पोखरा, लमजुङ जिल्लामा रहेका क्याम्पसहरु मध्ये तिनवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघका उमेद्वारहरु बिजयी भएका छन । लमजुङको सुन्दर बजार नगरपालिका–९ भोटेओडारस्थित भक्ति आदर्श बहुमुखी क्याम्पस र वडा नम्बर ७ सुन्दर बजारस्थित मातृभूमि बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी भएको हो । यसैगरी मध्यनेपाल नगरपालिका–३, सोती पसलस्थित मंगला क्याम्पसमा पनि नेविसंघको प्यानल नै सर्वसम्मत भईसकेको कारण तीनवटा क्याम्पसमा नेविसंघ बिजयी भएको हो ।
मंगलबार भएको मतदानमा भक्ति आदर्श क्याम्पसमा ८१ मत खसेकोमा नेविसंघका उम्मेदवार सुशील अधिकारी ४९ मतका साथ सभापतिमा निर्वाचित भए । अनेरास्ववियुका उम्मेदवार रजिना घलेले ३२ मत पाइन् । सचिवमा नेविसंघका अर्पणा अधिकारी ४६ मतका साथ विजयी भइन् । अनेरास्ववियुका अनिशा सुनारले २९ मत र अखिल (क्रान्तिकारी) का प्रमिला रेग्मीले ३ मत पाइन् ।
मातृभूमि क्याम्पसमा ७५ मत खसेकोमा सभापतिमा विजयी नेविसंघका विशाल थापाले ५५ मत पाए । अनेरास्ववियुबाट सभापतिको उम्मेदवार बनेकी मन्दिरा सार्कीले १९ मत पाइन् । सचिवका उम्मेदवार नेविसंघका सरला अधिकारी ४६ मतका साथ विजयी भइन् । अनेरास्ववियुका उम्मेदवार सृजना सार्कीले २६ मत पाइन् ।
सदरमुकाम बेंसीसहरमा रहेको मर्स्याङ्दी बहुमुखी क्याम्पसमा ५ सय ४९ मतदाता रहेकोमा ४ सय १३ मत खसेको छ । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा ४ सय ७३ मतदाता रहेकोमा सत प्रतिशत मत खसेको छ । ति क्याम्पसमा मतगणना पुरा हुन बाँकी छ।
यता मध्यनेपाल नगरपालिका ४, दुइपिप्ले रम्घास्थित पुष्पलता जनएकता क्याम्पस र वडा नम्बर ६, भोर्लेटारस्थित ईशानेश्वर क्याम्पसमा चुनावी प्रक्रिया नै अघि नबढेको कारण ति क्याम्पसमा निर्बाचन प्रक्रिया अगाडी बढ्ला वा नबढ्ला भन्ने अन्योल कायम छ ।