पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन पुरा गरेका बिद्यार्थीहरु बिहिबार दीक्षित भएका छन् । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली, स्वास्थ्य मन्त्री एबम सहकुलपति प्रदीप पौडेल र स्विडेनको कारोलिन्स्का इन्स्टिच्युटका प्राध्यापक माग्नुस वेस्टग्रेनले उनीहरूलाई दीक्षित गरेका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति रहेका प्रधानमन्त्री ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएको बताए । व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएका भन्दै प्रम ओलीले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको उल्लेख गरे ।
त्यस अबसरमा ओलीले विसं २०८०/२०८१ मा प्रतिष्ठानबाट एमडी र एमएस मा उत्तिर्ण ३८ विद्यार्थीलाई दीक्षित गरे । यसैगरी कुलपति ओलीले उत्कृष्ट विद्यार्थीहरु अरविनदकुमार शाह अर्थोपेडिक्स र आषिश सापकोटा जनरल सर्जरीलाई उपकुलपति पदक वितरण गरे ।
विश्वविद्यालयका सहकुलपति एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडल उपस्थित समारोहमा कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्रा। माग्नुस वेस्ग्रेनले दीक्षान्त भाषण प्रस्तुत गरे । प्रतिष्ठानकाा उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई ५० शय्याको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना र स्वास्थ्य सेवाको सुदृढ आधारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठान चिकित्सा शिक्षासम्बन्धी जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी बनाउन प्रयत्नशील रहेको प्रशासनको दाबी छ ।
प्रतिष्ठानले २०७६ फागुनबाट शैक्षिक कार्यक्रम सुरु गरेको हो। स्नातकोत्तर तहमा शल्यचिकित्सा, मेडिसिन, बालस्वास्थ्य, स्त्री तथा प्रसुतिरोग, हाडजोर्नी र एनेस्थेसिया गरी ६ विधाका १७ विद्यार्थीबाट पढाइ सुरु गरेको हो । प्रतिष्ठानले दोस्रो शैक्षिक सत्रमा अघिल्ला शैक्षिक सत्रमा सञ्चालित ६ कार्यक्रमका साथै रेडियोलोजी गरी ७ वटा विधाका २६ जना विद्यार्थी लिएर पढाएको थियो ।
पहिलो पटक प्रतिष्ठानले जनरल सर्जरीमा ४ सिट, स्त्री तथा प्रसूती रोगमा ४ सिट, हाडजोर्नीमा ३ सिट, जनरल मेडिसिनमा २ सिट, बालरोगमा २ सिट, एनेस्थेसियालोजीमा २ सिटबाट अध्यापन यात्रा अगाडि बढाएको हो । अहिले प्रतिष्ठानमा शल्यचिकित्सा, मेडिसिन, बालस्वास्थ्य, स्त्री तथा प्रसूतीरोग, हाडजोर्नी, एनेस्थेसिया र रेडियोलोजी, नाक कान घाँटी तथा प्याथोलोजी गरी ३ शैक्षिक सत्रमा ९२ जना आवासीय विद्यार्थी छन् ।
हाल चिकित्सा शिक्षाका विभिन्न विधाका तेस्रो वर्षमा ३२, चौथो र पाँचौं वर्षमा ३०/३० जना रेजिडेन्ट चिकित्सकहरु स्नातकोत्तर तहमा अध्ययनरत छन् । प्रतिष्ठानले बिएस्सी नर्सिङ र बिएनएसको पढाइ पनि थालेको छ । जसमा पहिलो र दोस्रो वर्षमा गरी १ सय २१ विद्यार्थी अध्ययनरत छन् । यसै वर्षदेखि प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालनमा आएको छ । जसमा ५० सिट क्षमतामा ४६ विद्यार्थी भर्ना भएका छन् ।