पोखरा, पोखरा महानगरपालिका -१७ मा पर्ने प्रमुख पर्यटकीय गन्तब्य डेभिज फल्समा भइरहेको अवरोध तत्काल हटाउने र नियमित रुपमा सञ्चालन गर्ने निर्णय पोखरा महानगरले बोलाएको सर्बदलीय बैठकले गरेको छ । नगर प्रमुख धनराज आचार्यको आह्वानमा बसेको बैठकले महानगरपालिका आफैले कानुन बमोजिम डेविज पर्यटन शुल्क उठाई सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फछ्यौटका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरेको महानगरले जनाएको छ ।
डेभिज फल्सको संचालन स्थानीय छोरेपाटन माबिले गर्दै आएको र बर्षेनी चार करोड भन्दा बढी संकलन हुँदै आएको भन्दै स्थानीय बासिन्दाहरु महानगरले चालिस बर्षको लागि अरुलाई बेच्न लागेको भन्दै बिरोधमा उत्रिएका थिए । बिद्यालयले संचालन गर्दै आएको उक्त सम्पदालाई चालिस वर्षसम्म कौडीको मुल्यमा बेच्न लागेको भन्दै स्थानीयहरु बिरोधमा उत्रिएपछि महानगरले डेभिजपहलमा यहि माघ १ गतेबाट नै ताला लगाएको थियो ।
आइतबारको सर्बपक्षिय बैठकले चालिस बर्षको लागि अर्को कम्पनीसंग गरिएको सम्झौतामा भने थप छलफल र पुनराबलोकन गर्नुपर्ने निर्णय गरेपछि महानगरले चाहेअनुरुप भने हुन नसकेको बैठकका एक सहभागीले गुरुकुल खबरलाई जानकारी दिए ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा भएको अवस्थामा छोरेपाटन मा.वि.ले डेभिज फल्सको पर्यटन शुल्क उठाइरहेको विषय नेपालका प्रचलित कानुन, पोखरा महानगरपालिका आर्थिक ऐनको प्रावधानहरू विपरीत रहेको दाबी महानगरले गर्मदै आएको छ महालेखाको प्रतिवेदनले समेत डेभिज फल्सबाट पर्यटन शुल्क उठाइ सो बापत प्राप्त आम्दानी छोरेपाटन मा.वि.ले भोग गरिरहेको नियम विपरीत भनी स्पष्ट किटान गरी असुल उपर गर्नुपर्ने बेरुजुको रूपमा कायम गरेको हुँदा तत्कालै डेभिज फल्समा लगाएको ताला खोलेर महानगर आफैले कानुन बमोजिम पर्यटन शुल्क उठाइ डेभिज फल्स सञ्चालन गर्ने निर्णय भएको मेयर धनराज आचार्यले जानकारी दिए ।
यस्तै डेभिज फल्समा परियोजना सञ्चालन गर्ने सम्बन्धमा सर्वपक्षीय बैठकले सरोकारवाला पक्षहरूका बिचमा छलफल गर्ने निर्णय गरेको छ । ‘मिति २०७८ साल श्रावण १४ गते सम्झौता भई सेती क्यानोन प्रा.ली. लाई शिशापुल तथा अन्य पर्यटन पूर्वाधार निर्माण गर्ने गरी सार्वजनिक निजी साझेदारी अवधारणामा परियोजना अगाडि बढिरहेको अवस्थामा सो परियोजनाका सम्बन्धमा सम्झौताको समयावधि र परियोजना बाट प्राप्त हुने रोयल्टी लगायत अन्य स्थानीय बासिन्दाले प्राप्त गर्ने अवसरका सम्बन्धमा समेत राजनीतिक दल तथा स्थानीयवासीको समेत प्रतिनिधिमूलक उपस्थितिमा छलफल गर्न आवश्यक देखिएको हुँदा सो परियोजना सञ्चालनको लागि सेती क्यानोन प्रा.ली.को समेत उपस्थितिमा व्यापक छलफल मार्फत अगाडि बढ्ने निर्णय गरियो’ बैठकपछि सार्बजनिक गरिएको प्रेस नोटमा उल्लेख छ ।
डेविज फल्सबाट सङ्कलन हुने पर्यटन शुल्क महानगरपालिकाले उठाउन थालेपछि स्थानीयले अवरोध खडा गरेका थिए त्यसपछि माघ १ गतेदेखि त्यहाँ महानगरपालिकाले सिल गरेको थियो ।
आइतबार बसेको सर्वपक्षीय बैठकले त्यसलाई नियमित रूपमा सुचारु गर्ने गरी निर्णय गरेपछि अब ताला खोलेर संचालन गर्ने महानगरले जनाएको छ। बैठकमा नगर प्रमुख आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे सहित सुरक्षा निकायका प्रमुखहरू, वडा नं.१७ का वडा अध्यक्ष राधिका कुमारी शाही योगी, छोरेपाटन माविका प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र पूर्व अध्यक्षहरू समेतको उपस्थिति रहेको जनाइएको छ ।