पोखरा, नेपाल सरकारका गृहमन्त्री एबम नेपाली काँग्रेसका नेता रमेश लेखकले राजनीतिकर्मीहरुले प्रतिष्पर्धा र मेल मिलापलाई संगै अगाडी बढाउन सकिन्छ भन्ने कुरा खेलकुद र खेलाडीबाट सिक्नुपर्ने बताएका छन। पोखराको पुरानो टुडिखेलमा स्थानीय बुद्धटोल क्लबलेआयोजना गरेको आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन।
प्रतियोगिताको उद्घाटन गर्दै उनले भने ‘खेलकुदमा एक आपसमा प्रतिष्पर्धासंगै मेलमिलाप आबश्यक हुने र त्यसलाई कार्यान्वयन गरिए जस्तो राजनीतिमा पनि प्रतिष्पर्धा र मेलमिलाप आबश्यक हुन्छ तसर्थ खेलाडी र खेलकुदबाट राजनीतिकर्मीले प्रतिष्पर्धा संगै मेलमिलाप गर्न सिक्नुपर्छ ।”
गृहमन्त्री लेखकले अहिले राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक रहेको कुराको चर्चा गरे यसै सन्दर्भमा उनले खेलकुदले सबैलाई अनुशासनमा राख्ने मात्र नभएर मानिसको स्वास्थ्य तन्दुरुस्त राख्ने र आपसी सद्भाव कायम गर्ने भएकोले खेलकुद राष्ट्रको लागि अनि मानिसको मानसिक एबम शारीरिक स्वास्थ्यका लागि अनिवार्य रहेको उल्लेख गरे ।
गृहमन्त्री लेखकले अहिले युवाहरुको ठुलो संख्या कुलतमा फसिरहेका कारण विभिन्न क्लब र संघसंस्थाहरुले लागुऔषध बिरुद्ध जनचेतनामूलक कार्यक्रमहरु अभियानकै रुपमा संचालन गर्नुपर्नेमा जोड दिए । “अहिले युवाहरु लागूऔषधमा फसिरहेका छन् । लागु औषध सेवन गर्नेहरुबाट सवारी साधन चलाउंदा दूर्घटन हुने र धन जनको क्षती हुने, डीप्रेसन जस्ता समस्या आउँदा आत्महत्या गर्ने तथा व्यक्ति परिवार र समुदायमा समेत विभिन्न समस्या र तनाब उत्पन्न हुने गरेकोले यसमा न्यूनीकरण गर्न क्लब र संघसंस्थाले लागु औषध बिरुद्धको अभियान नै संचालन गर्नुपर्ने भएको छ” गृहमन्त्री लेखकको भनाई थियो ।
पोखरा नेपालकै सुन्दर नगर रहेको कुराको चर्चा गर्दै मन्त्री लेखकले पोखराको सुन्दरता संगै यहाँको कला, साहित्य र संस्कृति लगायतको देश भित्र मात्र नभएर बिदेशमा पनि पोखराको चर्चा हुनेगरेको स्मरण गराए ।
गृहमन्त्री लेखकले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन। उद्घाटन समारोहमा क्लबका अध्यक्ष आश्विन थापा, उपाध्यक्ष सन्तोष गुरुङ, सचिब रेशम सापकोटा र क्लबका सल्लाहकार गौप्रसाद गुरुङ लगायतले क्लबका बिबिध गतिबिधि र हाल जारी फुटबल प्रतियोगिताको बारेमा चर्चा गरेका थिए ।
प्रतियोगिताको उद्घाटन समारोहमा संबिधान सभा सदस्य शारदा पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया, कास्कीका सहायक प्रजिअ गंगाबहादुर क्षत्री, नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय उपसभापति एबम नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुली, पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राज बहादुर गुरुङ, स्थानीय सामाजिक एबम ब्यबसायिक ब्यक्तित्व सिता गुरुङ लगायतका अतिथि सगभागी थिए ।
उक्त प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बुद्धटोल युवा क्लबले क्याफे अमेरिकानो बारिष्टा ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष आशिम थापाले जानकारी दिए । उनका अनुसार बुद्धटोलको जीतमा विपिन मगर र रिनिस तामाङले समान १/१ गोल गरे ।
यस्तै दोस्रो खेलमा एन टु क्याफेले मसिना बगरलाई १–० गोलले पराजित गर्यो । एन टु क्याफेको जीतमा विशाल गुरुङले निर्णायक गोल गरे । बुधबार पनि पहिलो चरणकै खेलहरु सञ्चालन गरिने अध्यक्ष थापाले बताए । प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए । उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन पूर्व प्रमुख अतिथि गृह मन्त्री रमेश लेखक सहित अन्य अतिथिहरुलाई स्वागत गर्न क्लबका सदस्यहरु, स्थानीय महिला एबम आमा समुहका सदस्यहरु, स्थानीय सर्बसाधारणहरु सहित नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताहरु समेत सहभागी भएका थिए।