अमेरिका, नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरू प्रति जनतामा देखिएको वितृष्णा लाई शान्त पार्न सरकारले पहल गर्नुपर्ने कुरामा जोड दिएका छन। जय नेपाल इन्टरनेशनल फाउन्डेसन- ग्लोबल युथ नेटवर्कले नेपाली नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले कोइरालाले भने, “हामी अत्यन्तै नाजुक अवस्थाबाट गुज्रीरहेका छौँ। नेपाली काँग्रेस – एउटा डेमोक्रेटिक पार्टी त हो , तर डेमोक्रेटिक नर्म्स अनुसार हामी हिँडेका छैनौ। पार्टीको विधान अनुसार चार वर्ष भित्र अर्थात २०८२ को मङ्सिर भित्र पार्टीको महाधिबेशन गर्नुपर्ने हो तर आम निर्वाचन २०८४ पछि काँग्रेसको अधिवेशन गर्ने भनेर पनि आइरहेको छ। यो कुरालाई कसरी समाधान गर्ने ? उनले प्रश्न गरे।
“भ्रातृ संस्थाहरूको अधिवेशन हुन् नसकेको वर्षौँ भयो। तदर्थवादमा पार्टी चलिरहेको छ। दुई ठुला दल नेका र एमाले मिलेर सरकार बनायौँ। नेका र माओवादी मिलेर चुनाव लड्यौँ, एमाले र माओवादी, नेका र माओवादी, एमाले र नेकाको सरकार बन्यो, राजनीतिक अस्थिरता भयो, भ्रष्टाचार न्यूनीकरण गर्ने , सुशासन दिने, कानुनको शासन स्थापना गर्ने, नौ महिनामा यी कुनै पनि कुरामा यो सरकार अगाडी बढ्न सकेको छैन। जसले गर्दा नागरिकमा बितृष्णा बढ्दो छ।” कोइरालाको भनाई थियो ।
अहिले सडकमा आक्रोश देखिएको कुराको चर्चा गर्दै नेता कोइरालाले भने, ‘धेरै नेताहरू राजाको उक्साहटमा भैरहेको भन्ने छ, तर त्यो सोचाइ पुरै ठिक हो भन्न म सक्दिन। गएको ९ महिनामा न त संविधान संशोधन, न भ्रष्टाचार नियन्त्रण, न आर्थिक विकासका कुरा लाई अगाडी बढाउन सक्यौँ, केही कुरा पनि भएन। जसले गर्दा सडकमा युवाहरुले आक्रोश पोख्ने र बितृष्णा बढ्ने काम भैरहेको छ।
“आज शिक्षकहरू मात्र नभएर सहकारी पीडितहरु, लघुवित्त पीडितहरू, रेजिडेन्ट डक्टरहरू पनि सडकमा छन्। यसलाई सम्बोधन गर्न सकेनौँ भने स्थिति हाम्रो हातबाट बाहिर जान सक्छ। नेपाली काँग्रेस वा हामी डेमोक्र्याटहरुको काँधमा ठुलो जिम्मेवारी आएको छ। देश भित्र र देश बाहिर पनि नेकालाई एउटा जिम्मेवार पार्टीको रुपमा हेरिएको छ। तसर्थ कांग्रेसले गम्भीरतापुर्बक मुलुकलाई निकास दिने उपायको खोजि गर्नु जरुरी छ” डा. कोइरालाको भनाइ थियो।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसीले नयाँ वर्ष भनेको क्यालेन्डर परिवर्तन मात्रै हैन। नयाँ यात्रा र नयाँ संकल्पको सुरुवात पनि हो। कहाँ कहाँ हामी चुकेका छौँ, सिंहावलोकन गरेर जाऊँ भन्दै विदेशमा बसेका साथीहरू नेपालमा बस्नेहरु भन्दा बढी चिन्तित पाएको उल्लेख गरे।
यसै सन्दर्भमा उनले राष्ट्रिय परिस्थिति अत्यन्त जटिल रहेको जनतामा व्याप्त निराशाले निकास खोजेको र अहिले जस्तो नकारात्मक स्थिति यस अघि नभएको बताए। हामी नयाँ कार्यक्रम र दृष्टिकोण लिएर अगाडी बढ्न सकेनौ भने असंगठित अराजकता तर्फ देश जान सक्ने खतरा रहेको उनको भनाइ थियो ।
हरेक दिन हजारौँ युवा विदेश गैरहेका छन्। दक्षिणपन्थी र कम्युनिष्टहरुको चेपुवामा मुलुक परेको छ। नयाँ नेतृत्व, नयाँ नीति र विचारको आवश्यकता छ। सात ओटा संविधानमध्ये ५ ओटा संविधानको नेतृत्व गरेको पार्टी हो काँग्रेस भएकोले कुनै पूर्व प्रधान न्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग बनाएर छानबिन गर्न उपयुक्त हुने उनले बताए।
कांग्रेस नेता केसीले काँग्रेस समन्वयवादी पार्टी हो भन्दै जुन जुन बेला राष्ट्रमा संकट आउँछ, संकटमोचन गर्न सक्ने पार्टी पनि कांग्रेस नै बनेको उल्लेख गरे । तर १४, १५ वर्षदेखि भातृ संस्थाहरूको अधिवेशन हुन नसक्नु र जसले नेतृत्वको परिक्रमा गर्छन् उनीहरूलाई पुरस्कृत गर्ने परम्परा बस्नुले पार्टी भित्र असन्तुष्टि बढ्दै गएको केसीको भनाइ थियो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमंत्री एनपी साउदले कांग्रेस अहिले चुनौतीपूर्ण अवस्थामा रहेको, गठबन्धनका बारेमा नेपाली जनतामा अन्योल रहेको र यसले अस्थिरताको संदेश दिएको भन्दै संविधान संशोधन गरेर नेपाली जनताका समस्यालाई सम्बोधन गर्न नसके थप असन्तुष्टि बढ्दै जानेमा जोड दिए । कार्यकर्ताहरूको योगदानको आधारमा मूल्यांकन गर्नु पर्ने, भातृ संस्थाहरूको अधिवेशन समयमै गर्नुपर्ने, अभिलेख राख्ने पद्धतिको विकास गर्नुपर्ने र पार्टी बलियो भएमात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने संदेश कार्यकर्तामा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।
अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपालको लोकतन्त्र सुदृढ हुनुपर्ने कुरामा जोड दिंदै नेपाली समाजले आर्थिक फड्को मार्न नसकेको, दलभित्र र दलहरूभित्र एकता नदेखिएको, ७ सय ६१ वटा सरकारले उत्साहजनक ढंगले काम गर्न नसकेको बर्तमान अबस्थामा काँग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । काँग्रेस अहिले औसत दलमा परिणत भएको र सत्तामा मात्रै केन्द्रित भएको भन्दै उनले नयाँ पुस्ता निराश बन्दै गएको र पार्टी भित्र बेथिति बढेको बताए।
नेका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले काँग्रेस आफ्नो विरासतमा फर्किनुपर्नेमा जोड दिंदै प्रजातन्त्र र लोकतन्त्र कदापि एक हुन् नसक्ने भएपनि कम्युनिस्टका नारा र सिद्धान्त अंगिकार गरेको हुनाले कुनै पनि परिणाम जनतालाई दिन नसकेको दाबि गरे। आज हामी सत्तामा भए पनि परिणाम दिन सकेका छैनौँ। धर्म निरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रतामा जाऔँ। पार्टीको पहिलेको विरासतमा नफर्कीकन नेपाल देश र प्रजातन्त्रलाई बचाउन सक्दैनौ, समाजवाद उन्मुखको ठाउँमा समाजवाद कायम गरौँ। शर्माले भने ।
फाउन्डेशन अन्तर्गत ग्लोबल महिला नेटवर्कको अध्यक्ष विनीता अधिकारीले आफूले नेतृत्व गरेको नेटवर्कको बारेमा बताउँदै कविता सहित शुभकामना दिएकी थिईन। फाउन्डेशन अन्तर्गतकै ग्लोबल नलेज नेटवर्कको संयोजक डा निरज श्रेष्ठले सबै सहभागीलाई धन्यबाद दिँदै शुभकामना प्रदान गरे। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव तथा अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीले गैर आवासीयहरूका मागलाई एकताबद्ध भएर मात्र समाधान गर्न सकिने भएकोले आगामी मे महिनामा हुने महाधिवेशनमा भाग लिन सबैलाई आव्हान गरे।
अमेरिकाका एनआरएनका पूर्व अध्यक्ष डा. केशव पौडेलले नेपालमा कथनी र करणी एउटै हुन नसकेको, एनआरएनको बारेमा संविधानमा लेखेको कुरा लागू हुन नसक्नु लज्जास्पद अबस्था रहेको, कांग्रेस भित्र आन्तरिक प्रजातन्त्र नभएको भन्दै चिन्ता ब्यक्त गरे। नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व अध्यक्ष विष्णु सुवेदीले नेकाका भातृ संस्था र जससको अधिवेशन समयमा गराउन जरुरी भएको बताए ।
गैर आवासीय नेपाली संघ उच्चस्तरीय समितिको सदस्य रबिना थापाले संस्था द्वारा गरिएका काम र आगामी अधिवेशनको बारेमा जानकारी गराईन। गैर आवासीय नेपाली संघ उच्चस्तरीय समितिको सदस्य कुल आचार्यले “एनआरएन नागरिकता कार्यान्वयन गर्न नसक्नु देशकै कमजोरी भएको भन्दै नेपालका नेताहरूको संकीर्ण सोचाइ देखिएको भन्दै नेतृत्वको आलोचना गरे।
नेपाली जसस भारतका अध्यक्ष बालकृष्ण पाण्डेले राजनीति सही ढंगले नजाने हो भने घण्टी, लट्ठी जस्तै विभिन्न तत्त्वले अवसर पाउने चेतवानी दिए। हलिवुड खबरका सम्पादक पत्रकार कृष्ण केसीले नेपालीहरूको सामाजिक, आर्थिक स्थिति बारे छलफल गर्नुपर्नेमा सुझाव दिँदै आफूलाई एनआरएन नागरिकता लिँदा ६ दिन लागेको तर संविधानसँग बाझ्ने गरी ऐन र कार्यविधि बनाएकोले सो नागरिकता हाल कागजको खोस्टो जस्तो मात्र भइरहेकोबताए।
कार्यक्रममा एनआरएनएका पुर्व उपाध्यक्ष नारायण आचार्य, विश्व बराल (अमेरिका), एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, डा ज्ञानेन्द्र रेग्मी, आरके त्रिपाठी, केशर घलान लगायतले नयाँ वर्षको शुभकामना र पार्टीलाई बलियो बनाउन विभिन्न सुझाव दिएका थिए।
कार्यक्रमका सभापति जय नेपाल इन्टरनेशनल फाउन्डेसनका अध्यक्ष डा यादव पण्डितले मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेसनको स्थापना भएको, संस्थाले विश्व भरिका युवाहरूको सञ्जाल “ग्लोबल युथ नेटवर्क “, महिलाहरूको “ग्लोबल वुमेन नेटवर्क ” सञ्चारकर्मीहरूको “ग्लोबल मिडिया नेटवर्क”, विज्ञहरूको “ग्लोबल नलेज नेटवर्क ” र खेलाडीहरूको “ग्लोबल स्पोर्ट नेटवर्क ” मार्फत विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिए।
कार्यक्रममा बोल्दै जयनेपाल फाउन्डेसनका नलेज नेटवर्कका निरज श्रेष्ठले समुन्नत नेपाल, विकसित नेपाल बनाउनको लागि बहस आबश्यक भएको बताए क्लिन इनर्जी, हाई भ्यालु एग्रिकल्चर, पर्यटनको माध्यमबाट नेपालको बिकासको सम्भावना रहेको भन्दै भारतमा महाकुम्भ हुँदा करोडौँ मानिस त्यहाँ पुगे तर हाम्रो देवघाटको लागि केही गर्न सकेनौ भन्दै चिन्ता ब्यक्त गरे ।
फाउन्डेशन अन्तर्गत ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले कार्यक्रम संचालन गर्दै फाउन्डेसनका अमेरिका र अन्य देशमा गरेर ३८ च्याप्टर घोषणा भैसकेको र ग्लोवल युथ नेटवर्कमा ४१ वटा देशका नेपाली मुलका युवाहरुको नेतृत्व ग्लोबल युथ नेटवर्कले गरेको जानकारी गराए नेटवर्कका महासचिव नवराज न्यौपाने र फाउन्डेशन अन्तर्गत ग्लोबल मिडिया नेटवर्कका संयोजक भगीरथ योगीले संस्थाका बिबिध गतिविधिको बारेमा चर्चा गरेका थिए।