Play

कक्षा १२ को परीक्षाआइतबार: ५ लाख बढी परिक्षार्थी, परिक्षाहलमा मोबाइल भेटिए परीक्षा रद्ध हुने

मनांगबाट ४५ जना र काठमाडौँबाट ६८ हजार १ सय ३३ परिक्षार्थी सहभागी हुँदै


गुरुकुल खबर


काठमाडौँ,  शिक्षकहरुको आन्दोलनका कारण स्थगित भएको कक्षा १२ को परीक्षा देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि सञ्चालन हुँदै छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी हुँदै छन् । यसपटक परीक्षामा कडाई गरिने भएको छ परिक्षार्थीले परीक्षा हलमा  मोबाइल लग्न पाइने छैन, यदि मोबाइल लगेको भेटिएमा बिद्यार्थीको परीक्षा रद्ध हुने बताइएको छ ।

५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीको केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थी छन् । मनाङ/मुस्ताङमा १/१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।

जेठ २ सम्म सञ्चालन हुने परीक्षामा ४८ हजार २ सय ९ जना जनशक्ति खटिनेछन् । नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौंकेन्द्रित सडक आन्दोलनले वैशाख ११ देखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन अपिल गरेका छन् ।

कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८ सय ८८ र बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २ सय ४० परीक्षार्थी सहभागी हुँदै छन् । बोर्डका अनुसार कोशीबाट ८२ हजार ८ सय ७१, मधेशबाट ६९ हजार ८ सय ८, गण्डकीबाट ४३ हजार ३ सय ४९, लुम्बिनीबाट ९० हजार ६ सय ७८ र सुदूरपश्चिमबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी सहभागी हुँदै छन् ।

परीक्षाको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ । समितिले परीक्षा अनुगमन तथा पर्यवेक्षणको काम गर्नेछ । परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्ष बाहेकलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान बोर्डले रोक लगाएको छ । परीक्षा केन्द्रहरुमा विद्युतीय माध्यमबाट प्रश्नपत्र पठाइने व्यवस्था गरिएको शर्माले बताए ।

कोभिड महामारीदेखि नै अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरेको बोर्डले त्यसलाई निरन्तरता दिँदै आएको छ । परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअगाडि उपलब्ध हुने प्रश्नपत्र केन्द्राध्यक्षले ‘युजर आईडी’बाट डाउनलोड गर्ने व्यवस्था मिलाइएको छ । केन्द्राध्यक्षसहित सहायक केन्द्राध्यक्ष, केन्द्रमा खटिने प्रहरी प्रमुखको रोहबरमा मात्र प्रश्नपत्र डाउनलोड र छपाइ गर्नुपर्नेछ ।

बोर्डले केन्द्र निर्धारण, केन्द्राध्यक्ष गोष्ठी, जिल्ला सुरक्षा निकायसँग अन्तरक्रिया, गोप्य सामग्री व्यवस्थापन, अनुगमन निरीक्षणलगायत परीक्षापूर्व गर्नुपर्ने तयारी पूरा गरेको जनाएको छ । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजा प्रकाशनमा ननग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ ।

शिक्षक आन्दोलनका कारण रोकिएको एसईईको उत्तरपुस्तिका परीक्षणको काम पनि सुरु भएको बोर्डले जनाएको छ । चैत्र १८ गते सकिएको उत्तरपुस्तिका परीक्षणमा शिक्षक सहभागी नहुँदा झन्डै ३ साता ढिलाइ भएको छ । बोर्डले असार पहिलो साता एसईईको नतिजा सार्वजनिक गर्ने कार्यतालिका रहे पनि केहि साता ढिलाइ हुने अनुमान गरिएको छ ।

२० बैशाख २०८२, शनिबार २१:०० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा