Play

न्युरोडमा पोखरा -८ को वडा कार्यालय भवन उद्घाटन, प्रशासकीय भवन बनाउन पहल भैरहेको छ- मेयर आचार्य

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकको नयासडकमा नवनिर्मित वडा न. ८ को कार्यालय भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबार उद्घाटन गरेका छन । नयासडकको १५ आनाको जग्गामा महानगरको ४० र तत्कालीन जिल्ला विकास समितिको ६० प्रतिशत बजेटबाट उक्त वडा कार्यालय निर्माण गरिएको हो । उक्त वडा कार्यालय लिफ्टसहितको बनेको छ । भवनको निर्माण कार्य केहि महिना अगाडी सम्पन्न भएर सोहि भवनबाट कार्यालय संचालन गरिएपनि औपचारिक उद्घाटन भने आइतबार मात्र भएको हो ।

नयाँ कार्यालय भवन सञ्चालनमा आएपछि नागरिक सेवा प्रवाह थप सहज भएको वडा न. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले बताए । भवनको उद्घाटन समारोहमा बोल्दै उनले वडाको समग्र विकासका लागि निरन्तर क्रियाशील रहने र नयाँ भवनका कारण नागरिकसँगको सम्बन्ध अझ बलियो बन्ने बिश्वास ब्यक्त गरे । स्थानीय सरकारको प्रभावकारी कामका लागि भौतिक संरचनाको विकास अपरिहार्य रहेको भन्दै वडाध्यक्ष बरालले नयाँ कार्यालय भवनबाट वडावासीले सबै प्रकारका प्रशासनिक सेवा सहज रूपमा पाउने र स्थानीय तहको सेवा प्रभावकारी बनाउन डिजिटल प्रणालीसमेत लागू गरिने बताए ।

वडा कार्यालय भवनको उद्घाटन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा महानगरपालिकाको प्रशासकीय भवन बनाउन पनि तयारी भइरहेको बताए। प्रशासकीय भवन बनाउन करिब दुई अरब रुपैयाँ लाग्ने र यसका लागि स्रोतको खोजी भइरहेको र सरकारका अर्थमन्त्रीसँग पनि कुरा भइरहेको आचार्यले बताए । उनका अनुसार उच्च अदालत पोखराको अगाडि ४० रोपनी जग्गामा महानगरको प्रशासकीय भवन बनाउने तयारी छ ।

सुविधासम्पन्न कार्यालय भवन निर्माणले प्रशासनिक कार्यलाई चुस्त बनाउनुका साथै नागरिकलाई सहज, पारदर्शी र गुणस्तरीय सेवा दिन मद्दत गर्ने आचार्यले विश्वास व्यक्त गरे । स्थानीय सरकारको प्रभावकारिता जनता माँझ अझै मजबुत बनाउने लक्ष्यसहित भवन निर्माण गरिएको उनले स्पष्ट पारे । आचार्यले भने, ‘कतिपयले वडालाई ठूला भवन किन चाहिन्छ भनेर प्रश्न गर्छन् तर ठूला भवनले नै जनताका सेवा प्रवाहमा सहजता ल्याउँछ ।’

मेयर आचार्यले पोखरा महानगरको वडा नं ६ र ९ को भवन बन्न बाँकी छ भने केही वडाका भवन निर्माणाधीन अवस्थामा छन् । महानगरमा थपिएका वडाहरुको विकासमा पनि विशेष ध्यान दिइएको आचार्यले उल्लेख गरे । उनले भने, ‘विकासका हिसाबले १ देखि १७ सम्मका र अन्य वडा फरक प्रकृतिका छन्, सबै वडालाई एउटै प्रकृतिको बनाउन प्रयास गरिएको छ ।’ उनले पोखराको न्यूरोडलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको समेत जानकारी दिए । पोखराको फोहोर व्यवस्थापन सम्बन्धमा नयाँ वर्षदेखि नयाँ ढंगले नै अघि बढ्ने उनले स्पष्ट पारे ।

महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले वडा कार्यालयलाई स्थानीय जनताको नजिकको सरकार भएको बताइन् । महानगरले वडालाई धेरै भन्दा धेरै अधिकार दिएको भन्दै उनले वडाले नै नै ५० लाखसम्मको योजना अघि बढाउन पाउने अधिकार रहेको स्पष्ट पारिन्  महानगरपालिका वडावासी र वडा कार्यालयकै सल्लाह र सुझावका आधारमा अघि बढ्ने उपप्रमुख गुरुंगको भनाई थियो ।

भवन उद्घाटन कार्यक्रममा पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुली, जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, नेकपा एमाले पोखरा–८ का अध्यक्ष दीपकराज घिमिरे, राप्रपा पोखरा- ८ का अध्यक्ष बाबुराम चालिसे, हातेमालो आमा समूहका अध्यक्ष अपीला बराललगायतले आआफ्नो भनाई राखेका थिए।वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य पवित्रा पौडेल केसीले स्वागत र वडासचिव झंकनाथ पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

वडा कार्यालय उद्घाटन समारोहसंगै मेयर आचार्यको जन्म दिन केक काटेर मनाइएको थियो। सहभागीहरुले मेयर आचार्यलाई शुभकामना दिएका थिए।

१८ चैत्र २०८१, सोमबार ००:१० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा