- गंगाधर पराजुली / पोखरा
स्वास्थ्य क्षेत्रमा गरिएको लगानीबाट अपेक्षित प्रतिफल पाउन नसकिने चर्चाको बिचमा पनि पोखराको मणिपाल हस्पिटलमा पछिल्लो समय लगानी सहित विभिन्न बिशेषज्ञ सेवा थप गर्ने कार्य भैरहेको छ । अस्पतालको पहिलेको संरचनामा सुधार गर्ने र केहि संरचना थप गर्ने कामका अतिरिक्त महँगो मूल्यका नयाँ उपकरण र प्रबिधि थप गरेर मणिपाल हस्पिटललाई देशकै राम्रो हस्पिटल अनि अन्तराष्ट्रियस्तरको सुबिधासम्पन्न हस्पिटलको रुपमा बिकास गर्ने प्रयास भैरहेको छ ।
सन् २०२२ को अक्टोबरमा पोखराका युवा ब्यबसायी आनन्द बतास र नारायण पौडेल सहितको समुहले भारतीय समुहबाट मणिपाल मेडिकल कलेजको स्वामित्व हस्तान्तरण गरेर लिएपछि अस्पतालको संरचनामा, नयाँ उपकरणको प्रयोगमा र नयाँ उपचार पद्दति अबलम्बन गर्ने तर्फ विभिन्न प्रयासहरु भैरहेका छन । अस्पतालमा आउने बिरामीहरुलाई अन्तराष्ट्रियस्तरको गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउने मात्र नभएर छिमेकी मुलुकबाट पनि बिरामीहरु नेपालमा र त्यसमा पनि मणिपाल हस्पिटलमा उपचार गर्न आउने बाताबरण सिर्जना गर्ने तर्फ अस्पताल ब्यबस्थापन गम्भीर रहेको बताईन्छ ।
ब्यबसायी बतास सहितको समुहले अस्पतालको स्वामित्व लिएको करिब तिन बर्ष पुग्दैछ । मणिपाल स्थापना भएको झन्डै तिन दशक पुगेपनि नेपाली ब्यबसायीले स्वामित्व लिएको तिन बर्षको अबधिमा अस्पतालको संरचना, उपकरण र उपचार सेवा अनि प्रबिधिमा करोडौं रुपैया लगानी भैसकेको छ । तर पनि बजारमा भने बतास सहितको समुहले मणिपाल हस्पिटल बिक्रि गर्ने तयारीमा रहेको चर्चाले ब्यापकता पाउँदै गएको छ । भारतीय समूहले अस्पताल संचालन गर्दा अस्पतालको अबस्था अस्तव्यस्त बन्दै गएको तर बतास सहितको समुहले स्वामित्व लिएपछि अस्पतालको संरचनामा सुधार गरेर महँगो मुल्यमा बिक्रि गर्ने योजना बनेको भन्ने चर्चा समेत बजारमा चलिरहेको छ ।
यस्तै चर्चाको बिचमा नेपाल मणिपाल अस्पताल पोखराका अध्यक्ष आनन्द बतासले मणिपाल अस्पताल अरुलाई बिक्रि गर्ने आफ्नो कुनै सोचाई नरहेको स्पष्ट पारेका छन । पोखराका केहि संचारकर्मीमाझ उनले भने, “अब मेरो तन, मन र धन सबै मणिपाल अस्पताल र स्वास्थ्य क्षेत्रको सुधारमा नै खर्च गर्दैछु । स्वास्थ्य क्षेत्रमा लगानीको अनुपातमा नाफा वा प्रतिफल अत्यन्त कम छ, तर यो हस्पिटललाई ब्यबसायिक भन्दा पनि सेवाको दृष्टिकोणले संचालन गर्ने तर्फ म गम्भीर छु । तसर्थ अहिले मणिपाल हस्पिटल बिक्रीमा छ भनेर बजारमा जतिसुकै हल्ला चलेको भएपनि तपाईंहरु मार्फत म स्पष्ट पार्न चाहन्छु कि, मणिपाल हस्पिटल बिक्रीमा छैन ।”
मणिपाल अस्पतालको मुख्य भवन सहितको संरचना रहेको करिब ४० रोपनी जग्ग्गा मणिपाल अस्पतालको स्वामित्वमा रहेको र बाँकि संरचना रहेको एबम अन्य जग्ग्गा नेपाल सरकारले ४९ बर्षको लागि लिजमा दिएको छ । लिजको अबधि अब करिब २० बर्ष बाँकी रहेको अबस्थामा मणिपाल अस्पतालका अध्यक्ष समेत रहेका ब्यबसायी बतासले भने, “४० रोपनी जग्गा हाम्रो आफ्नै स्वामित्वमा रहेको छ भने बाँकी जग्गा अझै २० बर्षसम्म मणिपाल अस्पतालले भोगचलन गर्न पाउने सम्झौता छ । नेपाल सरकारले २० बर्षपछि हामीसंगको सम्झौता नबिकरण गरेन भने हामीले अर्को जग्गा ब्यबस्था गरेर अस्पतालका काम गर्नेछौं ।”
