पोखरा, साहसिक खेलको लागि चर्चा कमाउंदै आएको पोखरामा अर्को एक नयाँ साहसिक गतिबिधि थपिएको छ । विभिन्न मुलुकमा स्काइ डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाले पोखराको आकासमा ‘स्काइ डाइभिङ ‘ संचालन गरेर नयाँ गतिबिधि बढाएका छन ।
नेपाली टोलीले मात्रै स्काइ डाइभिङ गराउने गरि सिम्रिक एयर र इन स्काइ डाइभ कम्पनीले पोखरामा स्काइ डाइभिङ सुरु गरेका हुन् । १० जनवरी अर्थात शुक्रबारदेखि २१ जनवरीसम्म स्काइ डाइभिङ हुने इन स्काइ डाइभ कम्पनीका सञ्चालक तथा प्रशिक्षक एलिश थापाले जानकारी दिए ।
स्काइ डाइभिङ गर्नका लागि कम्पनीले भिआइपी र डिलक्स गरी हाललाई दुई किसिमको प्याकेज बनाएको बताउंदै थापाले भने, भिआइपीको १ लाख १५ हजार रूपैयाँ र डिलक्सको ९५ हजार रूपैयाँ लिने गरि प्याकेज बनाइएको छ ।
स्काइ डाइभका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ । स्काइ डाइभका लागि पोखरा विमानस्थलबाट हेलिकप्टर उडान गरी पोखरा महानगरपालिका – २३ लौरुक माथि १३ हजार फिट उचाईबाट डाइभ गर्ने छन् । माथिबाट डाइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन् ।
यो कार्यक्रमपछि यात्रुको माग आएमा कम्पनीले नियमित रुपमा स्काई डाइभिङ गराउने योजना बनाएको थापाले बताए । एलिसलाई सुवास थापा, मनिष हिराचन, आशीष थापा र नेपालको पहिलो महिला स्काइडाइभर यसोदा केसीले साथ दिएका छन् ।