Play

एमालेको युवासंघ: दुई गुटबीच झडप हुँदा केहि घाइते, आक्रमण गर्नेलाई कारबाही गर्न प्रदेश समितिको माग

गुरुकुल खबर


पोखरा, नेकपा एमालेको युवा संगठन युवा संघ पर्वतको भेलामा दुई गुटबीच विवादपछि भएको कुटाकुटका कारण एमाले प्रदेश समिति सदस्य एवम् युवा संघका पूर्व नेता अर्जुन निर्जन पौडेल सहितका नेता घाइते भएका छन। पर्बत जिल्ला पार्टी कार्यालयमा भएको भेलाका क्रममा दुई पक्षबीच विवाद हुँदा उनीहरुबीच कुटाकुट भएको हो ।

दुई पक्षबीच भएको झडपमा परी एमाले प्रदेश समिति सदस्य पौडेलसहितका केहि नेता घाइते भएका छन्। पौडेलको टाउकोमा ७ टाँका लगाइएको छभने अन्यमाथि पनि सामान्य हातपात भएको छ ।

राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुँदैछ । त्योभन्दा अगाडि नै जिल्ला कमिटी तथा प्रतिनिधि छनोट गर्नुपर्ने भएका कारण केन्द्रकै निर्देशनमा आयोजक कमिटी गठन गर्ने भन्दै भेला डाकिएको थियो । सोहि अनुरुप युवा संघ पर्वतको नवौँ जिल्ला अधिवेशनको मिति बुधबारलाई तोकिएको थियो ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ पर्वतमा एमालेका दुई गुट छन् । एउटा समूहलाई राष्ट्रियसभाका पूर्वाध्यक्ष गणेश तिमिल्सिनासहित पूर्व प्रदेश सांसद विकास लम्सालसहितले चलाउँछन्। अर्को समूहलाई एमाले संस्थापन र प्रतिनिधिसभा सदस्य पदम गिरीको समर्थन छ। यी दुई समूहको विवाद हात हालाहालको अवस्थामा पुगेको हो ।

एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन एउटा समूह रोक्ने पक्षमा थियो भने एउटा समूह जसरी पनि गर्ने अडानमा थियो। घाइते भएका पूर्व केन्द्रीय सदस्य पौडेल, युवा संघ पर्वतका जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकाली अधिबेशन रोक्नुपर्छ भन्ने पक्षमा थिए। उनीहरूले वैशाख महिनामा अधिवेशन गर्न नसकिने भएकाले जेठमा सार्न आग्रह गरेका थिए ।

पौडेल पक्षले पार्टी पदाधिकारीमाथि हातपात गर्न थालेपछि झडपको स्थिति भएको इतर पक्षको दाबी छ। एमाले पर्वतका अध्यक्ष गोविन्द गिरीले आफूमाथि आक्रमण हुँदा असमझदारी उत्पन्न भएको दाबी गरे। केन्द्रीय सचिव एवम् प्रदेश इञ्चार्ज पर्वत भण्डारीले अधिवेशन नभइ विस्तारित भेला भएको बताए। ‘अधिवेशन होइन, विस्तारित भेला हो। केही साथीहरुको सामान्य असमझदारी सिर्जना भएपछि आयोजक कमिटि बनाऔं भनेर भेला बेलाएका हौं,’ उनले भने, ‘केही भएको छैन। साथीहरुको सामान्य असमझदारी भएको हो।’

चैत १५ भित्र अधिवेशन गर्न नसकेको शाखाहरुमा जिल्ला अध्यक्ष स्वतः संयोजक हुने र अधिवेशन गर्ने गरी केन्द्रबाटै निर्णय भएको भण्डारीले दाबी गरेका छन्। आयोजक कमिटी बनाउने योजनासहित कार्यक्रम भइरहेको भए पनि युवा संघ जिल्ला अध्यक्ष विनोद थापाले बहिस्कार नै गरेका छन्। तर, भण्डारीले भने जिल्ला अध्यक्ष थापा सम्पर्कमा नै नरहेको बताउँछन् ।

तर, वर्तमान कार्यसमितिका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीले वैशाख महिनामा अधिवेशन गर्न नसकिने भएकाले जेठमा सार्न आग्रह गरेका थिए। अध्यक्ष थापा र सचिव थकालीले जेठ ९ देखि ११ गतेसम्म प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गर्नेलगायतका कामहरू नसकिएकाले केही समय सार्नुपर्ने बताएका थिए । अध्यक्ष र सचिवले आगामी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा पार्टीले जबरजस्ती २४ गते अधिवेशन गरे त्यसको प्रतिवाद गर्ने बताएका थिए ।

यसैबीच नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले पर्वतमा आफ्नै पार्टी कार्यालयभित्र प्रदेश कमिटी सदस्य अर्जुन पौडेलमाथि भएको भौतिक आक्रमणप्रति घोर निन्दा र भर्त्सना गरेको छ।

गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक विषयमा छलफल भइरहेका बेला पौडेलमाथि गरिएको सांघातिक आक्रमण अराजक, अलोकतान्त्रिक र निन्दनीय भएको बताएका छन्। पर्वत जिल्ला पार्टी कार्यालयमा राष्ट्रिय युवा संघ नेपालको जिल्ला अधिवेशन तत्काल गर्ने कि पछि सार्ने भन्ने विषयमा विवाद चर्किएपछि आन्तरिक छलफल तनावपूर्ण बनेको थियो।

पार्टी जिल्ला अध्यक्ष गोविन्द पहाडी लगायत नेताहरूको उपस्थितिमा भएको छलफलले उग्र रुप लिँदै पौडेलमाथि कुटपिट भएको प्रदेश कमिटीले जनाएको छ। विज्ञप्तिमा घाइते नेता पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ। “समस्यालाई शान्तिपूर्ण र विधिसम्मत ढंगले समाधान गर्नुपर्नेमा हिंसाको बाटो अपनाइनु अत्यन्त दुखद र आपत्तिजनक छ,” विज्ञप्तिमा उल्लेख छ। प्रदेश कमिटीले यस्तो अराजक गतिविधिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पार्दै पार्टी अनुशासन र मर्यादा पालना गर्न सबैमा अपिल गरेको छ।

२४ बैशाख २०८२, बुधबार २०:५३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा