Play

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको निर्माण र संचालनमा कोइकाले सहयोग गर्ने

१ करोड ३० लाख बढीको सहयोग सम्झौतामा हस्ताक्षर, मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको भवन शिलान्यास


गुरुकुल खबर


पोखरा, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको भौतिक संरचना निर्माणको लागि कोरिया इन्टरनेशनल को–अपरेसन एजेन्सी (कोइका) ले सहयोग गर्ने भएको छ कोइकाले प्रतिष्ठानको पूर्वाधार निर्माण र विभिन्न विधामा शैक्षिक कार्यक्रमका लागि ९० लाख अमेरिका डलर अर्थात् १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी खर्च गर्ने सम्झौता शुक्रबार भएको छ

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कङबीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर भए संगै प्रतिष्ठानको संरचना निर्माण हुने भएको हो सम्झौताबमोजिम कोरियाली सरकारमार्फत कोइकाले यो परियोजना सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुने छ । यो परियोजना कोइका र जिटिइभिटीएले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन्

यसैबीच स्यांग्जाको फेदीखोला गाउँपालिका वडा १, गुर्धुममा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास पनि शुक्रबार नै भएको छ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेदीखोला–१ मा निर्माण गरिने प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास गरेका हुन् ।

प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवन आगामी सन् २०२६ को अगस्तसम्म सम्पन्न हुने लक्ष्य छ ।  ३ करोड ५५ लाख १९ हजार १ सय ९१ रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनको निर्माणको जिम्मा आरुषी कन्स्ट्रक्सन, पोखराले पाएको छ ।

कोइकाले ४ हजार ५ सय ३० वर्ग मिटरको प्राविधिक शिक्षालय भवन निर्माण गर्ने योजना बनाएको छ । जसमा कक्षाकोठा, कार्यशाला, छात्रावास (महिला छात्राका लागि) लगायतका आवश्यक उपकरण, फर्निचर, र शैक्षिक सामग्री हुनेछन् । साथै, कोइकाले प्राविधिक शिक्षालयको मास्टर प्लान, स्थानीय आवश्यकता अनुरूप छोटो समय तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग प्रदान गर्ने छ ।

भवन शिलान्यास समारोहमा बोल्दै मुख्य मन्त्री पाण्डेले आर्थिक समृद्धि हासिल गर्न आवश्यक दक्ष र सक्षम जनशक्ति उत्पादन गर्नमा कोइकाको सहयोग उपयोगी बन्ने बताए ।

कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर कङले उक्त परियोजनाले युवा, महिला र सिमान्तकृत व्यक्तिहरूलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न अवसर प्रदान गर्ने बताए । तिनीहरूलाई आजको तीव्र रूपमा विकास भइरहेको रोजगारी बजारमा अघि बढ्न आवश्यक सीपले सुसज्जित गर्ने उनको भनाइ थियो ।

गण्डकीका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले यो परियोजनाले देशभित्र दक्ष र सक्षम जनशक्ति उत्पादन गर्न सहयोग गर्ने बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले अटोमोबाइल, इलेक्ट्रिोनिक्स, टुरिजज्म एण्ड हस्पिटालिटी क्षेत्रमा अध्ययन अध्यापन गर्नका लागि पाठ्यक्रम निर्माणको तयारी भइरहेको बताउंदै गण्डकी प्रदेशका लागि आवश्यक प्राविधिक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए ।

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले प्रतिष्ठान निर्माणसँगै गाउँमै प्राविधिक तथा व्यावसायिक शिक्षा उपलब्ध हुने भएपछि सिंगो गाउँपालिकामात्र प्रदेशभरलाई लाभ मिल्ने विश्वास व्यक्त गरे ।

शिलान्यास कार्यक्रमको संचालन प्रतिष्ठानका उपसचिव हरिबहादुर खपाङ्गी मगरले गरेका थिए ।कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्यहरु सुधीरकुमार पौडेल,  पञ्चराम गुरुङ, सीताकुमारी सुन्दास, कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कङ, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी लगायत सहभागी थिए ।

२० पुष २०८१, शनिबार ०७:४८ मा प्रकाशित
Nabintech