काठमाडौँ, नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्था सुदृढ नहुँदा विकास वा समृद्धिको यात्रा हामीले चाहे अनुसार अगाडी बढ्न नसकेको भएपनि लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग भैरहेको बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउबाले भने, ‘हाम्रो देशको आर्थिक अवस्था उकास्न जरूरी छ। हालै सरकारले व्यवसायिक वातावरण प्रवर्द्धन गर्न, देशभित्र र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याएको छ। यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने मैले विश्वास गरेको छु,
देउबाले सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागि पनि सरकारले कानून बनाएको र यी कानूनहरूले देशमा सुशासन कायम गर्ने, भूमिहिन सुकुम्बासी एवम् अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, सहकारीको क्षेत्रमा देखा परेको समस्या समाधान गर्ने बिश्वास समेत ब्यक्त गरे। यी कानुनहरूले आर्थिक क्षेत्रमा क्रियाशील नीजि क्षेत्र उत्साहित र सकारात्मक भएको उनले बताए। ती अध्यादेशहरू सदनबाट स्वीकृत हुने सभापति देउवाले बिश्वास ब्यक्त गरे ।
पूर्व प्रधानमन्त्री देउबाले राजनीतिक दलहरूको सहमतिका आधारमा संविधान संशोधन हुने बताउंदै संविधान संशोधन गर्न छलफल प्रारम्भ भएको जानकारी दिए। ‘सरकार यस मार्गमा सकारात्मक रूपले काम गरिरहेको छ र आगामी दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु। कुनै पनि सरकारको समग्र मूल्याङ्कन गर्न ६ महिनाको समय प्रयाप्त होइन। सरकारले यो अवधिमा गरेका काम राम्रा छन् यसले भविष्यमा असल परिणाम देखिने मैले अनुभूति गरेको छु,’ देउवाले भने।
संविधानको कार्यान्वयनको लागि होस् वा अन्य काम गर्नका लागि आवश्यक कानुन सदनले नै बनाउने उनले स्पष्ट पारेका हुन् । ’तसर्थ संसद्मा विचाराधीन सबै विधेयक यो अधिवेशनबाट पारित हुने मैले विश्वास लिएको छु,’ उनले भने ।