पोखरा. पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आज शनिबार साँझ ‘ब्याक टु नाइन्टिज’ बिरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्दैछ । पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने कार्यक्रमा नब्बेको दशकमा पोखरामा उदाएका चर्चित ब्याण्डमध्ये ७ ब्याण्ड एकै स्टेजमा उतार्ने तयारी छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता एवं गण्डकी प्रदेश सरकारका संस्कृति तथा प्रविधि मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष आतिथ्यतामा हुने कार्यक्रम साँझ ५ बजेदेखि १० बजेसम्म हुनेछ ।
नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको बिरासत फर्काउन कार्यक्रम गर्न लागेको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा कन्दरा ब्याण्ड (विवेक श्रेष्ठ) ले कन्दराले तगारोमा रुमाल राखी, तिमी पारी र लेककी हे माया गीतहरु गुञ्जाउनेछ । डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ) ले झ्याम्म झ्याम्म, कैलाशैमा, झ्याम्मै चौतारी र तारा खस्यौली गीत गाएर दर्शकको मन जित्नेछन् ।
पोखरा सांगीतिक कलाकार संघ अध्यक्ष एवं लेकाली व्याण्डका हर्कराज गुरुङ (भाइ) र नवीन गुरुङले पालैपालो यो मुटुमा, सपनीमा, कहाँबाट र पहिलो नजर गीत गुञ्जाएर दर्शकलाई फरक स्वाद पस्कनेछन् ।
देउराली व्याण्ड (शान्त बज्राचार्य) ले देउरालीले ढुंगे साँघुको मेलामा, लुकीचोरी र सररर हावा गीतहरु प्रस्तुत गर्दा ब्रोसिस व्याण्ड (प्रकाश राना)ले चाईना कम्पनी र जादू तिम्रो नजरले गुञ्जाउने छन् ।
मध्यान्ह (कर्णदास र कुमार गुरुङ) ले जिन्दगीको के भरोसा र मन मनै मन पराइसकेछु गीत गुञ्जाउँदा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ)ले यो जिन्दगानी र उकाली चढी गीतहरु प्रस्तुत गर्नेछन् ।
यो कार्यक्रम बिरासत फर्काउन कोशेढुंगा सावित हुने आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाइ)ले बताए ।
पुराना सांगीतिक व्याण्डहरुको पुनर्जागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए ।
नब्बेको दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्ने कार्यक्रम संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए ।
प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले पोखराको सांगीतिक आकाश फराकिलो बनाउन कार्यक्रमले सघाउने बताए । यसले पर्यटनको राजधानी पोखराको रि–ब्राण्डिङ गर्ने अपेक्षा गरे ।
पोखराको कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) को प्रस्तुतिमा हुने कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गण्डकी प्रदेश सरकारको सहकार्य छ । पोखरा महानगरपालिका प्रवद्र्धक हो ।