काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाह केहि समयको पोखरा बसाईंपछि आइतबार काठमाडौँ फर्किएका छन । करिब १ महिना लामो गण्डकी प्रदेशको बसाइ र घुमघामपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पर्यटकीय सहर पोखरा हुँदै काठमाडौँ फर्किएका हुन । उनी काठमाडौँ फर्किँदा त्रिभुवन विमानस्थल क्षेत्रमा ठुलो संख्यामा उपस्थित राजावादीहरुले राष्ट्रिय झण्डासहित स्वागत गरे।
उनलाई स्वागत गर्न राजावादीले केही दिनदेखि नै सार्वजनिक रुपमा आह्वान गरेका थिए । जसअनुसार राप्रपा, राप्रपा नेपाल सहित दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका साथै विभिन्न धार्मिक र राजावादी संघ/संगठनका प्रतिनिधिहरु सहित आम सर्बसाधारण विमानस्थल पुगेका थिए ।
विमानस्थलबाट निजि र सुबिधा सम्पन्न गाडीमा बाहिरिएका पूर्वराजाको सामुन्ने उनका समर्थक तथा राजावादीहरुले ‘राजा आउ देश बचाउ’ को नारामात्रै लगाएनन् गणतन्त्रिक व्यवस्था र त्यसको नेतृत्वकर्ताविरुद्ध चर्को आक्रोश समेत पोखे । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले एक भिडियो सन्देशमार्फत अब आफू चुप नलाग्ने आसयसहित आफूलाई साथ दिन आह्वान गरेसँगै राजावादीहरुले आफ्ना गतिविधि बढाउँदै लगेका हुन् । सोही क्रममा राजावादीहरु एकत्रित बन्दै आइतबार उनलाई विमानस्थलमा स्वागत गर्ने भन्दै भेला भएका हुन् ।
पोखराबाट समिट एयरको जहाजमार्फत करिब अपराह्न ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी त्यहाँबाट निजी निवास निर्मल निवास जाँदै गर्दा राजावादीले स्वागत गरेका हुन् । विमानस्थलबाट बाहिर निस्किने क्रममा पूर्वराजा ज्ञानेन्द्रलाई नेपालको झण्डा बोकेका समर्थकहरुले भव्य स्वागत गरे। उनी निर्मल निवास नपुग्दासम्म राजावादीहरुले सडकमा उनको पक्षमा नाराबाजी गरिरहे ।
करिब सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेट हुँदै बाहिरिएका पूर्वराजा शाह करिब साढे ६ बजेमात्र निर्मल निवास पुगेका थिए। उनको स्वागतमा बाटोमा सर्वसाधारणहरू बसेका थिए। उनले गाडीबाट हात हलाउँदै समर्थकलाई अभिवादन गरेका थिए। उनलाई स्वागत गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल तथा संगठनका नेता कार्यकर्ताहरु पुगेका थिए।
पूर्व राजाले भारतको गोरखपुरबाट फर्केसँगै वर्तमान व्यवस्था विरुद्ध कटाक्ष सहित प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देश मार्फत अब चुप लागेर नबस्ने बताएका थिए । त्यसलगत्तै उत्साहित भएका राजावादीहरूले पूर्वराजाको पक्षमा प्रदर्शनहरू गर्दै आएका छन् । पोखरामा केहि दिन बसेका पुर्ब राजाले पोखरा र आसपासका धार्मिक एबम सांस्कृतिक स्थलको दर्शन गर्नुको साथै नागरिक अभिनन्दन ग्रहण गरेका थिए
पुर्ब राजालाई स्वागत गर्न आयोजित र्यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर समेत प्रयोग गरिएको थियो । गत माघ १७ गते पूर्व राजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए । त्यहाँ उनले उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए ।
प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग भएको देखिएको हो । योगी आदित्यनाथ सहितको ब्यानरमा ‘राजसंस्था पुनर्स्थापना गरौँ’ नारा लेखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो फेसबुकमा राजावादीको र्यालीमा योगी आदित्यनाथको तस्बिर प्रयोग भएकोबारे चासो राखेका छन् । छुट्टाछुट्टै मोटरसाइकलमा बोकिएको योगी र पूर्वराजा ज्ञानेन्द्रको तस्बिर राख्दै उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रवादी महोदयहरुकाले र्यालीमा प्रयोग गरेका यी २ फोटाहरू…..’
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने यस विषयमा अनभिज्ञता देखाए । उनले भने, ‘कसले प्रयोग गरे केही थाह छैन ।’
तस्बिर – रातोपाटी/ देशसंचार