पोखरा, प्रत्येक बर्ष पोखरामा हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत यस बर्ष हुने १९ औं शृंखलाको सफल पोखरा म्याराथन -२०८१ को तयारी करिब पुरा भएको छ। पोखरा म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि म्याराथनको तयारी करिब पुरा भएको जनाएको छ ।
विश्वका विभिन्न मुलुकमा आयोजना गरिने सिटी म्याराथनको अबधारणा अनुरुप पोखरामा करिब दुई दशक अघि यो म्याराथनको आयोजना गर्न लागिएको हो। शुरुवातका दिनमा फागुन ७ गतेका दिन म्याराथन हुने गरेको भएपनि बिगत केहि बर्षदेखि यो प्रतियोगितालाई फागुनको पहिलो शनिबार संचालन गर्ने निर्णय भएअनुरुप यसबर्ष फागुन ३ गते शनिबार पोखरा म्याराथन हुन लागेको हो । म्याराथनलाई ब्यबस्थित रुपमा सम्पन्न गर्न मूल आयोजक समिति र विभिन्न २८ वटा उपसमितिहरु गठन गरेर आबश्यक तयारी गरिएको छ ।
पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराउने पोखरा म्याराथनलाई शहरको एक उत्सबको रुपमा मनाएर खेल पर्यटनको माध्यमबाट पोखराको बिकास गर्ने उद्धेश्यका साथ २०५८ सालमा स्थापित नेपाल भुतपुर्ब खेलाडी मञ्चको अगुवाईमा पोखरा म्याराथनको शुरुवात गरिएको हो। पछिल्लो समय पोखरा म्याराथनलाई पोखराको प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गरेपछि पोखरा म्याराथनको नाम नै सफल पोखरा म्याराथन राखिएको छ ।
पोखरा रंगशालाबाट सुरू हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उद्घाटन संघिय सरकारका अर्थमन्त्री विष्णु पौडेलले गर्ने कार्यक्रम रहेको छ । पोखरा रंगशालाबाट सुरू हुने म्याराथन दौड पोखरा नगरको विभिन्न भाग परिक्रमा गरी पोखराको लेकसाइड हल्लन चोकमा पुगेर सम्पन्न हुने छ। अघिल्लो बर्ष हल्लनचोकको क्यम्पिंग साइड भित्र समापन गरिएको भएपनि यस बर्ष भने सडकमा नै समापन गरिने आयोजकले जनाएको छन ।
करिब दश हजार धावक दौडिने
पत्रकार सम्मेलनमा म्याराथनको आयोजक संस्था भुतपुर्ब खेलाडी मंचका अध्यक्ष दिल बहादुर गुरूङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ वटा देशका ३ हजार १ सय ७५ धावकहरु र रन फर फनमा दौडिने करिब ७ हजार गरि करिब १० हजार जनाले दौडमा सहभागिता जनाउने अनुमान गरिएको बताए । उनका अनुसार खुल्ला म्याराथन (४२.१९५ किमि) पुरुषतर्फ २१ देशका ८० विदेशी सहित १५० जना सहभागी रहेकोमा महिलाहरुको संख्या ८ जना मात्र रहेको छ ।
त्यसैगरी हाफ म्याराथन (२१.०१९७ किमि) महिला तर्फ नेपाल सहित १० देशका ४० जना, हाफ म्याराथन पुरुषतर्फ १० विदेशी र अन्य नेपाली सहित ११० जना, १० किमि पुरुषतर्फ नेपाल सहित ११ देशबाट २ सय ११ जना, १० किमि महिलातर्फ ११ विदेशी सहित १सय ९ जना, ५ किमि भेट्रान्स (५० वर्ष भन्दा माथि) पुरुष र महिलातर्फ गरी ६० जनाले दौडमा सहभागिता जनाउने भएका छन ।
यसै गरि ५ किमि छात्रतर्फ १ हजार ४ सय ७० जना र ५ किमी छात्रातर्फ १ हजार २५ जना गरी कूल ३ हजार १ सय ७५ जनाले प्रतियोगितामा दौडिनको लागि सहभागी बन्न नाम दर्ता गराएका छन। रमाइलोको लागि वर्षको एक दिन मात्र भए पनि दौडिनु पर्छ भन्ने सन्देश दिन दौडिने कार्यक्रम अर्थात रन फर फनमा करिव ७ हजार सहभागी बन्ने अनुमान आयोजकको छ।
विभिन्न विधामा गरि एक्काईस लाख बढीको पुरस्कार
म्याराथन अन्तर्गत विभिन्न १४ वटा क्याटागोरीमा गरी रु २१ लाख ३४ हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ। जस अनुसार पहिलो पुरस्कारको राशी रु. पांच लाख रहेको छ भने दोश्रो हुनेलाई तिन लाख, तेश्रो हुनेलाई दुई लाख, र शान्त्वना हुनेलाई चौथो देखि आठौँ हुनेसम्मको लागि पनि नगद पुरस्कारको ब्यबस्था गरिएको छ।
