पोखरा, राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन सराङकोट आइपुगेका छन् । सराङकोटमा बुधबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको हो । फागुन १४ देखि शुरु भएको उक्त महाउत्सब २१ फागुनसम्म चल्ने छ ।
महायज्ञमा सहभागी बन्ने र सरांग्कोटमा स्थापित स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालय मन्दिरको उद्घाटनको लागि राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट सिधै सरांग्कोट पुगेका हुन ।
सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको दाबी आयोजकहरुको रहेको छ ।
उनीहरुले अब १५ करोड रुपैयाको लागतमा थप संरचना निर्माण गर्नुपर्ने आबश्यकता रहेको बताएका छन। महाउत्सवका अवसरमा सामूहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रहशान्ति, रुद्री, चौरासी पुजा तथा संगीतमय भजनकीर्तन गरिनेछ ।
महायज्ञ अर्थात महाउत्सब शुरुहुनु पूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धित सरुन खेलसहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्यासहित कलश यात्रा सुरु भएको थियो । उक्त यात्रा विन्ध्यवासीनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मूल समारोहमा परिणत भएको थियो ।
महाउत्सबको पहिलो दिन अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङबाट २५ लाख, सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी परिवारबाट १५ लाख, खिमबहादुर जिसीको परिवारबाट २ लाख ३३ हजार एवम् अन्य दाताको गरी कुल ४५ लाख ७५ हजार सहयोग संकलन भएको प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए ।
उद्घाटन समारोहमा अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङले सराङकोट धार्मिक पर्यटकीयस्थल अलावा शक्तिपीठका रुपमा क्रमश स्थापित हुँदै गएको जनाउँदै सत्कर्ममा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले आफूले धार्मिक संघसंस्थामा सक्दो सहयोग गर्दै आएको स्मरण गर्दै सराङकोट वास्तवमै स्वर्गको टुक्रा भएको अनुभव सुनाए ।
महायज्ञका मुख्य वाचक भागवत्भाष्कर पण्डित कमलनयन गौतमले सराङकोटलाई पुण्यभूमिको संज्ञा दिँदै सराङकोट पहिचान स्थापित भूमि भएको स्पष्ट पारे । उनले सराङकोट धामको वृद्धि विकासमा लागि योसहित ६ यज्ञ गरिएको स्मरण गर्दै सराङकोट टप पुगेपछि स्वर्ग पुगेको महसुस हुने गरेको औँल्याए ।
पोखरा महानगरपालिका प्रवक्ता एवं पोखरा २५ का अध्यक्ष मोतीराज तिम्सिनाले सराङकोट महाउत्सवले पोखरा भ्रमण वर्षलाई महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले महाउत्सव समग्र पोखरेलीकै चाड भएको उल्लेख गरे । उनले पोखरा कोटैकोटको शहरका रुपमा स्थापित हुँदै गएकोमा खुशी व्यक्त गर्दै सराङकोटको स्तरोन्नतिमा महानगरले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले उत्सव समग्र पोखरेलीको चाड भएको बताउँदै सराङकोटमा निर्माण भएका संरचना संरक्षणमा सबैले ध्यान दिनुपर्ने जनाए । २०६१ सालदेखि सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति गठनपश्चात गुरुयोजना निर्माण गरी अनवरत सहयोग जुटाउँदै त्यहाँ निर्माण कार्य गरिएको स्पष्ट पारे ।
सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, वडा सदस्य कल्पना ढकाल क्षत्री लगायतले पनि महाउत्सवको महत्वमाथि प्रकाश पार्दै सबैको साथ सहयोगबाट उत्सव सफल हुने विश्वास व्यक्त गरे ।