“मणिपाल कलेज संचालन भैरहेको पोखरा -१६ दीपस्थित विभिन्न संरचना सहितको जग्गामा पनि सम्झौता नबिकरण भए हामी बस्छौं नत्र अन्यत्र ब्यबस्था गर्नेछौं ।’ उनले भने। मानव सहित जनावरको शरीरको चिरफार र शरीर बिज्ञानको अध्ययन गर्न नेपालमा पहिलो पटक मणिपाल मेडिकल कलेजले संचालनमा ल्याएको ‘क्याडाभिज भर्चुअल डिसेक्सन टेबल’को शुभारम्भ समारोहमा समेत अध्यक्ष बतासले आफ्नो समय, साधन र श्रोत सबै मणिपाल अस्पतालमा लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त समारोहमा मणिपाल कलेजमा अध्ययनरत बिद्यार्थी, प्राध्यापक, अस्पतालका डाक्टरहरु, विभिन्न बिभागका प्रमुखहरु सहित केहि संचारकर्मी र गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री समेत सहभागी थिए ।
ब्यबसायी बतासले नेपालमा मेडिकल कलेज संचालन नगर्ने हो भने ९० प्रतिशत भन्दा बढी हस्पिटल बन्द हुने दाबि समेत गरे । अहिले नेपालका अधिकांश हस्पिटलहरु बिद्यार्थीहरुबाट प्राप्त हुने शुल्कका कारण मात्र चल्न सकेको उनले स्पष्ट पारे । ‘ कि त बिद्यार्थीहरुको कारण, कि त नेपाल सरकारको स्वास्थ्य बिमाको कारण अस्पताल संचालनमा केहि सहजता देखिएको भएपनि सरकारले बिमा बापत अस्पताललाई दिनुपर्ने रकम समयमै भुक्तानी नदिंदा आर्थिक समस्या भोग्नुपरेको भन्दै उनले चिन्ता प्रकट गरे । “मणिपाल अस्पतालले नौ महिना देखिको पाउनुपर्ने ३४ करोड रुपैया भन्दा बढी रकम नेपाल सरकारबाट भुक्तानी नभएर रोकिएको छ । अनि कसरि अस्पतालले आफ्नो सेवा संचालन गर्ने ?” उनले नेपाल सरकारप्रति आक्रोश पोखे ।
ब्यबसायी बतासले आफुहरुले मणिपाल अस्पताल संचालन गर्न लागेपछि अत्याधुनिक र सुविधा सम्पन्न सघन उपचार कक्ष (क्रिटिकल केयर युनिट) लाई बिस्तार गरिएको, स्वास्थ्य जांचको लागि अत्याधुनिक प्रयोगशाला संचालन गरिएको, अत्याधुनिक र सुबिधा सम्पन्न क्यान्सर उपचार कक्षको निर्माण अन्तिम चरणमा पुगेको र पांच तारे होटल सरहको सुबिधा रहेका अन्तराष्ट्रियस्तरका बेड ( बिरामी र करुवा बस्ने कोठा ) को निर्माण गरिएको बताए । यसका साथै आबश्यकता अनुसारको नयाँ प्रबिधि र उपकरण थप गर्ने प्रक्रियालाई निरन्तरता दिईएको पनि बतासले उल्लेख गरे ।
मणिपाल शिक्षण अस्पताल अहिले क्रिटिकल केयरमा संभवत नेपालकै ठूलो अस्पताल बन्न पुगेको छ। यसअघि ९४ बेड क्षमता रहेको कक्षलाई ७२ बेड थपेर कुल १ सय ६६ वटा आइसीयु बेडको कक्ष बनाइएको छ। थप गरिएका ७२ वटा आइसीयु बेड अत्याधुनिक र सुविधा सम्पन्न रहेकोले गण्डकी प्रदेशका बिरामीहरु अब काठमाडौँ वा देशबाहिर क्रिटिकल उपचारको लागि जानुपर्ने अवस्था अन्त्य भएको अस्पतालले दाबि गरेको छ । सघन उपचार कक्ष बिस्तार भएपछि मणिपालमा भेन्टिलेटरको संख्या पनि ३४ पुगेको छ। कोभिड महामारीको समयमा अस्पतालमा भेन्टिलेटरको अभावमा थुप्रै सर्बसाधारणले ज्यान गुमाउनुपरेको पीडा महसुस गरेर सघन उपचार कक्षमा पर्याप्त भेन्टिलेटर व्यवस्था गरिएको हो ।
