Play

प्रदेश योजना आयोगमा लामिछाने र रिजाल, गण्डकी विश्वबिधालयको कुलपति नियुक्तिमा भने ढिलाई

पाण्डे नेतृत्वको सरकार बनाउन साथ् दिएका नयाँशक्ति र राप्रपाको तर्फबाट नियुक्त तिमिल्सिना र भण्डारी योजना आयोगबाट राजिनामा गर्न बाध्य


गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा पोखरा लेखनाथकी दुर्गा लामिछाने र पर्वतका योगेन्द्रराज रिजाललाई नियुक्त गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लामिछानेलाई कांग्रेसको तर्फबाट र रिजाललाई नेकपा एमाले तर्फको कोटाबाट नियुक्त गरेको हो ।

कास्कीको लेखनाथकी लामिछाने नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । उनी इन्टरनेसल रिलेसन र डिप्लोमेसीमा पिएचडी स्कलर हुन् । रिजालको क्षेत्र समाज विज्ञान हो । उनी गण्डकी प्रदेश सरकारले गठन गरेको कालीगण्डकीको सम्भाव्यता अध्ययन समितिको सदस्य रहेर काम गरेका थिए ।

नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले आफ्नो पद जोगाउन तत्कालिन अबस्थामा राप्रपा र नेपाल समाजवादी (नयाँशक्ति)को तर्फबाट नियुक्त गरेका दुईजना सदस्यलाई एमाले- कांग्रेस गठबन्धन बनेपछि राजीनामा गर्न दवाब दिएको थिए। सोहि दवाबका कारण नेपाल समाजवादी पार्टी नयाँशक्तिको कोटाबाट नियुक्त माया तिम्सिना र राप्रपाको कोटाबाट नियुक्त दीपक भण्डारीले चैत १७ गते नै राजीनामा दिएका थिए । उनीहरुले राजीनामा दिएपछि शुक्रबार साँझ बसेको मन्त्रीपरिषद बैठकले उक्त पदमा लामिछाने र रिजाललाई नियुक्त गरेको हो।

मन्त्री परिषद बैठकले गण्डकी विश्वविद्यालयको कुलपति समेत नियुक्त गर्ने अनुमान गरिएको थियो तर गण्डकी प्रदेश मन्त्रिपरिषद बैठक उक्त निर्णय नगरी उठेको छ । विश्वविद्यालयको कुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले तिन जनाको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बिहीबार बुझाईसकेकोले शुक्रबारको क्याबिनेट बैठकबाट कुलपति नियुक्ति हुने अनुमान गरिएको थियो । तर नीति तथा योजना आयोगका सदस्य नियुक्तिसम्बन्धी निर्णय गरेर बैठक टुंग्याईएको छ।

विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद सदस्य डा. यमुना घलेले बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई तिन जनाको सिफारिस गरेका थिए । जसमा प्राडा विश्वकल्याण पराजुली, प्राडा इन्द्रप्रसाद तिवारी र प्राडा सरोज कोइरालाको नाम समावेश थियो ।

सिफारिसमा परेका मध्ये कास्कीकै लेखनाथका प्राडा इन्द्रप्रसाद तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्व डिन हुन् । उनीसँग देशविदेशमा रहेर विभिन्न दातृ निकायहरुमा काम गरेको लामो अनुभव छ । पोखराको बगरका प्राडा पराजुली पृथ्वीनारायाण क्याम्पस पोखरामा समाजशास्त्र तथा मानवशास्त्रको पूर्व विभागीय प्रमुख हुन् । निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य रहिसकेका पराजुली शैक्षिक र अनुसन्धानात्मक गतिविधिमा क्रियाशील छन् । पोखराकै प्राडा सरोज कोइराला पृथ्वीनारायण क्याम्पसका निवर्तमान प्रमुख हुन् । अंग्रेजी साहित्यमा विद्यावारिधि कोइराला यसअघि पोखरा विश्वविद्यालयको उपकुलपतिको प्रतिस्पर्धामा समेत सामेल थिए ।

कुलपतिका लागि ७ जनाले आवेदन दिएको भए पनि उल्लिखित   सहित प्राडा कुसुमाकर न्यौपाने र प्राडा नवराज देवकोटा गरि पांच जनाको नाम स्वीकृत गरिएको भएपनि नेउपाने र देबकोटाको नाम अन्तिम अबस्थामा हटाइएको हो । देवकोटा गण्डकी विश्वविद्यालयकै बहालवाला उपकुलपति हुन।

सरकारकै एक मन्त्रीले शुक्रबारकै बैठकमा कुलपति नियुक्तिको निर्णय हुने बताएका थिए । मन्त्रीहरुलाई क्याबिनेटको समयका बारेमा जानकारी गराइए पनि एजेन्डा भने बताइएको थिएन । एक मन्त्रीले भने, ‘हामी मन्त्री भनेर के गर्ने ? क्याबिनेटका प्रस्तावका बारेमा समयमै जानकारी त पाइँदैन, कतिपय निर्णयहरु त मिडियामा आएपछि मात्र थाहा पाउँछौं ।’ सामान्यतया क्याबिनेट बस्नु अघिल्लो दिन नै मन्त्रीहरुलाई एजेन्डासहितको फाइल पठाउने चलन हुने भएपनि पाण्डे नेतृत्वको सरकारले त्यस्तो नगरेको ति मन्त्रीको गुनासो छ ।

समितिले सिफारिस गरेकै भोलिपल्टका लागि क्याबिनेट डाकिएकाले कुलपतिको निर्णय हुने अपेक्षा धेरैले गरेका थिए । तर सबै प्रक्रिया पूरा भए पनि सरकारले निर्णय नगर्नुले शंका भने उब्जाएको छ । गण्डकी विश्वविद्यालयको कुलपतिका लागि आवेदन स्वीकृत भएकामध्येबाट ३ जनाको नाम मुख्यमन्त्रीलाई बुझाइएको छ । विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद सदस्य डा. यमुना घलेले बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्राडा इन्द्रप्रसाद तिवारी, प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गरेको बुझिएको छ । तीनजना मध्ये कुनै एक जनालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले कुलपति नियुक्त गर्ने निर्णय गर्छ ।

 

२२ चैत्र २०८१, शुक्रबार २३:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा