पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले ‘२३ औं सेन्चुरी ल्होसार मेला’ आयोजना गर्ने भएको छ । तमु समुदायको पर्व ल्होसारको अवसरमा यही पौष ११ गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका वरिष्ठ सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए ।
उनले संस्कृतिको संरक्षण, खेल तथा पर्यटनको प्रबर्दन गर्ने उद्देश्यसहित विगत लामो समयदेखि ल्होसार मेला सञ्चालन गर्दै आएको बताए । ‘हामीले विगत लामो समयदेखि ल्होसार मेला गर्दै आएका छौ, उनले भने, ‘यो वर्षपनि पुषको ११ गतेदेखि मेला राखेका छौ । यसले खेलकुदको विकाससँगै पर्यटन प्रबर्द्दनमा टेवा पुग्ने विश्वास लिएका छौं।’
उनका अनुसार सो मेलामा मुख्य आकर्षणको रुपमा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता समावेश गरिएको छ । पुरुष भलिबल तथा बास्केटबल दुबै प्रतियोगिताको विजेता टिमलाई ८० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
यसै गरि दोस्रो र तेस्रो हुने टिमले क्रमशः ५० हजार र २५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । दुवै खेलमा सहभागिता जनाउन दर्ता शुल्क ५ हजार निर्धारण गरिएको छ ।
मेलालाई थप आकर्षक बनाउन विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।