पोखरा, नेपाली काँग्रेसले गण्डकी प्रदेश सभामा रिक्त रहेको समानुपातिक तर्फको आदिबाशी/ जनजाती महिला तर्फको प्रदेशसभा सदस्य वा गण्डकी प्रदेशको सांसदमा स्यांग्जाकी सुनिता थापालाई पठाउने निर्णय गरेको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार बसेको पार्टीको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको बुझिएको छ ।
नेपाली काँग्रेस अन्तर्गत आदिवासी/जनजाति महिला क्लस्टर तर्फबाट म्याग्दीकी गौचन सहित पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ क्रमसंख्या अनुसार सामानुपातिक सांसद बनेर गण्डकी प्रदेश सभामा आएकोमा गौचनको निधन पछि क्रमसंख्या अनुसार पाँचौ नम्बरमा रहेकी स्याङ्जाकी सुनिताले प्रदेश सभा सदस्य बन्ने अवसर पाएकी हुन।
गण्डकी प्रदेशमा नेपाली काँग्रेसको तर्फबाट प्रदेश सांसद बनेकी म्याग्दीकी विमला गौचनको डेंगुका कारण निधन भएपछि उक्त पद रिक्त हुन पुगेको हो । समानुपातिक सूचीमा गौचनपछिको नम्बरमा रहेकी स्याङ्जाकी थापालाई सिफारिस गरेर निर्वाचन आयोगमा पठाउने निर्णय नेपाली काँग्रेसले गरेको हो । गण्डकी प्रदेश सभाले पद रिक्त भएको बारेमा निर्वाचन आयोगलाई लिखितरुपमा जानकारी गराएपछी निर्बाचन आयोगले सम्बन्धित राजनीतिक दललाई अर्को नाम सिफारिस गर्नको लागि पत्र पठाएपछी कांग्रेसले उक्त निर्णय गरेको हो ।
स्याङ्जाको चापाकोट नगरपालिका- ९ मा जन्मिएकी सुनिता अपांगता भएका व्यक्तिहरुको हकहितमा काम गर्दे आएकी छन् । अहिले कांग्रेसको गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि रहेकी सुनिताले ६ कक्षा पढ्दै गर्दा बिरामी भएर एक्कासी श्रवण शक्ति गुमाएकी थिइन् ।
आफूले नसुन्ने तर नेपाली, अंग्रेजी प्रस्टसँग बोल्न र आफ्नो भनाइ राख्न सक्ने सुनिताले विभिन्न गैरसरकारी संस्थामा काम गर्दै राजनीतिमा पनि सक्रिय रहँदै आएकी छिन। २०२९ सालमा जन्मिएकी सुनिताले स्नातकसम्मको अध्ययन गरेकी छन् भने विभिन्न अपांगता भएकाहरुको क्षेत्रमा अभियन्ताका रुपमा सक्रिय छिन् । राष्ट्रिय अपांग महासंघ, गण्डकी बहिरा संघ लगायत धेरै संघ संस्थामा रहेर उनले काम गरिसकेकी छन् । अपांगता अधिकारकै लागि क्रियाशील रहँदा उनी देशविदेश घुमेकी छन्।
अब गण्डकी प्रदेश सभामा दोभाषेको ब्यबस्था गर्नुपर्ने बाध्यता
गण्डकी प्रदेशसभामा सुनीताको प्रवेशपछि प्रदेश सभामा सांकेतिक भाषाको दोभाषे व्यवस्था गर्नुपर्ने भएको छ । हुन त यस अगाडी नै नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले विशेष र शून्य समयमा पटक पटक बोलेर प्रदेश सभामा दोभाषेको प्रबन्ध गर्न माग गरेकी थिइन् । सुनीता स्वयम्ले पनि यसको लागि लबिङ गर्दै आएको भएपनि गण्डकी प्रदेश सरकारले अझै सम्म दोभाषेको ब्यबस्था गरेको छैन।
प्रदेश सभा सदस्य गुरुङले आँफु पटक पटक श्रवण समस्या भएकाहरुको कार्यक्रममा जाँदा सांसदहरुले प्रदेश सभामा बोलेको कुरा आफुहरुले सुन्न र बुझ्न नपाएको श्रवणशक्ति नभएकाहरुको गुनासो आउने गरेको कारण ससदमा दोभाषेको प्रबन्ध गर्नुपर्ने माग गर्दै आएकी थिईन ।’ अब भने सांसद नै श्रवणशक्ति नभएको संसदमा रहने भएकोले उनको लागि पनि बाध्यता पुर्बक दोभाषे राख्नुपर्ने अबस्था भएको छ।” सांसद गुरुंगले भनिन ।
श्रबण शक्ति नभएकी स्यांग्जाकी सुनिता गण्डकी प्रदेशको सांसद बन्ने