Play

पोखराको व्यापार मेलामा मधेशको चर्चा, सबै प्रदेशमा उडानको पहल भैरहेको मन्त्री बस्यालको दाबी

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्य छ वटा प्रदेशमा उडान गर्नको लागि आबश्यक पहल भइरहेको बताएका छन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसँगै बाँकी ६ वटै प्रदेशसँग पनि जोड्नका लागि प्रदेश सरकारले पहल गरिरहेको छ,’अन्तर प्रादेशिक उडान हुनैपर्छ ।’

मन्त्री बस्यालपोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा बुधबार मधेश प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले आयोजना गरेको ‘घुमौं मधेश, बुझौं मधेश’ कार्यक्रमलाई संवोधन गर्दै थिए । उनले मधेशवाट पर्यटकको रुपमा गण्डकी प्रदेशमा आउने अतिथिलाई दुर्ब्यबहार नगर्न पनि यहाँका पर्यटन व्यवसायीसँग आग्रह गरे ।

त्यसअघि घुमौं मधेश, बुझौँ मधेशका संयोजक तथा चन्द्रपुर उद्योग वाणिज्य संघका अध्यक्ष उदय सापकोटाले पोखरामा रहँदा आफूहरुमाथि दुर्ब्यबहार गरिएको गुनासो सुनाएका थिए । उनले भनेका थिए,‘उपल्लो तहबाट त त्यस्तो भएन तर हामी यहाँ रहँदा दोस्रो दर्जाका नागरिकको रुपमा व्यवहार गरियो । कम्तिमा पर्यटन व्यवसायीले यस्तो गर्न हुँदैनथ्यो । त्यसमा पोखरा कतै चुकेको जस्तो लाग्छ । म केही महिनापछि पोखरा आउँछु, त्यो बेला त्यस्तो नहोस् ।’

नयाँबजारमा जारी मेलामा मधेश प्रदेश सरकारले सो क्षेत्रका ४० वटा पर्यटकीय स्थलको जानकारी,संस्कृति एवं खानाको  प्रदर्शनी गरिहेको छ । त्यस्ता ४० वटा गन्तव्यमा जानकी मन्दिरदेखि गढीमाइ,कोशी टप्पुदेखि पर्सा राष्ट्रिय निकुञ्ज र सप्तगण्डकीसम्म रहेका छन् ।

‘सबै संस्कृति पस्कने मधेश आफैमा मौलिक छ । हामीकहाँ सबैभन्दा धेरै बली चढाइने गढीमाइ मेला पनि लाग्छ भने निजानन्द धामजस्तो ठाउँ पनि छ । निजानन्द धाम क्षेत्रको एउटा सिंगो गाउँमा माछामासु नै चल्दैन । पाल्दा पनि पालिँदैन।’ सापकोटाले गर्मी र सितलहरको अनुभव लिन पनि मधेश आउनुपर्ने बताउँदै पाहुनाप्रति मधेशले भेदभाव नगर्ने र न्यानो आतिथ्यता प्रदान गर्ने बताए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले मेलामार्फत् सिंगो देशकै सम्भावनाको खोजी गरेको बताउँदै सबै प्रदेशका संस्कृतिदेखि उत्पादनसम्म एउटै थलोमा पस्कने अभियानलाई निरन्तरता दिने बताए ।

यस्तै मधेश प्रदेश उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालयका ‘घुमौं मधेश, बुझौं मधेश’ संयोजक विकासकुमार ठाकुरले संस्कृति,खाना र संगीतमा मधेश अब्बल भएको धारणा राखे । कार्यक्रममा मधेश प्रदेश उद्योग,पर्यटन तथा वातावरण मन्त्रालयका प्रतिनिधि अजितकुमार महतो, पोखरा उद्योग वािणज्य संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि संचालित ‘३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोवाइल बितरक संघ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य गरेको छ । यस्तै, मधेश प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूताबास,स्वामी विवेकानन्द कल्चरल सेण्टर,पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको संघका उपमहासचिव सुदीप श्रेष्ठले जानकारी दिए ।

बुधबार चोलेन्द्र पौडेल, मुकुन्द त्रिपाठीसहित रामजी खाँण, अमर धिताल, सरिता सारु मगर, कृष्ण सुवेदीलगायतको सांगीतिक प्रस्तुति तथा मधेशको नृत्यले अवलोकनकर्तालाई मनोरञ्जन दिलाएको थियो भने बिहीबार शिव हमाल,पार्वती जिसी, चोलेन्द्र पौडेल, कृष्ण भट्टराई, रमा गौतम, केशव घिमिरे लगायतका कलाकारको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए ।

मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोवाइल उपहार दिइने व्यवस्था मिलाइएको छ भने आइटी महोत्सवअन्तर्गत पनि विभिन्न उपहार प्रदान गरिएको मेलामा प्रचार प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जनाए ।

१६ माघ २०८१, बुधबार २०:३९ मा प्रकाशित
Nabintech