पोखरा, धेरै बिद्यार्थी संख्या रहेको पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र बिद्यार्थीको निर्बाचनको क्रममा सबै प्रक्रिया पुरा भएर पनि मतदान प्रक्रिया भने शुरु हुन सकेको छैन । अखिल छैठौैका उम्मेदवारको नाम मतपत्रमा रहे पनि मतदान गर्ने कोस्टक छुटेपछि बिबादका कारण मतदान प्रक्रिया सुरु हुन नसकेको हो।
पृना क्याम्पसको स्ववियुको अध्यक्ष बन्नका लागि ८ जनाको उम्मेदवारी परेको छ । जसमध्ये कमल सुवेदी र विप्लपी न्यौपाने २ जना स्वतन्त्र रुपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार हुन् । जसअनुसार नेकपा एमालेको अनेरास्ववियुबाट विष्णु पौडेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।
समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेद्वारहरु पनि चुनावी मैदानमा छन् । क्याम्पस प्रशासनले चैत ५ गते हुने निर्वाचनका लागि तयारी तीव्र बनाएको छ । पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले सबै संगठनलाई मिलाएर मतदान सुरु गरिने बताएका छन् । अहिले क्याम्पस बाहिर नाराबाजी भैरहेको छ।
१६ वर्षसम्म हुन नसकेको चुनाव हुने माहोल बन्दा विद्यार्थीहरु उत्साहित देखिएका थिए । यसअघि २०६५ सालमा नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट रश्मि आचार्य स्ववियु सभापति चुनिएका थिए । त्यसयता पृथ्वी नारायण क्याम्पसमा चुनाव हुन सकेको छैन । क्याम्पसमा ९ हजार २ सय ७० मतदाता रहेको उनले बताए । क्याम्पसले निर्वाचन दिन चैत्र ५ गते मंगलबार पोखरा १ र ११ जोड्ने झोलुंगे पुल पनि बन्द गर्ने सूचना प्रकाशित गरेको छ ।
अखिल (छैठौै) का क्याम्पस इकाई समितिका अध्यक्ष सोमनाथ अधिकारीले विज्ञप्ति जारी गरी सबै संगठनको सर्वदलीय बैठक नभईकन निर्वाचन अगाडि बढाएमा त्यसबाट हुने सम्भावित दुर्घटनाको जिम्मेवारी निर्वाचन आयोग नै हुने चेतावनी दिएका छन् । अहिले मतपत्रमा आफ्नो संगठनको अध्यक्षको उमेद्वारलाई भोट गर्ने कोस्ट नराखिकन मतपत्र तयार गरिएको भन्दै उनको नामबाट जारी बिज्ञप्तिमा भनिएको छ , ‘यस देशकै ठूलो पृथ्वीनारायण क्याम्पसमा विगत लामो समय देखि करिब १६ वर्ष पछि हुन लागेको स्ववियु निर्वाचनमा हाम्रो सक्रिय संगठन उत्साहजनक रुपमा लागेको र उमेदवारी समेत दर्ता गरेको अबस्थामा अहिले मतपत्रमा हाम्रो अध्यक्षको उमेद्वारलाई भोट गर्ने कोस्ट नराखिकन मतपत्र छापेकोले गर्दा हाम्रो संगठनको ध्यान आकर्षण भएको छ । सर्बदलीय बैठक नगरिकन मतदान प्रक्रिया अगाडी बढाए त्यसको नतिजा निर्बाचन समितिले नै भोग्नुपर्ने चेतावनी दिन चाहन्छौं ’
यसैगरी अध्यक्षका स्वतन्त्र उम्मेदवार कमल सुवेदीले पनि विज्ञप्ति जारी गरी क्याम्पस प्रसाशनलाई यथाशीघ्र स्वच्छ, निश्पक्ष, शान्तिपूर्ण र भयरहित वातवरणमा तुरुन्त निर्वाचन गर्न अपिल गरेका छन् । बिहान ८ बजेबाट हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन क्याम्पस प्रसाशनको लापरवाहीको कारण हुन नसकेको उनले आरोप लगाएका छन् । उनले भनेका छन्, ‘यो लापरवाही सुन्दा प्राविधिक त्रुटि बुझिए पनि क्याम्पस प्रसाशनको स्वतन्त्र उम्मेद्वारले जित्ने लगभग निश्चित भइसके पछाडि गरिएको सुनियोजित षडयन्त्र हो ।’
यसैगरी पोखराको लामाचौर स्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा समेत चुनावी प्रक्रिया सहज रुपमा अगाडि बढेको छैन । क्याम्पसको होस्टेलमा रहेका विद्यार्थीले मतदान गरे पनि बाहिरका विद्यार्थीलाई गेटबाट पस्न रोक लगाइएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अन्तिम नामावलीमा नाम काटिएको भन्दै नेविसंघ नेताहरूले क्याम्पस गेटमै अनसन गरेका कारण विद्यार्थीहरु गेटभित्र पस्न पाएका छैनन् ।
नेपाल विद्यार्थी संघ इन्जिन्यरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस ( डब्लुआरसी) पोखराको मूल गेटमै नेविसंघ नेता कृष्ण्जंग कार्की र राजिव अधिकारीले सोमबार बेलुकीबाट अनसन थालेका हुन् । नेपाल विद्यार्थी संघको तर्फबाट सचिवको उमेदवार रहेका प्रशान्त अधिकारीको नाम निर्वाचन समितिले प्रकाशित नगरेपछि नेविसंघ विरोधमा उत्रिएको हो ।
निर्वाचन समितिले षड्यन्त्रपूर्वक सचिवको नाम अन्तिम नामावलीमा प्रकाशन नगरेपछि सो नाम कायम गर्न माग गर्दै नेविसंघका १३ केन्द्रीय सदस्यले सामूहिक विज्ञप्ति जारी गर्दै शुक्रबार क्याम्पसका तालाबन्दी गरेका थिए । तर, सोमबार बेलुकीसम्म पनि माग पूरा नगरेको भन्दै क्याम्पसको मूल गेटमै अनसन शुरू गरिएको अनसनरत कार्कीले बताए । दर्ता गरेको नाम कायम नभएसम्म स्ववियु निर्वाचन हुन नसक्ने उनीहरूको अडान छ ।