पोखरा, पोखराको नयाँबजारमा संचालित ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ मा पछिल्लो समय दर्शकहरुको सहभगिता बढेको कारण मेलाको अबधि दुई दिन थप गरिने भएको छ। मेला माघ १० गतेबाट संचालनमा आएको हो।
१२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेला समेत समाहित गरेर संचालन गरिएको ब्यापार मेलामा अवलोकनकर्ता दर्शकको सहभागीता बढेपछि दुई दिन थप गरिएको महोत्सवका मूल संयोजक तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले जानकारी दिएका छन् ।
माघ १० गतेदेखि सुरु भएको यस महोत्सवको समापन माघ १९ गते हुने बताउंदै मेलाको प्रचार समितिका संयोजक मनोहरी पौडेलले गुरुकुल खबरसंग भने। ‘दर्शकको बाक्लो उपस्थितीसंगै महोत्सव स्थलमा राखिएको स्टलहरुमा समेत उल्लेख्य कारोबार भएका कारण मेलाको अबधी दुई दिन थप गरिएको हो।’
महोत्सवका स्टल विक्रि संयोजक टिकाराम सुवेदी ’माधव’ले दिएको जानकारी अनुसार महोत्सवमा विशेष गरी मोवाइल, कम्प्युटर, अटो, हस्तकला, घरायसी सामाग्री, लत्ता कपडा, श्रृङ्गारका सामाग्री,कृषिका सामाग्रीसंगै तरकारी लगायतका सामाग्रीको ब्यापार वढेकोछ ।
महोत्सवको सातौ दिन लोकदोहारी कलाकार चोलेन्द्र पौडेल, शिव हमाल, पार्वती जिसी, कृष्ण भटराई, रमा गौतम, केशब घिमिरे लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिए । महोत्सवको आठौ दिन विहिवार भारतको राजस्थानको लोकनृत्यको साथमा कलाकारहरु चोलेन्द्र पौडेल, ज्योति लोहनी, रामजी पौडेल, मन्जु विक, अमर धिताल लगायतले गितसंगीत प्रस्तुत गर्ने सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए ।
मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोवाइल तथा १० जनालाई बन्दीपुर केवलकारको टिकट उपहार दिइने व्यवस्था मिलाइएको छ भने टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार बराबरको उपहार प्राप्त गर्नेछन ।
आइटी महोत्सव अन्तर्गत पनि विभिन्न उपहार प्रदान गरिएको मेलामा प्रचार प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जनाए । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि नयाँबजारको प्रदर्शनी केन्द्रमा मेला संचालन भैरहेको छ ।