पोखरा, पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञानमहायज्ञको प्रचार–प्रसार कार्यक्रम अन्तर्गत बिहिबार पोखरामा साइकल र्यालीको आयोजना गरियो । पोखराको बिरौटास्थित महायज्ञ स्थलबाट शुरु गरिएको उक्त र्यालीको उद्घाटन पोखरा साइकल सिटिका सदस्य एबम लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एलका सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर तेज नारायण पराजुलीले गरेका थिए।
महायज्ञको प्रचार प्रसारको साथै धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले उक्त र्यालीको आयोजना गरेको जनाएको छ। बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो। र्यालीमा स्थानीय बासिन्दा, युवा र सर्बसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
र्यालीको समापनका अबसरमा बोल्दै महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्यालीले स्वास्थ्य, वातावरण संरक्षण, र पर्यटन प्रबर्दन सन्देश प्रवाह गरेको बताए। उनले र्यालीमा सहभागी सबैलाई धन्यवाद दिँदै पोखरेलीहरूलाई महायज्ञको अभियानमा जोडिन समेत आग्रह गरे।
मानवसेवा फाउण्डेशनका अनुसार, कोटिहोम महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन जसअनुसार बैशाख १२ गते मोटरसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली, र बैशाख १५ गते पैदल यात्रा र १६ गते कलश यात्रा गरिने भएको छ । १६ गते मंगलवार हुने कलश यात्रा कार्यक्रम पोखराको शान्तिघाट, पोखराको गाईघाट र पोखरा -१७ स्थित ढुंगेसाँघु स्थित हरिहर मन्दिर क्षेत्रबाट शुरु भएर महायज्ञस्थल बिरौटामा पुग्ने बताइएको छ ।
पोखरामा हुने महायज्ञ अन्तर्गत हाल कथाबचन सहित प्रचारात्मक कार्यक्रमहरु संचालन भैरहेको र बैशाख १७ गते महायज्ञको हवानात्मक कार्यक्रमहरु हुने छन। ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर आउन आयोजकले आग्रह समेत गरेको छन।
सम्बन्धित समाचार ..
प्रतिभा पराजुली अर्थात देबी प्रतिभा: नेपालको शान, अध्यात्म र कथावाचनमा अग्रस्थान