वाशिंगटन (अमेरिका), अमेरिकाले अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको छ । अमेरिकी अर्बपति एलन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफीसीएन्सी (डीओजीई)को निर्णयअनुसार विकासशील देशको आर्थिकस्तर उन्नतिका लागि भनेर दिइँदै आएको यो अनुदान सहयोग बन्द हुने भएको हो
बन्द हुनेबारे मङ्गलबार नै एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत सूचित गरिएको रोयटर्सले जनाएको छ । कर्मचारीहरूलाई मे ५ तारिख देखि प्रशासकीय बिदामा राखिने सम्भावना रहेको छ ।
पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले २००४ मा स्थापना गरेको एमसीसीलाई बन्द गर्ने निर्णय ट्रम्प प्रशासनको खर्च कटौती नीतिअन्तर्गत हो । एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाका अन्तर्गतका काम पनि रोकिने छन् ।
रोयटर्सले प्राप्त गरेको कर्मचारी बैठकको रेकर्डिङ र इमेल अनुसार, एमसीसीका सम्पूर्ण कार्यक्रमहरू बन्द गरिने र कर्मचारी संख्या घटाइने उल्लेख छ । एमसीसीका वरिष्ठ अधिकारी क्येह किमले बैठकमा भनिन्, ‘विदेशी सहायता यो प्रशासनको प्राथमिकता होइन, त्यसैले एमसीसीको काम बन्द गर्नुपर्छ ।’
उनका अनुसार डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सीका अधिकारीहरु गत साता नै एमसीसीको कार्यालयमा पुगेर नेतृत्वसँग छलफल सुरु गरेका थिए । एमसीसीले रोयटर्सको टिप्पणीमा कुनै प्रतिक्रिया भने दिइसकेको छैन ।
यसअघि नै ट्रम्प प्रशासनले करिब ४० अर्ब डलर वार्षिक सहायता वितरण गर्ने यूएसएडलाई पनि पनि विघटन गरिसकेको छ। एमसीसीले विकासशील मुलुकहरूसँग साझेदारी गर्दै विद्युत् आपूर्ति, सडक निर्माण जस्ता पूर्वाधारमा लगानी गर्दै आएको थियो ।
संस्था वर्षेनि करिब ९० करोड डलरको बजेटमा सञ्चालित थियो । एमसीसीका एक कर्मचारीका अनुसार केही निर्माण परियोजनाबाहेक सबै काम रोकिएको छ । सक्रिय परियोजनामा मंगोलियाको जलमल प्रशोधन प्लान्ट, सेनेगल र नेपालका विद्युत् प्रसारण परियोजना, र आइभरी कोस्टका विद्यालय निर्माण परियोजना समावेश छन् ।
‘यो सहयोग कार्यक्रम अमेरिकी स्वार्थअनुसार पूर्वाधारमा केन्द्रित विकास विधि हो,’ ती कर्मचारीले नाम नखुलाउने शर्तमा भनेका छन् । यस्तै, एमसीसीका करिब ३०० कर्मचारीलाई अप्रिल २९ सम्म स्वेच्छिक अवकाश वा डिफ्रीड रेजिग्नेशनको विकल्प दिइएको छ । जसअनुसार उनीहरूले सेप्टेम्बरसम्म तलब पाउनेछन् । अन्यथा उनीहरू प्रशासनिक अवकाशमा राखिनेछन् ।
क्येह किमले कर्मचारीलाई भनिन्, ‘तपाईं र तपाईंको परिवारको हितमा के उपयुक्त हुन्छ, त्यसबारे गम्भीर भएर सोच्नुस् । त्यो तपाईंको यस संस्थाप्रतिको प्रतिबद्धताभन्दा बढी महत्त्वपूर्ण हो ।’ उनले चेतावनी दिँदै भनिन्, ‘संस्थाको भविष्य निकै अन्धकार देखिन्छ ।