पोखरा, पोखरा महानगरपालिका वडा नं. १७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीनवटा महत्वपूर्ण शुभकार्य सम्पन्न गरिएको छ । महायज्ञको लागि पूर्व निर्धारित स्थान पोखराको लेकसाइडमा क्षमा पुजा, हाल महायज्ञ संचालन भैरहेको स्थान पोखराको बिरौटामा भुमिपुजन र यज्ञ कुण्ड खन्ने कार्यको शुरुवात बुधबार गरिएको हो।
बिरौटामा आयोजित भुमिपुजन कार्यमा पण्डितहरु, विभिन्न स्थानबाट आएका धर्मगुरुहरु, स्थानीय सर्बसाधारणहरु, महायज्ञ आयोजक मूल समितिका पदाधिकारी र सदस्यहरु साथै विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो।
शास्त्रीय बिधिपुर्बक बुधबार बिहान ११ बजेर १ मिनेटको शुभ साइतमा बिरौटास्थित महायज्ञस्थलको जग्गामा स्थानीय सर्बसाधारण र महायज्ञ आयोजक समितिका पदाधिकारीहरुको साथै विभिन्न स्थानबाट आएका धर्मगुरुहरुको उल्लेखनीय उपस्थितिमा भुमिपुजन गरिएको र ११ बजेर ११ मिनटको शुभसाइतमा यज्ञकुन्ड खन्नेकामको शुरुवात गरिएको थियो। नेपाल पञ्चाङ्ग विकास समिती नेपालले दिएको उत्तम शाइतमा नै भूमी पुजनको कार्य, क्षमा पुजाको कार्य र यज्ञकुन्ड खन्ने कार्य सम्पन्न भएको आयोजक मानव सेवा फाउन्डेसनले जनाएको छ ।
भूमीपुजन कार्यक्रममा बोल्दै कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर बिजय कृष्णमुर्ती महाराजले पोखराको कोटीहोम एतिहासिक बन्ने बिश्वास ब्यक्त गरे। उनले नेपाल र भारतका थुप्रै धर्मगुरुहरुको कोटीहोममा आगमन हुने भएकोले यो क्षेत्र धार्मिक हिसाबले पबित्र र पुण्य भुमि बन्ने बिश्वास ब्यक्त गरे। पोखरा महानगरपालिकाले बर्ष २०२५ लाई पोखरा भ्रमण बर्षको रुपमा मनाएर २५ लाख पर्यटक पोखरा भित्र्याउने लक्ष राखेकोमा यहि महायज्ञमा नै २५ लाखभन्दा बढी पर्यटक पोखरा भित्रिने भएकोले कोटीहोममा सबै क्षेत्र र संघसंस्थाको साथ र सहयोगको अपेक्षा पनि उनले गरे।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा न. १७ का वडाध्यक्ष राधिका योगी शाहीले पोखराको लेकसाइडको जग्गामा कोटीहोम रोकेर बिरौटामा कोटीहोम संचालन हुन दिनुमा आफ्नो समेत भूमिका रहेको भन्दै आफ्नो वडामा कोटीहोम महायज्ञ हुन लागेकोमा गर्ब लागेको बताइन। वडाध्यक्ष शाही भुमिपुजन कार्यमा सरिक हुनुको साथै विभिन्न स्थानबाट आएका धर्मगुरुहरुलाई खादा र माला लगाएर स्वागत गर्ने कार्यमा समेत खटेकी थिईन।
वडाध्यक्ष शाही भुमिपुजन स्थलमा पुगेपछि कतिपयले महानगरपालिका र उनि आबद्ध पार्टी नेकपा एमालेको निर्देशनको अबज्ञा गर्दै महायज्ञको भुमिपुजनमा उनि सहभागी भएको भनि चर्चा गरेका थिए। कार्यक्रममा स्थानीय आमासमुह, टोल विकास संस्था, सर्बसाधारण समेतको उपस्थिति उल्लेखनीय रुपमा बढेको थाहा पाएपछि मात्र वडाध्यक्ष शाही कार्यक्रम स्थलमा पुगेको समेत बताएका थिए।
उनि भुमिपुजन कार्य सकिनै लाग्दा महायज्ञ स्थलमा पुगेकी थिईन। उनि महायज्ञस्थल पुगेपछि आयोजकहरुले उनको स्वागत गरेका थिए भने त्यसपछि वडाध्यक्ष शाहीले नै त्यहा उपस्थित धर्मगुरुहरुलाई स्वागत गरेकी थिईन। महायज्ञमा प्रमुख राजनीतिक पार्टीमा आस्था राख्ने स्थानीय एबम जिल्लास्तरीय नेता कार्यकर्ता एबम समर्थकहरुको सहभगिता रहेको थियो।