अस्पतालमा बिरामी बस्नको लागि यस अगाडी जनरल र क्याबिन कोठामात्र रहेकोमा हाल अत्याधुनिक सुबिधा सहितका डिलक्स रुमहरु निर्माण गरिएको छ । हाल १४ वटा सुबिधा सम्पन्न कोठाहरु निर्माण गरिएको र कोठामा रहेको सुबिधाको आधारमा सुईट, एक्जिक्युटिभ र प्रेसिडेन्सियल नामबाट बर्गोकरण गरिएको छ । नवनिर्मित सुबिधासम्पन्न कोठाहरुमा आबश्यकता अनुसार बिरामी राखेर उपचार शुरु गरिएको भएपनि त्यस कक्षको औपचारिक उद्घाटन भने हुन बाँकी छ ।
अन्तराष्ट्रियस्तरका सुबिधा सम्पन्न अस्पतालमा हुने किसिमको सेवा सुबिधा उपलब्ध हुने गरि निर्माण गरिएको मणिपाल इन्टरनेसनल कक्ष (डिलक्स ) मा बिरामीहरुको लागि, उनीहरुका कुरुवाहरुको लागि र भेट्न आउने आफन्तजनको लागि विभिन्न सुबिधाहरु उपलब्ध रहेको छन। सुबिधाजनक र आरामदायी बेड, सोफा, कुर्सीहरु, टेलीभिजन, फ्रिज लगायतका आबश्यक सामानहरु त्यहाँ राखिएको छ। तारे होटलको कोठामा पाहुनालाई उपलब्ध हुने सुबिधा सहित उपचारको लागि आबश्यक जनशक्तिको सुबिधा ति कक्षमा गरिएको अस्पतालले जनाएको छ ।
मणिपाल हस्पिटलका अध्यक्ष बतासले भनेजस्तै अस्पतालले क्यान्सरका बिरामीहरुको उपचारको लागि पनि नयाँ कक्ष शुरु गर्दैछ । मणिपाल अस्पतालमा बिगतमा क्यान्सरको उपचार सेवा संचालन गरिएको भएपनि सन् २०१७ बाट अस्पतालको उपकरण बिग्रेपछि उक्त सेवा बन्द हुन पुगेको थियो जसका कारण क्यान्सरका बिरामीहरु उपचारको लागि पोखराबाट बाहिर जानुपर्ने बाध्यता कायम छ ।
‘अहिले क्यान्सर बिरामीहरुको लागि पनि सुबिधा सम्पन्न कक्षको निर्माण कार्य चलिरहेको छ । संभवत अबको केहि सातामा मनिपाल अस्पतालबाट नै क्यान्सरका बिरामीहरुको उपचार सेवा शुरु हुन्छ । यसका लागि आबश्यक रेडियो थेरापी, लिनियर एक्सेलेटर लगायतका आबश्यक मेसिन र उपकरणहरु समेत आइसकेको र अब छिट्टै नै चार करोड मूल्य पर्ने क्यान्सर स्क्रिनिंग मेसिन ल्याउने तयारीमा मणिपाल अस्पताल रहेको बतासले जानकारी दिए ।
क्यान्सर स्क्रिनिंग मेसिन आएपछि गाउँ गाउँमा निशुल्क शिबिर संचालन गरेर क्यान्सर स्क्रिनिंग गरिने बतासले स्पष्ट पारे । उच्चस्तरको टेक्नोलोजी, विशेषज्ञ डाक्टरको दरबन्दी र सर्वसुलभ रुपमा क्यान्सर रोगको सेवा सुरु गर्ने तयारीमा अस्पताल प्रशासन जुटेको उनको भनाई छ। बतासले क्यान्सर रोग महामारीको रुपमा फैलिंदै गएको बताउंदै सरकारको तर्फबाट पनि क्यान्सरको स्क्रिनिंग र उपचारमा न्युनतम भएपनि सहकार्यको अपेक्षा गरे ।
कार्यक्रममा उपस्थित गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा मेडिकल कलेजले सरकारको इज्जत जोगाइदिएको बताए मेडिकल कलेजका समस्या समाधान गर्न आँफु गम्भीर रहेको बताउंदै उनले संस्थागत रुपमा छलफल गरेर स्वास्थ्य क्षेत्रको सुधार गर्ने बिषयमा मन्त्रालय र गण्डकी प्रदेश सरकार गम्भीर रहेको उनले स्पष्ट पारे ।
सम्बन्धित समाचार ..
शरीरको चिरफार र शरीर बिज्ञानको अध्ययन गर्न मणिपाल कलेजमा ‘क्याडाभिज भर्चुअल डिसेक्सन टेबल’
मणिपाल अस्पतालमा नयाँ सेवा थपिंदै, डिलक्स रुम संचालनमा, क्यान्सर कक्ष र अत्याधुनिक ल्याब छिट्टै
मणिपालमा तीज महोत्सबसंगै नृत्य प्रतियोगिता, ब्यबस्थापन र कर्मचारीको सम्बन्ध दरिलो हुने बिश्वास
मणिपाल अस्पतालको सेवा अन्तराष्ट्रिय स्तरको बनाउन पहल, संभवत नेपालकै ठुलो आइसीयु कक्ष संचालनमा