पोखरा, पोखरामा संचालनमा रहेको नेपाल मणिपाल कलेजमा अध्ययनरत बिद्यार्थी एबम त्यहा कार्यरत डाक्टर र नर्सहरुलाई रिफ्रेश गराउने लक्षका साथ गत चैत्र १६ गतेदेखि संचालन भैरहेको ‘एक्सप्रेसन-२०२५’ कार्यक्रम शुक्रबार सकिएको छ। कलेजमा अध्ययनरत करिब आठ सय विद्यार्थी सहित डाक्टर तथा नर्सलाई ‘रिफ्रेस’ गराउनका लागि गरिएको उक्त कार्यक्रम आयोजना गरिएको हो। सोहि कार्यक्रमको अबसरमा पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो।
उक्त कार्यक्रम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा. श्रीकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। त्यस अबसरमा बोल्दै डा. श्रेष्ठले विद्यार्थी, शिक्षकहरुलाई वर्षभरीको कामको तनाव कम गर्न र पुनर्ताजगीका लागि यसप्रकारको कार्यक्रम महत्वपुर्ण हुने बताए । मणिपाल कलेजका विद्यार्थीहरुले एक्सप्रेसन कार्यक्रममा देखाएको सक्रियताको डा. श्रेष्ठले प्रशंसा गरे ।
कार्यक्रम अवधिभर चिकित्सा विज्ञानमा अध्ययन गरिरहेका तथा दैनिक बिरामी चेकजाँचमा व्यस्त रहेका डाक्टर, नर्सलाई ‘रिफ्रेस’ गराउन कलेज परिसरकै सभाहल, फुटबल तथा बास्केटबल मैदानमा विभिन्न प्रतियोगिताहरु भएको थियो । जसमा म्याराथन, क्रिकेट, बास्केटबल, फुटबल, टग अफ वार तथा फाईन आर्ट लगायतका खेलकुद समेटिएका थिए ।
मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले विभिन्न प्रतियोगीताहरुमा सहभागी भई विजयी भएका विद्यार्थीहरु लाई बधाई दिए । साथै उनले प्रतियोगीतामा बिजय प्राप्त गर्न नसकेका विद्यार्थीहरुलाई हारबाट अर्को चुनौती सामना गर्न सहज हुने बताए ।
कार्यक्रममा एमबिबिएसका विद्यार्थी, इन्टर्नसिप र नर्सिङ पढिरहेका विद्यार्थीहरूको सहभागिता रहेको थियो । समापन समारोहमा स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक तथा सर्जरी डिपार्टमेन्टका प्रमुख प्राध्यापक डा. प्रदीप घिमिरेले पठनपाठन र अस्पतालबाट प्रवाह हुने सेवामा कुनै असर नपर्ने गरी कार्यक्रमहरू सम्पन्न गरिएको जानकारी गराए । कार्यक्रममा अस्पताल, विद्यार्थी, डाक्टर तथा नर्स लगायत सहयोगीहरुलाई धन्यवाद दिदै सबैको साथ र सहयोगबिना कार्यक्रम सफल बन्न नसक्ने उल्लेख गरे ।
मणिपाल कलेज अफ मेडिकल साइन्समा विगतका वर्षदेखि नै सैद्धान्तिक ज्ञानमात्र नभई विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्यले यो कार्यक्रम हुँदै आएको छ । यसअघि एक्सप्रेसन २०२५ कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दु कुमार थापाले गत चैत्रमा उद्घाटन गरेका थिए ।