यस अगाडी पोखरा महानगरपालिकाले पोखराको लेकसाइडमा रहेको नेपाल ट्रष्टको जग्गामा महायज्ञको लागी भुमिपुजन भएकै दिन उक्त स्थानमा महायज्ञ हुन नदिन बल प्रयोग गरेको थियो। महानगरका प्रहरी र केहि वडाध्यक्षहरु समेत उक्त स्थानमा पुगेर महायज्ञ आयोजक र भुमिपुजन कार्यमा संलग्न पण्डित र धर्मगुरुहरुमाथि आक्रमण गरेको थिए ।
गत फागुन २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि महानगरपालिकाको अबरोधका कारण लेकसाइडमा कोटीहोम हुन नसकेपछि स्थान परिवर्तन गरेर बिरौटामा कोटीहोम गर्ने निर्णयमा आयोजकहरु पुगेको हुन ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले शुरुवातका दिनमा पोखरामा कोटीहोम हुन नदिने बताउंदै आएकोमा कोटीहोमको पक्षमा जनमत देखिंदै गएपछि उनले लेकसाइडको जग्गामा कुनै हालतमा कोटीहोम हुन नदिने अडान लिएका थिए। त्यसपछि महायज्ञ आयोजकहरुले पोखराको बिरौटास्थित सदाशिवजी शिद्वेश्वर हरिहर मन्दिरको गुठीको जमिन सहित विभिन्न व्यक्तिको नाममा रहेको एक सय रोपनी भन्दा बढी क्षेत्रफलको जग्गा भाडामा लिएर महायज्ञ संचालनको तयारी शुरु गरेका हुन ।
हाल उक्त स्थानमा महायज्ञको लागि आबश्यक सबैजसो संरचना निर्माण भैसकेको र एक सयवटा हवनकुन्डको निर्माण कार्य भैरहेको छ। महायज्ञकोलागि आबश्यक पर्ने प्रवचन कक्ष, भजन कक्ष, प्रसाद वितरण कक्ष, भजन प्रतियोगिता कक्ष, सचिबालय, भान्सा लगायतका आबश्यक संरचना सोहि सोहि जग्गामा निर्माण भैसकेको छन । कतिपय संरचनालाई अन्तिम रुप दिन बाँकी रहेको र यज्ञकुन्डको निर्माणकार्य जारी रहेपनि महायज्ञको लागि आबश्यक पर्ने अधिकांश पुर्बाधार भने तयार भैसकेको छ। महायज्ञस्थलको सजावटमा पनि त्यत्तिकै ध्यान दिईएको छ।
महायज्ञस्थलमा विभिन्न धार्मिकस्थलहरु सहित धर्मगुरुहरु र नेपालका राष्ट्रिय बिभुतीहरुको बारेमा जानकारी दिने किसिमका प्रबर्द्दनात्मक सामग्रीहरुको साथै विभिन्न मुर्तीहरु पनि राखेर महायज्ञस्थलको भब्य सजावट गरिएको छ। महायज्ञ अन्तर्गत कोटीहोमको पुर्बांग बैशाख १७ गते हुने र बैशाख १९ गतेबाट हवन गर्ने कार्य शुरु हुने बताइएको छ। महायज्ञको बिधिबत समापन भने जेठ २६ गते हुनेछ।
कोटीहोम महायज्ञ अन्तर्गत विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेले कथाबाचन गर्ने कार्य निरन्तर चलिरहेको छ दिउँसो एक बजेबाट संचालन हुने उनको कथाबाचन सुन्न पनि सर्बसाधारणको उल्लेखनीय उपस्थिति रहने गरेको छ। शुक्रबारबाट भने प्रशिद्द कथाबाचिका देबी प्रतिभाले कथाबाचन गर्ने कार्यक्रम छ महायज्ञमा प्रशिद्द कथा बाचक वाचिकाहरु पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, चैतन्य कृष्णमहाराज, चन्द्रकला शखी लगायतले कथाब्बाचन गर्ने कार्यक्रम रहेको छ।
पोखराका पण्डित भागवत भाष्कर कमलनयन गौतमलाई महायज्ञ आयोजकले आमन्त्रण गरेर सोहि अनुरुपको प्रचार प्रसार समेत गरेको भएपनि उनि महायज्ञमा कथाबाचनको लागि नजाने भएको बुझिएको छ। पोखरा र पोखरा बाहिरबाट सबैजसो धार्मिक व्यक्तित्वहरु एबम पण्डितहरुको कोटीहोम महायज्ञमा आगमन हुने तर कमलनयन गौतम सहभागी नहुने बिषयले कमलनयनकै शुभचिन्तकहरुले चिन्ता ब्यक्त गर्न थालेका छन कमलनयनलाई पनि महायज्ञमा जोड्नुपर्ने उनीहरुको भनाई छ।