Play

तमु ल्होछारमा पुरस्कार र सम्मान: परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती- प्रदेश प्रमुख भट्ट

गुरुकुल खबर


  • रिता गुरुङ /पोखरा

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको उल्लेख गर्दै परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको बताएका छन।

तमुहरूको बिशेष पर्व तमु ल्होछारको अवसर पारी तमु धिँ नेपाल, केन्द्रीय कार्यालय पोखराले आयोजना गरेको ल्होछार विशेष पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टले भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ रहेको बताए ।

उक्त कार्यक्रममा प्रदेश प्रमुख भट्टले राजबहादुर तमु, सम्राट तमु, गमबहादुर तमु, लक्ष्मी तमु र सुदर्शन तमुलाई पुरष्कार सहित सम्मान गरेका थिए । राजबहादुर र सम्राटलाई पत्रकारिता क्षेत्रमा, गमबहादुर र लक्ष्मीलाई समाजसेवाको क्षेत्रमा र सुदर्शनलाई साहित्य क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक भएको र यस्तो विविधताको संरक्षण, प्नरबर्द्दन र विकास गर्नु राज्यको दायित्व भएको उल्लेख गरे। उनले भने –‘ नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाइने तमु ल्होछारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्दछ ।’

‘तमु जातीले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन् । नेपालको ग्रामीण पर्यटन प्रवर्द्धन मार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न तमु समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको छ ।’ उनले भने – ‘ग्रामीण घरबास अर्थात् होमस्टे अभियानको मुख्य अगुवा तमुहरु नै हुन् । शहर तथा विदेशमा बसाईंसराईं पछि गाउँमा जति बाँकी छन्, उनीहरूले संस्कृति र परम्परा धान्दै अघि बढिरहेका छन् । शहरी क्षेत्रमा पनि समुदायका अगुवाहरुले आफ्नो रितीथितीलाई बिर्सिएका छैनन् ।’

ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको उनको भनाई थियो । ‘यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा छ । ट्होंटेका ¥यालीहरूमा भाङ्ग्रा र कछाड, घलेक गुन्यूचोली लगाउने किशोरकिशोरी युवा युवतीहरु पातालिँदै गएका छन् ।’ प्रदेश प्रमुख भट्टले भने  

कार्यक्रममा तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुले तमु जातिले सदिँयौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्दै आइरहेको बताइन् । उनले ल्होसार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको जनाइन् ।

त्यस अवसरमा गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ (श्याम), नेवा खलः कास्कीकाअध्यक्ष अशोक पालिखे, सम्मानितहरुको तर्फबाट पत्रकार राजबहादुर गुरुङ, जीवन विज्ञान प्रशिक्षक भानु गुरु लगायतले पनि भनाइ राखे ।

पोखराको मानवअधिकार चोकबाट निस्केको र्‍याली चिप्लेढुंंगा, महेन्द्रपुल, नयाँबजार हुँदै तमु धिं कार्यालय पुगेर सभामा परिणत भएको थियो । र्‍यालीमा आफ्नो जातीय पोशाकमा गुरुङ समुदायका युवायुवती तथा ज्येष्ठ नागरिक सजिएका थिए। कार्यक्रममा तमु धिं नेपाल केन्द्रीय आमा समिति तथा युवा समितिले विभिन्न प्रस्तुति राखे । त्यस्तै, ‘तमु सुँ’ पुस्तक विमोचन भयो भने छेलो प्रतियोगिता तथा विभिन्न छात्रवृत्ति वितरण पनि गरियो ।

तमु धिं नेपालका अध्यक्ष सु.मे श्रीप्रसाद तमुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष गिमाया तमुले स्वागत तथा संचालन महासचिव जूनाकुमारी तमुले गरेकी थिइन ।

 

१६ पुष २०८१, मंगलवार १८:०० मा प्रकाशित
Nabintech