पोखरा, पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालले अस्पतालमा आउने बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि नयाँ प्रबिधि र उपकरण संगै जनशक्तिको प्रयोगलाई बढाउंदै गएको छ। बिभिन्न सेवा र अत्याधुनिक उपकरणहरु थप गर्ने क्रममा न्युरो-नेभिगेसन मेसिन पनि थप गरिएको छ।
अस्पतालमा उक्त मेसिनले सेवा दिंदा बिरामीलाई जोखिम कम हुने, शरिरमा अपरेसन गर्दा अनाबश्यक ठाउँमा घाउ नहुने र डाक्टरलाई पनि बिरामीको उपचार गर्न सहज हुने चिकित्सकहरुको भनाई छ। न्युरो नेभिगेसन मेसिनले सर्जनलाई टाउको तथा नाक, कान, घांटी र गर्धनको अप्रेसन गर्नको लागि सहज हुने र बिरामीले सजिलो र भरपर्दो रुपमा उपचार पाउने अस्पतालले जनाएको छ।
यो प्रविधिको प्रयोग गरेर ब्रेनट्युमरहरु, दिमागमा पीप जमेको साथै ढाडमा अपरेसन गर्नको लागि समेत सहजता हुने बिश्वास चिकित्सकको रहेको छ । जटिल भन्दा जटिल अपरेसन अझ बढी सुरक्षित तरिकाले गर्नको लागि यो प्रविधिले सहयोग गर्ने अस्पतालका चिकित्सकहरुको भनाई छ ।
मणिपाल अस्पतालमा लामो समयदेखि कार्यरत न्युरो सर्जन डा. बालगोपाल कर्माचार्यले आफुले मणिपाल अस्पतालमा काम शुरु गरेको १/२ बर्ष देखि नै न्युरो-नेभिगेटर मेसिन ल्याउन बारम्बार आग्रह गरेको तर अस्पतालको स्वामित्व पोखरेली समुहले लिएको दुई बर्षमा नै आफ्नो कुराको सुनुवाई भएको भन्दै खुशी प्रकट गर।
बिगतमा भारतीय समूहको स्वामित्व रहेको मणिपाल अस्पताल अघिल्लो तिस महिना देखि नेपाली ब्यबसायीको समुहले स्वामित्व लिएर संचालन गरिरहेको छ। पोखराका प्रतिष्ठित ब्यबसायी आनन्दराज बतास र नारायण पौडेल सहितको समुहले मणिपाल अस्पतालको स्वामित्व लिएर संचालन गर्न लागेपछि अस्पतालमा अत्याधुनिक उपकरणहरु जडान गर्ने र सोहि अनुरुपको सेवालाई तिब्रता दिने क्रममा न्युरो-नेभिगेसन मेसिन जडान गरिएको हो ।
अस्पतालका न्युरो सर्जन डा. कर्मचार्य, र डा. पुष्पराज कोइराला, ईएनटी बिभाग प्रमुख डा. कृष्णचन्द्र रिजाल, अस्पतालका निर्देशक डा. अभिषेक मास्के, अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिल र अस्पतालका संचालक नारायण पौडेल लगायतले उक्त मेसिनको सार्बजनिक रुपमा प्रदर्शन गराएका थिए ।
नयाँ उपकरण न्युरो नेभिगेसन मेसिनको औपचारिक रुपमा प्रदर्शन गर्न आयोजित समारोहमा बोल्दै मणिपाल अस्पतालका न्युरो सर्जन डा. बालगोपाल कर्माचार्यले न्युरो नेभिगेसन मेसिनको माध्यमबाट उपचारमा सहजता आउने बताए । नयाँ मेसिनको प्रयोग गरेर सोमबार गर्धनको बिरामीको अपरेसन गरिसकेको उनले खुलाए ।
मणिपाल अस्पतालका संचालक नारायण पौडेलले मणिपाल अस्पतालमा उपचार गराउन आएका एबम पोखरा सहित गण्डकी प्रदेशका बिरामीहरु उपचारको लागि हेलिकप्टर चढेर पोखरा बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने अस्पतालले अत्याधुनिक उपचार पद्दती र सुबिधा थप गर्दै आएको बताए । न्युरो र कार्डियोसंग सम्बन्धित बिरामीहरुको सबै किसिमको उपचार मणिपाल अस्पतालले प्रदान गर्ने बताउंदै पौडेलले भने । ‘यसको लागि अस्पताल ब्यबस्थापनले सेवा, उपचार पद्दती र उपकरण थप गर्नको लागि आबश्यक लगानी थप गरिरहेको छौं ।’
कार्यक्रममा अस्पतालका निर्देशक डा. अभिषेक मास्केले न्युरो नेभिगेसन मेसिन गण्डकी प्रदेशका अस्पतालहरु मध्ये मणिपाल अस्पतालले प्रयोगमा ल्याएको जानकारी दिंदै नयाँ मेसिनसंगै सोहि अनुसारको दक्ष जनशक्तिको ब्यबस्थापन गरि बिरामीहरुलाई सेवा उपलब्ध गराउन प्रतिबद्द रहेको बताए । डा. मास्केका अनुसार अस्पतालका अन्य बिभागमा पनि नयाँ प्रबिधि, उपकरण र जनशक्ति ब्यबस्थापन गर्ने तर्फ अस्पताल ब्यबस्थापनले पहल गरिरहेको स्पष्ट पारे ।
मणिपाल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले सन् २०२२ को अक्टोबरमा नेपाली ब्यबसायी समुहले अस्पतालको स्वामित्व लिएपछि अस्पतालको संरचना, नयाँ उपचार पद्दती र नयाँ उपकरणको प्रयोगमा अस्पताल गम्भीर रहेको जानकारी दिंदै बिरामीको लागि अन्तराष्ट्रियस्तरको प्रभावकारी सेवा उपलब्ध गराउन अस्पताल सक्षम बन्दै गएको स्पष्ट पारे ।
१२ वर्षदेखि मणिपाल शिक्षण अस्पतालमा कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डा. कृष्णचन्द्र रिजालले न्युरो सर्जनसँग सम्बन्धित न्युरो नेभिगेसन सिस्टमले नाक कान घाटीको उपचारमा धेरै सहयोग पुग्ने बताए । यो मेसिनको प्रयोगले सर्जरी गर्ने डाक्टरलाई सहजता तथा समस्यामा परेका बिरामीलाई समेत प्रत्यक्ष लाभ पुर्याउने उनको बिश्वास थियो ।
अस्पतालका मार्केटिंग बिभाग प्रमुख रोशन अधिकारीका अनुसार अस्पतालमा उपचारको लागि आउने बिरामीहरुको सहजताको लागि नयाँ प्रबिधि र उपकरण सहित जनशक्ति थप गर्ने तर्फ अस्पताल ब्यबस्थापनले गम्भीरता देखाइरहेको गुरुकुल खबरलाई जानकारी दिए ।