Play

चारवटा मेला महोत्सबको झल्को दिने राष्ट्रिय औधोगिक व्यापार मेला पोखरामा शुरु

गुरुकुल खबर


पोखरा, पोखरामा बिहिबार एकै पटक र एकै स्थानमा विभिन्न चारवटा महोत्सबको झल्को दिने गरि ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु भएको छ  राष्ट्रिय औधोगिक व्यापार मेला संगै आइटी महोत्सव , १२ औं क्यान इन्फोटेक र चौथो मोवाइल एक्सपो गरि चारवटा मेला महोत्सब एकैपटक र एकैस्थानमा शुरु भएका हुन ।

पोखरा आद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोवाइल बितरक संघ एवं सिएसआइटी फाउण्डेनससँगको सहकार्यमा पोउवासंघले मेलाको आयोजना गरेको हो । मेलामा सातवटै प्रदेशका उत्पादनहरुको प्रदर्शनीका अलावा औद्योगिक उत्पादन, घरायसी सामान, कम्प्यूटर र मोवाइल, पुष्प प्रदर्शनीलाई पनि समाबेश गरिएको छ । सूचना प्रविधि सम्बन्धि नयाँ जानकारी पस्कनु मेलाको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ ।

मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने भनिए पनि जग्गा प्राप्ति नहुँदा काम रोकिएको र अहिले काम अगाडी बढेको जानकारी दिए । संघीय सरकारले अध्यादेशमार्फत् निजी क्षेत्रलाई सहज हुने वातावरण निर्माण गरेको र त्यसले अर्थतन्त्र उकासिने उनको बिश्वास थियो।

मुख्यमन्त्री पाण्डेले भने ‘हामीले केही कुरा गर्नुछ, गण्डकीलाई प्रमोट गर्नका लागि, भर्खरै कोरला नाका सुचारु भएको छ। त्यहाँ एउटा अध्यागमन कार्यालय पनि खुलेको छ तर पूर्ण रुपले संचालन गर्न सकिएको छैन । त्यसलाई पूर्ण रुपले संचालन गरेर पोखराबाट कोरोला नाकासम्म जोड्ने बाटो र पोखराबाट त्रिवेणी जोड्ने बाटोलाई गुणस्तरीय सडक बनाएर संचालन गर्न सक्यौँ भने यसले गण्डकी प्रदेशको व्यापारमा ठूलो फाइदा गर्छ भन्ने मलाई लाग्छ ।’

गण्डकी प्रदेशमा पहुँचको आधारमा अनुदान लगिरहेका कुराको चर्चा गर्दै उनले उत्पादनको आधारमा मात्र अनुदान दिने नीति अगाडि बढाएको भन्दै उत्पादन प्रक्रिया सुरु भएपछिमात्र अनुदान सुरु हुने दाबि गरे । आँफु भन्दा अघिल्लो सरकारले पहुँचकै भरमा अनुदान दिने गरेको भन्दै पाण्डेले एउटै बाख्राको खोर पाँच जनाले देखाउने, दुईवटा भैंसीको फोटो दश जनाले देखाउने र अनुदान लिएर जाने,आफ्ना पार्टीका कार्यकर्तालाई दिने प्रचलनलाई आफुले बन्द गरेको दाबी गरे।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि प्रदेश सरकार क्रियाशिल रहेको बताए । उनले पुँडीटारमा निर्माणाधीन औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको पनि जानकारी गराए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सूचना प्रविधिले संसारलाई साँघुरो बनाएको अवस्थामा मेला र महोत्सवले व्यवसाय प्रबर्दन गरोस् तथा नयाँ सूचना पस्कने ठाउँ बनोस् भन्ने आफ्नो चाहना रहेको सुनाए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनको बजारीकरणमा सघाउ पुर्याउन तथा गण्डकी प्रदेश र पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी गर्न मेला आयोजना गरेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृतकुमार भट्टचनले देशमा ठूला परिवर्तन भए पनि आर्थिक क्रान्ति हुन नसकेको बताए । ‘हामी स्थिर सरकार चाहन्छौँ। । नेपालको कुल ग्राहस्थ उत्पादनमा ८० प्रतिशतको योगदान गर्ने निजी क्षेत्र प्रताडित भइरहेको छ, अहिले बजार सुस्ताएको छ,’उनले भने,‘ नेपाल र गण्डकी प्रदेश सरकारले अर्थतन्त्र उकास्नेतर्फ ध्यान दिनुपर्छ ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन नसक्नु तथा गण्डकीको कान्छो जिल्ला नवलपुरसम्म पुग्ने सडक नबन्नु दुखदायी भएको उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अमरेश वैदारले मेला र महोत्सवमार्फत् स्थानीय उत्पादनको प्रबर्दन गर्नुपर्छ भन्ने निजी क्षेत्रको आवाजलाई राज्यले सुन्नुपर्ने बताए । उनले मेला र महोत्सवको नाममा बढेको विकृति अन्त्य हुनुपर्नेमा पनि जोड दिए ।

उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम,जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनकुमार शर्मा, क्यान नेपालका अध्यक्ष सुनयना पाण्डे लगायतले आआफ्नो भनाई राखेको थिए

मेलाको समापन समारोहपछि सांस्कृतिक कार्यक्रमहरु संचालन गरिएको थियो  रोल्पा–पोखरा सम्पर्क समाजले आफ्नो परम्परागत भूमेनाच प्रस्तुत गरेको थियो भने विभिन्न कलाकार हरुले गीत र नृत्य प्रस्तुत गरेको सांस्कृतिक उपसमितिका संयोजक ललित बहादुर कुँवरले जानकारी दिए उद्घाटन पूर्व विभिन्न आमा समूह, विद्यार्थीहरु, सांस्कृतिक समूह एवं टोल विकास संस्थाहरुले झाँकी प्रस्तुत गरेका थिए।

संयोजक कुँवरका अनुसार शुक्रबार पुरुषोत्तम न्यौपाने, मञ्जु पौडेल, घनश्याम रिजाल, कमला गैरे, सविना गुरुङ लगायतले सांगीतिक प्रस्तुति दिनेछन ।

१० माघ २०८१, बिहीबार २१:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा