Play

कोटीहोमको प्रचारका लागि मोटरसाइकल, कार र साइकल र्याली सम्पन्न, मंगलवार ११ हजार कलश सहितको यात्रा हुने

गुरुकुल खबर


पोखरा, बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा मोटरसाइकल र्याली,  ट्याक्सी र्‍याली र साइकल र्याली सम्पन्न गरिएको छ । ति सबै र्‍यालीमा उल्लेखनीय सर्बसाधारणको सहभागिता रहेको थियो।

शनिबार आयोजित मोटरसाइकल र्यालीको शुभारम्भ पस्चिमान्चल अटो मोबाइल डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष एबम होन्डा मोटरसाइकलको अधिकृत बिक्रेता कुँवर एण्ड ब्रदर्सका संचालक चन्द्र कुँवरले गरेका थिए भने शुक्रबार आयोजित ट्याक्सी र कार र्यालीको शुभारम्भ पृथ्वीराजमार्ग यातायात ब्यबसायी कम्पनीका अध्यक्ष योगेन्द्र केसीले गरेका थिए। यसैगरी बिहिबार आयोजित साइकल र्यालीको शुभारम्भ साइकल सिटि पोखराका सदस्य समेत रहेका लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ एलका सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर तेजनारायण पराजुलीले गरेका थिए।

र्‍यालीमा सहभागी साइकल, मोटरसाइकल र ट्याक्सी चालकहरूले महायज्ञको सन्देश लेखिएका ब्यानर र प्लेकार्डहरू बोकेका थिए। स्थानीय बासिन्दा र दर्शकहरूले र्‍यालीलाई उत्साहपूर्वक स्वागत गरेका थिए। र्‍यालीका क्रममा पोखराको सडकमा धार्मिक भजन र सन्देशमूलक नाराहरू पनि गुञ्जिएका थिए।

तिनदिन सम्म आयोजना गरिएको उल्लिखित छुट्टाछुट्टै र्याली पोखरा – १७ बिरौटास्थित कोटिहोम स्थलबाट बिहान गरेर पोखराका विभिन्न भागको परिक्रमा गरि पुन महायज्ञस्थलमा पुगेर समापन गरिएको थियो। र्यालीका शुभारम्भका अबसरमा प्रमुख अतिथि बनेका पराजुली, केसी र कुँवरलाई महायज्ञ आयोजकहरुले माला र खादा लगाएर सम्मान गरेका थिए।

र्याली समापनका अबसरमा बोल्दै महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्‍यालीले पोखरावासी माझ महायज्ञको सन्देश पुर्‍याउनुका साथै सामाजिक एकता र धार्मिक जागरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। “यो र्‍यालीले पोखरेली जनतामा धार्मिक र सामाजिक सद्भावको भावना जागृत गरेको छ। हामी सबैको सहयोगले महायज्ञलाई भव्य र सभ्य बनाउनेछौं,” उनको भनाई थियो ।

पोखरावासीमा धार्मिक जागरण र सामाजिक एकताको सन्देश प्रवाह गर्न कोटीहोम महायज्ञ सफल बन्ने बिश्वास ब्यक्त गर्दै पोखरेली जनताको  उत्साहजनक सहभागिताले थप प्रेरणा मिलेको महायज्ञ संकल्पकर्ता बिजय कृष्ण मुर्तीले बताए ।

मानवसेवा फाउण्डेशनले महायज्ञको प्रचारका लागि अन्य कार्यक्रमहरूको समेत आयोजना गरेको जनाएको छ। फाउण्डेशनका अनुसार  बैशाख १६ गते बृहत् कशलयात्रा आयोजना गरिएको छ। पोखराको शान्तिघाट, सिद्देश्वर हरिहर मन्दिर क्षेत्र र बगरको गाईघाट क्षेत्रबाट कलश यात्रा शुरु गरिने भएको छ ११ हजार कलश बोकेर बजारको विभिन्न स्थान परिक्रमा गरि महायज्ञ स्थल बिरौटामा यात्रा टुंगिने कार्यक्रम तय गरिएको छ।

१३ बैशाख २०८२, शनिबार १९:१२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा