पोखरा, पोखरा महानगरपालिकाको लेखनाथमा बिहीबारदेखि लेखनाथ महोत्सव सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघद्वारा संयुक्त रुपमा आयोजित यो महोत्सब २० औं संस्करणको रुपमा रहेको छ।
महोत्सबको अबलोकन दुई लाख पचास हजार बढीले गर्ने र करिब नौ करोड रुपैयाको ब्यापारिक कारोबार हुने अनुमान गरिएको छ। महोत्सवबाट करिब ९० लाख रुपैया आम्दानी हुने भएपनि महोत्सव सम्पन्न गर्नका लागि नै ८० लाख रुपैया खर्च हुने अनुमान आयोजकले गरेका छन।
महोत्सव स्थलमा शान्तिका दुत भगवान गौतम बुद्धको प्रतिमा, एक सय भन्दा बढि माछाका प्रजातीहरु, महिलाहरुको क्षमता अभिवृद्धिका हाजिरी जवाफ प्रतियोगिता समेत महोत्सवका क्रममा हुने छ। राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु महोत्सबमा पुग्ने दर्शकको लागि आकर्षण बन्ने आयोजकहरुको भनाई छ।
यसको साथै बिभिन्न जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु महोत्सब अबधिमा गरिने भएको छ।
महोत्सव अन्तर्गत हुने विद्यालय स्तरीय कार्यक्रम अन्तर्गत विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको र उक्त प्रतियोगितामा विद्यार्थीहरुबाट कोरिएका चित्रहरु महोत्सवस्थलमा विक्रि वितरण गर्ने व्यवस्था समेत मिलाईएको छ महोत्सवमा पोखरा विश्वविद्यालय इन्जिनियरिङ फेकल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी समेत गरिंदै छ।
बिहिबार आयोजित एक समारोहमा महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ।महोत्सवको उद्घाटन गर्दै पाण्डेले स्थानीय क्षेत्रका आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने र पर्यटनलाई पनि सँगै समेटेर लानुपर्नेमा जोड दिए।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले निजी क्षेत्रबाट आयोजना हुने महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै युवालाई स्वदेशमा नै केही गर्न सकिने सन्देश प्रवाह गर्ने जनाए । उनले सानो पुँजीले पनि केही गर्न सकिन्छ भन्ने भावनाले अगाडि बढ्ने हो भने राज्यको तर्फबाट पनि सहयोग हुने विश्वास दिलाए।
पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले यस प्रकारका मेला, महोत्सवले स्थानिय उत्पादनलाई प्रवद्धन गर्नेदेखि स्थानहरुको पहिचान स्थापित गराउन पनि सहयोग पुगेको विचार राखे । कवि शिरोमणि लेखनाथको नामबाट परिचिय यस क्षेत्रको विकासका लागि साझा अवधारणको खाँचो उनले औल्याए।
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले संघले २०५८ देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २० औं संस्करणसम्म आईपुगेको स्मरण गरे । उनले अनेक चुनौतीका बाबजुत पनि अवसरका रुपमा महोत्सव गर्दै आएको र यसले लेखनाथ क्षेत्रको पहिचान, त्यहाँ उत्पादीत वस्तुहरुको बजारीकरण र पर्यटन विकासमा समेत सहयोग पुगेको दाबी गरे।
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलतालाई लगानीको क्षेत्रमा बढावा दिनका लागि राज्यले लगानीमैत्री वातावरण सृजना गर्ने कार्ययोजना ल्याउन लागेको बताए ।
राष्ट्रिय बाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोलले महोत्सवले लिएको नाराले आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा सहयोग पुग्ने धारणा राखे।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य ताराबहादुर कार्की, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुमित श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विश्वप्रकाश लामिछाने, झाँकी र्याली व्यवस्थापन उपसमिति संयोजक बुद्धिकुमारी थापामगर, संघका उपमहासचिव भरतराज ओझा, महासचिव जानुका पराजुली अधिकारी र वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले आआफ्नो भनाई राखेका थिए ।
माघ १ गतेसम्म चल्ने महोत्सवले स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्मृद्धि’ भन्ने नाराका साथ शुरु भएको महोत्सबमा ३ सय ३६ वटा स्टल राखिएको छन् ।