथ्वीनाराय क्याम्पस कमिटी पोखराका संयोजक समेत हुन भने अनेरास्ववियुले विवाद मिलाउने नाममा राजनीतिक प्रतिशोध स्वरूप हातपात गरिएका शर्मा नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ पिन क्याम्पसका ईकाईका सभापति एबम पूर्व सहायक क्याम्पस प्रमुख समेत हुन् ।
यसअगाडी पिएन क्याम्पसमा एमबिए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अमन परियारलाई उपप्राध्यापक डा. शर्माले अपमानजनक शब्द प्रयोग गरेको आरोप लागेपछि सोही विषयमा क्याम्पस प्रमुखको कार्यकक्षमा छलफल चलिरहेको थियो । छलफलका क्रममा उपप्राध्यापक डा.शर्मालाई स्ववियु सचिव विराट दुवाडी, स्ववियु सदस्य सुशिल अधिकारी, अनेरास्ववियुका बिक्रम क्षेत्री र विद्यार्थी अमृत विक लगायतको टोलीले कुटपिट गरेको बुझिएको छ ।
उपप्राध्यापक शर्माले गल्ति गरेको भए कानुनी वा अन्य प्रक्रियामा गएर स्ववियुका जिम्मेवार नेताले बिबाद मिलाउन तथा कारबाही गराउन सक्ने थिए । तर एक्कासी कुटपिटमा उत्रिएपछि आफ्नो गल्ति ढाकछोप गर्नको लागि क्याम्पसको स्ववियु लगायत अन्य संगठनले पनि जातीय विभेदको विषयमा केन्द्रित रहेर विज्ञप्ति जारी गर्नुपरेको बुझिएको छ। स्ववियुले शर्मामाथि हातपात हुनु अगाडी नै बिद्यार्थी अमन परियार माथि जातीय विभेद भएको भनेर बिज्ञप्ती जारी नगरेको तर शर्मा माथि हातपात गरेपछि मात्र जातीय विभेदको विषयमा बिज्ञप्ती जारी गरेको कारण पनि राजनीतिक प्रतिशोध साध्न खोजेको निचोडमा कांग्रेस सम्बद्ध प्रजातन्त्रबादी प्राध्यापक पुगेको बताईन्छ।
केहि महिना अगाडी नियुक्त क्याम्पस प्रमुख डा. हरी पाठकले पनि क्याम्पस प्रमुखको पदबाट केहि दिन अगाडी राजिनामा दिईसकेको चर्चा छ। यद्यपी उनको राजिनामा स्वीकृत भने भैसकेको छैन । क्याम्पस प्रमुख पाठकले आफ्नो व्यक्तिगत एबम पारिबारिक कारण देखाएर राजिनामा पेश गरेको बुझिएपनि उनको राजिनामाको पछाडी एमाले पक्षधर प्राध्यापक एबम बिद्यार्थीहरुको अनाबश्यक दवाब नै प्रमुख कारण रहेको अनुमान समेत गरिएको छ।
क्याम्पसका उपप्राध्यापक शर्मामाथि हातपात भएको विषयमा स्ववियुका सचिव दुवाडीले आफूले मिलाउन खोज्दा खोज्दैं माहोल चर्किएको, अलि अलि धकेलाधकेल सबै पक्षबाट भएको र बाहिर हात हालाहाल गरेको भनेर राजनीतिकरण गर्न खोजिएको भन्ने प्रतिक्रिया संचारकर्मीलाई दिएका छन । यसैगरी उपप्राध्यापक डा. शर्मामाथि आक्रमण गरेको आरोप लागेका अर्का स्ववियु सदस्य सुशिल अधिकारीले भने–‘हामीले कुटपिट गरेका छैंनौं, त्यहीं नैं हो । धकेला धुकुल भएको हो । हामी मिलाउन गएको हो।’त्यसैगरी, आक्रमणमा संलग्न अर्का विद्यार्थी अमृत विकले जेलमा जान परे पनि छाति थापेर जाने र समुदायका लागि आफू लडेको बताए ।
केहि बिद्यार्थीहरुले जातीय विभेद हुने शब्द प्रयोग गरेको कारण उपप्राध्यापक शर्मालाई कानुनी कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा उजुरी दिने तयारीमा गरेका छन। शर्माले जातीय विभेद हुनेगरी अपशब्द प्रयोग गरेको बिषयका कारण प्रहरीमा उजुरी दिने तयारी गरेको चर्चासंगै उपप्राध्यापक शर्माका निकतस्थहरुले पनि उनिमाथि हातपात गर्नेहरु बिरुद्ध कारबाही गर्न प्रहरीमा उजुरी दिने तयारी गरेको बुझिएको छ ।
उक्त घटना पछि उपप्राध्यापक शर्मा आफ्नो मोबाइल स्विच अफ गरेर बसेको कारण उनिसंग सम्पर्क गर्न चाहनेहरुले समेत सम्पर्क गर्न नसकेको उनी निकटका एक प्राध्यापकले बताए ।