म्याराथनमा बिदेशी सहभागीको आकर्षण बढाउन प्रथम पुरस्कारको राशि दश लाख पुर्याउने लक्ष राखिएको बताइएको छ। यसका साथै खुल्ला म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहित गर्न छुट्टै पुरस्कारको ब्यबस्था गरिएको र हाफ म्याराथनतर्फ यस बर्ष पुरुष तर्फको इभेन्ट थप गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
१९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न गर्न १ करोड ८९ हजार खर्च हुने अनुमान गरिएको मन्चका अध्यक्ष दिलबहादुर गुरुंगले जानकारी दिए । यो रकम स्थानीय एबम राष्ट्रिय र अन्तराष्ट्रियस्तरका विभिन्न व्यक्ति र संस्थाबाट सहयोग प्राप्त हुने बिश्वास आयोजकको रहेको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि लगायतका सरकारी एबम गैर सरकारी निकाय र कार्यालयले म्याराथनको लागि सहयोग गर्ने बुझिएको छ।
म्याराथनलाई प्रबिधिमैत्री बनाईदै
नेपालमा हुने म्याराथनहरु मध्ये पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता म्याराथनहरुको अन्तराष्ट्रिय छाता संस्था ‘एम्स’ मा दर्ता रहेको र पोखरा म्याराथनको रुट समेत एम्सबाट प्रमाणित भएको आयोजकको भनाइ छ। पोखरा म्याराथन संचालन भएको करिब दुई दशक बित्न लागेको भएपनि अघिल्लो दुई बर्षदेखि यसलाई पूर्ण रुपमा प्रविधिमैत्री बनाइएको छ। यसै अनुरुप खेलाडीहरुको दौडको समय निश्चित गर्न सहज हुने विश्वासका साथ चिप्सको प्रयोग गर्न थालिएको छ।
चिप्सको प्रयोगले सहभागी धावकलाई हौसला प्राप्त भएको र निर्णायकहरुलाई पनि सजिलो भएको म्याराथनका आयोजक संस्था भूपू खेलाडी मन्चका पुर्व अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । पोखरा म्याराथनलाई नेपालको जेठो म्याराथनको रुपमा लिने गरिएको छ ।
पोखरासंगै अन्य प्रदेशमा पनि म्याराथन
१९ औं पोखरा म्याराथनसंगै यस वर्ष सातै प्रदेशमा ७७७ म्याराथनको समेत सुरूवात हुने नेपाल रन यूके तथा धरान रनका संस्थापक सन्तोष राईले जानकारी दिएका छन । पोखरा म्याराथनसंगै, धरान रन, लुम्विनी, सुदुर पश्चिम हुँदै सातै प्रदेशमा १४ जना धावकहरु दौडने छन् । जसमा हाफ र फुल म्याराथन समावेश गरिएको छ ।
७७७ म्याराथनमा दुईजना महिला समेत सहभागी छन् । “यो एउटा नयाँ र पहिलो प्रयास हो” नेपाल रन युकेका संस्थापक राइले भने“हामी नेपाललाई विश्वमा म्याराथनमार्फत चिनाउन चाहन्छौं ।” पत्रकारहरु माझ ओलम्पियन एवं धाविका सन्तोषी श्रेष्ठ पनि उपस्थित थिइन ।
पोखरामा मासिक/ साप्ताहिक रुपमा दौड कार्यक्रम गरिने
यसैबीच पोखरामा दौड संस्कृतिको विकास गर्दै नागरिकहरुमा स्वास्थ्य सचेतना बढाउने उद्धेश्यले मासिक र साप्ताहिक दौड कार्यक्रम समेत आयोजना गर्न थालिएको छ। सोहि अनुरुप गत पुष २७ गते र माघ १९ गते गरि दुई संस्करणमा ३ किमी र ५ किमीको छात्र /छात्रा दौड प्रतियोगिता सम्पन्न भैसकेको मन्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुंगले बताए। स्वास्थ्यको लागी र पोखराको लागि भन्ने सन्देशका साथ यस किसिमको प्रतियोगिता आयोजन गर्न थालिएको बताउँदै गुरुंगले गुरुकुल खबरसंग भने- “पोखरा महानगरपालिकाले लिएको ‘स्वच्छ पोखरा, स्वस्थ पोखरेली’ को नारा लाइ सार्थक बनाउन पनि यस किसिमको दौड कार्यक्रम उपयोगी हुने भएकोले वडा कार्यालयहरु संगको सहयोग र समन्वयमा यो कार्यक्रमलाई निरन्तरता दिने लक्ष राखिएको छ।”